ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा पहिलोपटक प्रदेशस्तरीय महोत्सव

Jan 21, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेतमा पहिलोपटक प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ ६ नम्बर प्रदेशले आयोजना गर्न लागेको महोत्सव माघ २६ देखि फागुन ८ गतेसम्म सञ्चालन हुनेछ । १० ओटै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको संयुक्त स्वामित्वमा आयोजना हुने महोत्सवमा करीब ५ सय स्टल रहनेछन् । करीब ३ लाख दर्शकले अवलोकन गर्ने, महोत्सव अवधिमा १५ करोड रुपैयाँबराबरको कारोबार हुने अपेक्षा राखिएको नेपाल उद्योग वाणिज्य महासङ्घ ६ नम्बर प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले प्रदेशको समृद्धिका लागि जलस्रोत, कृषि, पर्यटन, खानीखनिज तथा जडीबुटी, स्थानीय कलासंस्कृति, रहनसहन, स्थानीय उत्पादन, व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उल्लेख गरे । उनका अनुसार उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्न नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त पहाडी जिल्लाका खानीखनिज र कृषिजन्य वस्तुको प्रदर्शनी तथा बजार प्रवर्द्धन गरिनेछ । महोत्सवका माध्यमबाट प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका रारा ताल, शे–फोक्सुण्डो तथा छिमेकी जिल्ला दैलेखका पञ्चकोशीलगायत धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकनका लागि बाह्य पर्यटकलाई प्रोत्साहित गर्ने अध्यक्ष शाही बताउँछन् । १२ दिनसम्म चल्ने महोत्सवमा प्रदेशको कला संस्कृति झल्कने झाँकी तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने उनले बताए । विविध सांस्कृतिक कार्यक्रमसँगै कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत महोत्सवमा रहने आयोजकले बताएका छन् । बहुआयामिक महोत्सव सफल बनाउन संरक्षक नेपाल उद्योग वाणिज्य महासङ्घ, मुख्य आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घ ६ नम्बर प्रदेश, सह–आयोजक जिल्ला समन्वय समिति सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)