ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मोरङ व्यापार संघ एक्स्पो २०२३ : १० दिनमा २ लाख ५० हजारले गरे भ्रमण

१४ करोडको कारोबार

२०८० पुस, १६  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङ व्यापार संघ एक्स्पो २०२३ को १०औं दिन आइतवारसम्म २ लाख ५० हजार दर्शकले भ्रमण गरेका छन् । सो अवधिमा मेलामा १४ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक संस्था मोरङ व्यापार संघले बताएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस ६ गते उद्घाटन गरेपछि शुरू भएको अन्तरराष्ट्रिय कृषि, औद्योगिक तथा व्यापार मेला (मोरङ व्यापार संघ एक्स्पो २०२३)को समापन आज (सोमवार) साँझ हुँदै छ । समापन कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महत हुनेछन् । 

एक्स्पोका सबै स्टलमा उपभोक्ता र सर्वसाधारणको उल्लेख्य भीड छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले अहिलेको शिथिल आर्थिक अवस्थामा एक्स्पोले केही हदसम्म भए पनि स्थानीय स्तरमा आर्थिक गतिविधि बढाएको बताए । स्टलभित्रका मात्र होइन, स्टल बाहिरका चिया खाजा पसल, ठेलागाडामा लगाएका पसल, भुँइमै पसल थापेर बस्नेहरू र सिटी रिक्साहरूले समेत राम्रो आम्दानी गरेको उनको भनाइ छ । मेलामा दैनिक ४०० सिटी रिक्साले अतिरिक्त काम पाएका छन् । 

सनम फलफूल उत्पादन तथा प्रशोधन केन्द्र, मिक्लाजुङ पाँचथरकी जुनु लावतीले एक्स्पोको अन्तिम दिनसम्म एक लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बताइन् । ‘अरू समयमा दैनिक दुई हजार रुपैयाँ बराबरको किबी तथा त्यसका उत्पादनको विक्री हुन समेत मुश्किल पथ्र्यो,’ उनले भनिन्, ‘एक्स्पोमा दैनिक १० हजार रुपैयाँभन्दा बढीको कारोबार भइरहेको छ ।’

मेलामा चारपांग्रे गाडी र मोटरसाइकलको व्यापार पनि उल्लेख भएको छ । गाडी तथा मोटरसाइकल विक्रेता मुस्कान अलीले भने, ‘अहिलेको कठिन आर्थिक अवस्थामा पनि मेलामा चारओटा गाडी र तीनओटा मोटरसाइकल विक्री भए, यसलाई उपलब्धि नै मान्नुपर्छ ।’

विराटनगर–२ शंकरपुरमा सञ्चालित मेलामा औद्योगिक उत्पादनसहित कृषिउपज र भान्साका सामानमा उपभोक्ताको भीड बढी छ । विभिन्न औद्योगिक उत्पादनको विक्री पनि उत्साहजनक भएको व्यापारीहरूले बताएका छन् । संघका अध्यक्ष रिजालका अनुसार मेलाले शिथिल रहेको सुनसरी मोरङ औद्योगिक क्षेत्रको आर्थिक कारोबार चलायमान बनाएको छ ।

नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका कृषि उत्पादन र अन्तर–प्रादेशिक व्यापार सम्भावनाका वस्तु तथा सेवालाई अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले समेत मेला आयोजना गरिएको हो । मेलाले आर्थिक गतिविधि शिथिल भइरहेको समयमा आर्थिक क्षेत्रमा ऊर्जा थप्ने काम गरेको मेला संयोजक अनिल साहले बताए । स्वदेशी तथा विदेशी उत्पादनको व्यापार बढाउन मेलाले ठूलो मद्दत पुगेको उनको भनाइ छ । ‘मेलालाई क्रिसमस र अंग्रेजी नयाँ वर्षको उत्सवको रूपमा पनि आयोजना गरेका हौं,’ उनले भने । मेलामा स्वदेशीसहित भारत, पाकिस्तान, बंगलादेशका विभिन्न उत्पादनका २५० ओटा स्टल राखिएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)