सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका–५ की ११ वर्षीया सजना कसेरा विद्यालयमा नियमित हुँदैनथिइन् । कहिले घरको काम त, कहिले गृहकार्य नगरेको कारण विद्यालयमा बिरलै मात्र उपस्थित हुन्थिन्, जसले गर्दा नतीजामा पनि कक्षाका अन्य साथीको भन्दा उनको स्थान पछाडि आउँथ्यो ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा ५ कक्षामा अध्ययनरत सजना सानैमा बुवा आमाको न्यानो काखबाट वञ्चित भइन् । उनी अहिले बाजेबज्यैसँगै बस्दै आएकी छन् । २ वर्षकै उमेरमा आमा गुमाएकी उनी बुवासँग पनि बस्न पाइनन् । बज्यैसँग साँझ–बिहानको काम सघाएर विद्यालय आउनुपर्दा उनको गृहकार्य सकिएको हुँदैनथ्यो । त्यसैमाथि स्कूल डे«स र कापीकलमको अभाव पनि झेलिरहेकी थिइन्, जसले गर्दा उनी विद्यालय आउन मन गर्दिनथिइन् ।
तर, आजभोलि भने उनी नियमित विद्यालय आउन थालेकी छन् । विद्यालयमा विगत २ वर्षदेखि सञ्चालित बालसुलभ कक्षामा सहभागी भएपछि उनलाई विद्यालय आउन मन लागेको छ । त्यतिमात्र होइन, उनी कक्षाको पढाइमा पनि अग्रसर छिन् । बालसुलभ कक्षामा आउन थालेपछि सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत दिनेश सुनारको पनि पढाइमा सुधार आएको छ । उनी पनि अहिले विद्यालय नियमित आउने गरेका छन् । उनीसँगै ६ दिदीभाइको पालनपोषणका लागि आमाले मजदूरी गर्नुपर्छ । मजदूरी गरेको पैसाले उनीहरूलाई साँझ–बिहानको दुई छाक टार्न पनि मुश्किल छ । साँझ बिहानको दुई छाक जुटाउनै समस्या भएपछि कापीकलम र ड्रेस किन्ने त परैको कुरा, घरमा पढ्ने वातावरणसमेत नहुँदा विद्यालयको गृहकार्य बाँकी हुन्थ्यो । यस कारण उनी विद्यालय नियमित हुँदैनथे ।
बालसुलभ कक्षामा आएर पढ्न थालेपछि रमाइलो लागेको सोही विद्यालयमा अध्ययनरत पूजा सुनारले बताइन् । ‘यहाँ आएर साथीहरूसँग पढ्दा खुशी लागेको छ,’ उनले भनिन्, ‘हामी यहाँ गृहकार्य गर्छौं अनि गीत गाउने र नाच्ने कार्यक्रम पनि मिसले गराउनुहुन्छ ।’ सजना, दिनेश र पूजाजस्तै यो समुदायका ३० जनाभन्दा बढी बालबालिका बालसुलभ कक्षामा पढ्न आएपछि उनीहरू विद्यालयमा नियमित हुन थालेका छन् ।
के हो बाल सुलभ कक्षा ?
‘बालबालिका र महिलालाई न्यायमा पहुँचका लागि संरक्षण संयन्त्र÷संरचनामा सहजीकरण’ परियोजनाअन्तर्गत बालसुलभ कक्षा सञ्चालनमा ल्याइएको छ । गरीब तथा विपन्न समुदायका बालबालिकालाई सहज तथा सुलभ रूपमा पढाइप्रति रुचि बढाएर विद्यालयमा नियमित गर्ने माध्यम नै बालसुलभ कक्षा हो । बालसुलभ कक्षा विपन्न परिवारका र घरमा अभिभावकको हेरचाह नपाउने बालबालिकाका लागि विद्यालय समयबाहेक दिनको २ घण्टा सञ्चालन हुन्छ । यसमा १ घण्टा बालबालिकालाई अप्ठ्यारो लाग्ने गृहकार्य तथा पाठको बारेमा बुझाइन्छ भने १ घण्टा नैतिक ज्ञान दिनुका साथै सृजनात्मक क्रियाकलाप पनि गराइन्छ । एउटा कक्षामा ३० जना बालबालिका राखिएका छन् ।
बालसुलभबाट कस्तो परिवर्तन आउँछ ?
‘सबैभन्दा पहिले विद्यालयको ड्रेस तथा कापीकलम जुटाउन समस्या भएर विद्यालय नआउने बालबालिकाहरूलाई सहयोग गरी विद्यालय नियमित आउने बनाइन्छ,’ विद्यालयकी प्रधानाध्यापक देवीमाया चपाईंले भनिन्, ‘बालसुलभ कक्षामा आउन थालेपछि बालबालिकाको पढाइमा सुधार ल्याउन उनीहरूको चाहनाअनुसार सिकाइ शुरू गरिन्छ ।’ विपन्न तथा गरीब असहाय बालबालिकालाई पढाइसँगै खेलकुदमा आकर्षित गराइएको उनको भनाइ छ । उनका अनुसार त्यसपछि बालबालिकामा विद्यालयका अन्य सहपाठीजस्तै आफू समान छु भन्ने भावनाको विकास हुन्छ । ‘बालबालिका नियमित विद्यालयमा आउने भएपछि उनीहरूको सिकाइ उपलब्धि पनि बढ्छ,’ उनले भनिन्, ‘सृजनात्मक तरीकाले अध्ययनलाई बालबालिकाको अनुकूल बनाइएपछि पढाइमा सुधार आउँछ ।’ कक्षामा नियमित सहभागी भएका बालबालिका अहिले परीक्षामा पनि उत्कृष्ट हुने गरेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा बालसुलभका दुईओटा कक्षा सञ्चालित छन् ।