पर्वत । पर्वत जिल्लाको जलजला गाउँपालिकामा पर्ने कालिगण्डकीको तटीय क्षेत्रको बस्ती जोगाउन तटबन्धको काम थालिएको छ । कालीगण्डकी नदी किनारमा रहेको बारीबनी, बगरफाँट, मिलनचोक र लामाखेतको बस्ती जोगाउन ३ करोड खर्च हुँदै छ । कालिगण्डकीको भेलका कारण हुने जोखीम घटाउन म्याग्दीको सदरमुकाम बेनीबजारतर्फ पक्की पर्खाल बने पनि पर्वत क्षेत्रमा भने पर्खाल नहुँदा बर्खाको समयमा बाढी पस्ने समस्या रहेको छ । बस्ती नै नदीको कटानले जोखीममा परेपछि बस्ती जोगाउन तटबन्ध बनाउन थालिएको हो ।
जलाधार नियन्त्रण कार्यक्रमअन्तर्गत उक्त बजेट विनियोजन भएको हो । चालू आर्थिक वर्षभित्र बारीवेनी र बगरफाँटमा पक्की पर्खाल बन्ने भएको छ भने लामाखेत र मिलनचोकमा तारजाली लगाइने बताइएको छ । पूर्वसांसद अर्जुनप्रसाद जोशीको पहलमा थालिएको उक्त आयोजनाले करीब १ हजार घरधुरी लाभान्वित हुने जनाइएको छ । उक्त बस्ती जोगाउन गतवर्ष पनि १ करोडको काम भइसकेको छ । कालीको तीरमा रहेका बस्तीहरू वर्षेनि आउने भेलका कारण जोखीममा रहँदै आएका छन् । ‘वर्षा लाग्दा सबै जाग्रम बस्नुपर्ने अवस्था रहेको छ,’ स्थानीय भुवन जिसीले भने, ‘बस्ती जोगाउन पहल भएकोमा यहाँका बासिन्दा खुशी छन् ।’
अघिल्लो वर्ष कालिगण्डकी थुनिँदा उक्त बस्तीमा पसेर अधिकांश घर डुबानमा परेका थिए । बस्तीनजिकै रहेको खेतसमेत बगरमा परिणत भएको थियो । हिउँदको समयमा खासै समस्या नहुने भए पनि वर्षामा घरभित्रै बाढी पस्ने समस्याले त्यहाँका बासिन्दा त्रसित हुने गरेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लले बताए । ‘गाउँपालिकाले यस वर्ष बजेट कम भएकाले सहयोग गर्न नसके पनि केन्द्रीय योजनाले काम थालेकोमा हामीलाई सहज भयो’, मल्लले भने, ‘बाँकी रहेको काममा हामी पनि अर्को वर्ष सम्बोधन गर्ने सोचमा छौं ।’ यो बस्तीलाई संरक्षण गर्न पहल गरेकोमा उनले पूर्वसांसदलाई धन्यवाद पनि दिए ।
बजारोन्मुख ती बस्तीहरूमा मानवीय चाप बढ्दो छ । नदी किनारमा रहेका कारण कटानको समस्या ठूलो छ । अब तटबन्धको काम शुरू भएपछि त्यहाँका बासिन्दा ढुक्कको महशूस गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।