ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एसईईपछिको यात्रा विशेष: एसईईपछि विषय छनोटमा अन्योल

२०८० असार, ३१  
समाचार शिक्षा अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। एसईईको नतीजासँगै धनगढी उपमहानगरपालिकाकी सिर्जना भट्ट कक्षा ११ मा कुन विषय पढ्ने, अन्योलमा छिन् । उपमहानगरपालिकाको विद्यालयबाट ३ जीपीए ल्याएकी उनले ११ मा विज्ञान विषय लिने कि व्यवस्थापन निक्र्योल गर्न सकेकी छैनन् । आफूसँग मिल्ने साथी व्यवस्थापन पढ्ने भनिरहेकाले उनलाई पनि त्यही विषय लिन मन छ । तर, परिवारले उनलाई विज्ञान विषय लिन सुझाइरहेका छन् । ‘कुन विषय लिउँ भन्ने दोधारमा छु,’ उनले सुनाइन् । 

उनलाई मात्रै होइन, यो समस्या अन्य विद्यार्थीलाई पनि छ । साथीहरूको लहड र परिवारको दबाबका कारण कक्षा ११ मा अध्ययन गर्ने विषयबारे अन्योलमा देखिन्छन् विद्यार्थी । प्राध्यापक बालकृष्ण लुइँटेल एसईईलाई एसएलसीजस्तो हाउगुजी बनाउन नहुने बताउँछन् । ‘यो विद्यालयस्तरकै एक परीक्षा हो । त्यसैले यसलाई हाउगुजी बनाउन हुँदैन,’ उनी भन्छन् । 

आफ्नो रुचि र क्षमतालाई हेरेर विषय छनोट गर्नुपर्ने विज्ञहरू बताउँछन् । ‘१५–१६ वर्षको उमेरमा आफ्नो रुचि र क्षमतालाई परख गर्ने क्षमता हुन्छ, आफूलाई परख गरेर विषय छनोट गर्नुपर्छ,’ उनी भन्छन् । 

विद्यार्थीलाई विषय छनोटमा अन्योल भए अभिभावक र विद्यालयले परामर्श दिनुपर्ने हो । तर, देशमा फाट्टफुट्ट विद्यालयबाहेक अन्यले परामर्श दिने गरेका छैनन् । यसबारे न त अभिभावक नै सचेत छन् । यसले गर्दा विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम बढेको छ । 

त्यसैले करिअर परामर्श एकदमै आवश्यक भएको विज्ञको भनाइ छ । पत्रकार मुकुन्द भण्डारी विद्यार्थीलाई विषय छनोटमा विद्यालयले पनि परामर्श दिनुपर्ने बताउँछन् । ‘विद्यार्थीको आनीबानी, रुचि र क्षमता शिक्षकलाई बढी थाहा हुन्छ, त्यसकारण विद्यालयबाटै परामर्श दिइनुपर्छ,’ उनी भन्छन् । तर, विद्यार्थीहरू शिक्षकबाट करिअर परामर्श नभएको बताउँछन् । ‘म कुन विषय लिउँ भनेर सोध्ने विद्यार्थीलाई शिक्षकले भन्नुभएको होला । तर, सबैलाई भन्नुभएको छैन,’ विद्यार्थी भट्ट भन्छिन् । 

शिक्षाविद् जीतबहादुर शाह पनि करिअर काउन्सिलिङलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँछन् । उनी करिअर काउन्सिलिङलाई कक्षा ८ देखि नै पाठ्यक्रममा समावेश गरिनुपर्ने सुझाव दिन्छन् । ‘यो विषयलाई पाठ्यक्रममा राख्न सके विद्यार्थीलाई विषय छनोटमा सहज हुन्थ्यो,’ उनी भन्छन् । 

यससँगै यो विषयमा अभिभावक पनि सचेत हुनुपर्ने उनको सुझाव छ । ‘आफ्नो नानीबाबुको रुचि र क्षमता केमा छ, त्यो अभिभावकलाई जानकारी हुन्छ । आफ्नो नानीबाबुलाई समस्या भए/नभएको पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ । तसर्थ विषय छनोटमा अन्योल भए अभिभावकले परामर्श दिनुपर्छ,’ उनी भन्छन् ।

विद्यार्थीलाई विषय छनोटमा अन्योल भए अभिभावक र विद्यालयले परामर्श दिनुपर्ने हो । तर, देशमा फाट्टफुट्ट विद्यालयबाहेक अन्यले परामर्श दिने गरेका छैनन् । यसबारे न त अभिभावक नै सचेत छन् ।

यसमा अभिभावकले आफ्ना नानीबाबुसँग परामर्श गरे उनीहरूलाई सहज हुने पत्रकार भण्डारी बताउँछन् । आफूले परामर्श दिएकाले छोरा समेक भण्डारीलाई विषय छनोटमा सहज भएको उनको भनाइ छ । उनका छोरा समेक कक्षा ११ मा विज्ञान विषय पढ्ने योजनामा छन् । भक्तपुरको एक विद्यालयबाट एसईईमा ३ दशमलव ९ जीपीए ल्याएका उनले कक्षा ११ मा पढ्नका लागि ग्लोबल कलेजमा नाम निकालिसकेका छन् । 

विद्यार्थीलाई करिअर काउन्सिलिङ भए भविष्यको लक्ष्य निर्धारणमा सहज हुने विज्ञ बताउँछन् । कैलालीको एक निजी विद्यालयमा अध्यापन गरिरहेका टेकराज ओझा विद्यार्थीलाई करिअर काउन्सिलिङ दिनेबारे विद्यालयले महसुस नगरेको बताउँछन् । ‘अधिकांश विद्यालयलाई करिअर काउन्सिलिङबारे आइडिया नै छैन । फाट्टफुट्ट रुपमा भने देखिन्छ,’ उनले भने । 

कसरी छान्ने विषय ?

विज्ञहरू विषय छान्दा साथीभाइको लहडमा नछान्न सुझाव दिन्छन् । ‘विषय छनोट गर्दा साथीभाइको लहलहैमा लागेर होइन, आफ्नो रुचि र क्षमता हेर्नुपर्छ,’ शिक्षाविद् शाह भन्छन् । त्यस्तै भविष्यमा त्यो विषयको उपयोगितालगायत विषयमा ध्यान पुर्‍याउन आवश्यक रहेको उनको सुझाव छ । ‘यसमा अभिभावकले आफ्ना नानीबाबुलाई काउन्सिलिङ गर्न आवश्यक छ,’ उनी भन्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)