ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोस्क्याप बैठक नेपालमा

Jan 10, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को मापदण्डअनुरूप दक्षिण एशियाली मुलुकको नागरिक उड्डयन सुरक्षा र सेवा प्रभावकारी बनाउने सन्दर्भमा दक्षिण एशियाली उडान सुरक्षा कार्यक्रम (कोस्क्याप साउथ एशिया)को स्टियरिङ कमिटीको २६औं बैठक मङ्गलवारदेखि काठमाडौंमा शुरू भएको छ । दक्षिण एशियाका ८ राष्ट्रको नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी सम्मिलित बैठकले उड्डयन सुरक्षा र सेवाको समीक्षा गर्दै आगामी रणनीति तय गर्नेछ । ३ दिनसम्म चल्ने बैठकमा सार्क मुलुकका अतिरिक्त आइकाओ, एफएए, डीजीएसी फ्रान्स, सीएए यूके, एयरबस, बोइगलगायत उड्डयनसँग सम्बन्धित अन्य अन्तरराष्ट्रिय सङ्घसंस्थाको सहभागिता छ । कोस्क्याप बैठकको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अन्तरराष्ट्रिय मुलुकका हवाई सुरक्षासँग सम्बन्धित संस्थाको समन्वय र सहकार्यलाई थप बलियो बनाइनुपर्नेमा जोड दिए । हवाई उड्डयन सुरक्षाको क्षेत्रमा काम गर्ने दक्षिण एशियाली मुलुकबीच हवाई उडान सुरक्षाका लागि आपसी समन्वयका साथ साझा धारणा बनाउन र द्विपक्षीय सम्बन्ध विस्तारमा बैठकको महत्त्वपूर्ण भूमिका हुने उनले बताए । आइकाओको एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक अरुण मिश्रले दक्षिण एशियाली मुलुकको समन्वय र सहकार्यमा नागरिक उड्डयनलाई सुरक्षित बनाउन चालेका कदमबाट पछिल्ला वर्षमा हवाई सुरक्षामा सकारात्मक नतीजा पाइएको जानकारी दिए । कोस्क्याप–एसएका अध्यक्ष हुसेन जलिलले उडान सुरक्षण र सेवा प्रभावकारिताको हिसाबले दक्षिण एशिया क्षेत्रमा नागरिक उड्डयनको स्तर निकै माथि रहेको उल्लेख गरे । उनले एशिया क्षेत्रमा हवाई यात्रु बढ्नुका साथै प्रशस्त रोजगारी सिर्जना भएकाले सम्बन्धित मुलुकको कुल गार्हस्थ उत्पादनमा पनि महत्त्वपूर्ण योगदान पुगेको चर्चा गरे । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक सञ्जीव गौतमले दक्षिण एशियाको नागरिक उड्डयन क्षेत्रमा भएका गतिविधिको समीक्षा र आगामी रणनीति तय गर्न बैठक आफैमा महत्त्वपूर्ण भएको बताउँदै बैठकले तय गर्ने आगामी कार्यक्रम र रणनीतिले हवाई उडान सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । दक्षिण एशिया क्षेत्रमा नागरिक उड्डयनलाई सुरक्षित र भरपर्दो बनाउन नियमनकारी निकायको सुरक्षा सुपरिवेक्षण, क्षमता अभिवृद्धि तथा विमानको मर्मतसम्भार गर्ने र उडान सञ्चालन गर्ने कुरालाई संस्थाले बढी प्राथमिकता दिएको क्यानका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । पोखरेलले बैठकले तय गर्ने रणनीतले उडान सुरक्षाको सुदृढीकरणमा सहयोग पुग्ने गरेको बताए । २ वर्षे कार्यकाल रहने यो संस्थाको वर्तमान अध्यक्षमा माल्दिभ्सको नागगरिक उड्डयन प्राधिकरण महानिर्देशक रहेका छन् । सन् २०१९ मा नेपालले यसको अध्यक्षता गर्ने प्राधिकरणका उपमहानिर्देशक राजु श्रेष्ठले जानकारी दिए । सन् १९९७ मा आइकाओको पहल र मार्गदर्शनमा स्थापित कोस्क्याप साउथ एशियाले दक्षिण एशियाली मुलुकमा उडान सुरक्षा सुदृढीकरण र नागरिक उड्डयन नियामक निकायको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसले नागरिक उड्डयनका नियामक निकायहरूका उडान सुरक्षा निरीक्षक तथा वायुसेवा सञ्चालकका उडान सुरक्षासँग सम्बन्धित प्राविधिक जनशक्तिलाई तालीमहरू प्रदान गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा विभिन्न प्राविधिक सहयोग मिसनअन्तर्गत उडान सुरक्षा सुपरिवेक्षण कार्यमा सहयोग गर्ने कार्यहरू गर्दै आएको छ । कोस्क्याप साउथ एशियाको सर्वोच्च निकायको रूपमा रहेको स्टियरिङ कमिटीमा नागरिक उड्डयनका महानिर्देशक सदस्य रहने व्यवस्था छ भने यो कार्यक्रमको मार्गदर्शन तथा सुपरिवेक्षण आइकाओले गर्दछ । कोस्क्याप साउथ एशियाको कार्यालय भुटानको पारोमा रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)