काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।
इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीकोरूपमा स्वागत गर्दै गौतमको कार्यकालमा संस्थाले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाइ दिन आफूले शतप्रतिशत योगदान दिने बताए ।
काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ । उनी पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन् । उनी नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्षसमेत हुन् ।
नयाँ बानेश्वर स्थित सेफर्ड कलेजमा पत्रकारिता अध्ययपन गराउने गौतम अनुसन्धान गर्ने संस्था सिआरआई नेपालका कार्यकारी निर्देशकसमेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफील गरेका छन् ।