रौतहट । रौतहटस्थित गौर भन्सार कार्यालयले काममा सहजता ल्याउन र आफ्नो लक्ष्य पूरा गर्न अनलाइन सेवा शुरू गरे पनि अपेक्षाकृत राजस्व सङ्कलन भने गर्न सकेको छैन । कार्यालयले १७ करोड ४४ लाखको वार्षिक लक्ष्य लिए पनि राजस्व सङ्कलनमा भने कमी आएको कार्यालय प्रमुख राजनबाबु काफ्लेले बताए । यस अवधिमा कार्यालयले ७ करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।
गतवर्षको तुलनामा दोब्बर लक्ष्य लिएको र प्रविधिको जडानलगायत विविध कारणले तोकिएको राजस्व सङ्कलन गर्न नसकिएको कार्यालयका भन्सार अधिकृत विमल साहले प्रष्ट पारे । आयात निर्यातमा सङ्केत अर्थात् एक्जिम कोड भएकाले मात्र कारोबार गर्न पाउने भएपछि राजस्व सङ्कलनमा प्रभावित भएको उनको भनाइ छ । साना तथा खुद्रा व्यापारीले कारोबार गर्न नपाउने भएपछि राजस्व सङ्कलनमा समेत प्रभाव परेको उनले बताए । तर, एक आवमा बिनाएक्जिम कोड एक पटक ५० हजारसम्मको कारोबार गर्न दिने व्यावहारिक निर्णय भएको उनले बताए । कानूनअनुसार यो कारोबार गर्न नपाइनेसमेत उनले उल्लेख गरे । अर्कोतर्फ भारतीय पक्षले जीएसटी लागू गरेका कारण पनि साना व्यापारीले कारोबार गर्न नपाएका हुन् ।
एक्जिम कोड भएकाले मात्र कारोबार गर्न पाउने भएकाले राजस्व सङ्कलन प्रभावित हुँदै आएको हो । भन्सार कार्यालयलाई काममा सहज भए पनि कारोबार गर्ने व्यापारीलाई भने असहज भएको बताएका छन् । तोकिएको राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयले तत्परता देखाए पनि लक्ष्यलाई पूरा गर्न कारोबारमै निर्भर हुने उनले बताए । पुस महीनामा १ करोड ४९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिए पनि १ करोड ५ लाख मात्र सङ्कलन भएको गौर भन्सार कार्यालयले बताएको छ । साउनदेखि पुससम्म ६७ प्रतिशत राजस्व सङ्कलन भएको भन्सार कार्यालयले बताएको छ । यसअघि आव २०७३/७४ मा भने यस कार्यालयले तोकिएको लक्ष्यभन्दा २३ दशमलव ८२ प्रतिशत बढी राजस्व सङ्कलन गरेको थियो ।