पर्वत । जिल्लाको फलेवास नगरपालिका–३ मा खानेपानीको समस्या विकराल बन्दै गएको छ । नजीकै पानीको स्रोत नहुनु र जिल्लाकै उच्च स्थानमा रहेको बस्तीका कारण यहाँका बासिन्दा सधैंभर खानेपानीको समस्या भोग्न बाध्य रहेका हुन् ।
यहाँका पोखराचौर, मैदान, धनार, विष्टपानीलगायत ठाउँमा खानेपानीको चर्को अभाव छ । फँलाटे मूल हिउँदमा सुक्ने गरेको छ । यो मौसममा खानेपानी खेप्न खेताला राख्नुपर्ने अवस्था रहेको स्थानीय बल्लभ भुसालले बताए । ‘घरमा पानी ओसार्ने मान्छे छैनन्,’ भुसालले भने, ‘महीनाको १ हजार ५ सय दिनेगरी खेताला राखेको छु ।’ वृद्धवृद्धा मात्रै रहेका घरमा पानी ओसार्न खेताला राख्नुपरेको हो । पानी लिन १ देखि डेढ घण्टाको बाटो हिँड्नुपर्ने बाध्यता छ ।
फँलाटे मूल पटकपटक मर्मत गरिए पनि पानीको मात्रा भने बढेन । गतवर्ष पनि यहाँको मूल मर्मत गरिएको थियो । तर, समस्या जहाँको त्यहीँ छ । बर्खामा स्थानीय मूलले माग धाने पनि हिउँदका ६ महीना काकाकुलको अवस्था आउने गरेको स्थानीय होमप्रसाद अधिकारीले गुनासो गरे । ‘गाउँमा पिउने पानी छैन, विद्यालय र स्वास्थ्य संस्थामा उस्तै हालत छ,’ उनले भने । पानीको अभावमा बसाइसराइ बढेको उनले बताए ।
पशुलाई खुवाउन, लुगा धुन, नुहाउने पानीको जोहो गर्न पानीको स्रोत छैन । २०४७ सालमा बनेको डहरेदेउराली केन्द्रीय खानेपानी आयोजना अहिले अस्तव्यस्त छ । ‘घरमा धारो त छ, तर पानी नै आउँदैन,’ अधिकारीले भने । लामो दूरीमा मुहान रहेका कारण यहाँसम्म पानी नआइपुग्ने गरेको उनको भनाइ छ ।
स्थानीय राम माविका शिक्षक द्रोणराज भुसालका अनुसार विद्यालयमा पानीको समस्या हुँदा विद्यार्थीहरू गाउँमा पानी माग्न जानुपर्ने समस्या छ । विद्यालयमा पानीको अभाव हुँदा विद्यार्थीहरू पानी खोज्न गाउँगाउँ चहार्नुपरेको हो ।
स्थानीय स्वास्थ्यचौकीमा पनि रिजर्भ गरेर राखेको पानी सकिँदा समस्या हुने गरेको छ । शङ्करपोखरी स्वास्थ्यचौकीका प्रमुख उमाकान्त सापकोटाले बिरामीलाई घरबाटै पानी लिएर आउन भन्नुपर्ने बाध्यता रहेको सुनाए । पानीको अभावले स्वास्थ्यचौकीको सरसफाइमा समेत समस्या रहेको उनको भनाइ छ । यो गाउँको खानेपानी समस्या टार्न यसै वर्षदेखि २४ करोडको लागतमा नयाँ खानेपानी आयोजना शुरू गर्न लागिएको वडाध्यक्ष अर्जुनबहादुर केसीले जानकारी दिए । यद्यपि, अझै २ वर्ष पानीको समस्या रहने उनको तर्क छ । उनका अनुसार गाउँमा लिफ्ट प्रणालीको खानेपानी आयोजना शुरू हुन लागेको हो ।