धनगढी । प्रदेश नम्बर ७ (साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र) को धनगढी विमानस्थलले चालू आवको ५ महीनामै ५५ लाख ५१ हजार ४ सय ६४ रुपैयाँ आम्दानी गरेको छ । सो विमानस्थल भएर यात्रा गर्ने झण्डै ७० हजार यात्रु भए पनि टिकट काटेर यात्रा गर्ने २७ हजार ७ सय ५८ जनाबाट एयरपोर्ट ट्याक्सबापत उक्त आम्दानी भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख छविसिंह ठकुल्लाले बताएका छन् ।
उनले सरकारी तथा निजी हवाई विमान कम्पनीले धनगढी–काठमाडौं दैनिक उडान शुरू गरेपछि उक्त क्षेत्रबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्या ह्वात्तै बढेकाले आम्दानीमा पनि वृद्धि भएको बताएका छन् । आव २०७२/७३ मा सो विमानस्थलले एयरपोर्ट ट्याक्स, होर्डिङ बोर्ड शुल्क, काउण्टर शुल्क, इन्धनलगायतबाट ६५ लाख रुपैयाँ मात्रै आम्दानी गर्न सकेको विमाथस्नल कार्यालयले बताएको छ । गतआव २०७३/७४ मा एयरपोर्ट ट्याक्समार्फत मात्रै झण्डै १ करोड १७ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको तथ्याङ्क छ ।
निजी हवाई विमान कम्पनीहरूले धनगढी–काठमाडौं दैनिक उडान बढाउँदै गएपछि टिकटदरमा प्रतिस्पर्धा भई सस्तो दरका कारण पनि हवाई यात्रा गर्नेहरूको सङ्ख्या बढ्दै गएको विमानस्थलको भनाइ छ । ७ नम्बर प्रदेशमा एउटै मात्र विमानस्थल चालू अवस्थामा रहेकाले पनि धनगढीबाट हवाई यात्रा गर्नेहरूको सङ्ख्या बढेको पर्यटन व्यवसायीहरूको भनाइ छ । धनगढी–काठमाडौं दैनिक उडान भर्ने विमान कम्पनीहरूको सङ्ख्या क्रमिक रूपले बढ्दै गएपछि कैलाली र कञ्चनपुरमा दर्जनौं टूर एण्ड ट्राभल्स कम्पनी खुलेका छन् भने अझै खुल्ने क्रममा रहेका छन् ।