ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयोजकको नजरमा ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’

२०८० पुस, १६  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

एक्स्पोले उत्साह थप्यो

यसपालिको एक्स्पो हामीले अपेक्षा गरेको भन्दा निकै राम्रो भएको छ । अहिलेको आर्थिक मन्दी र व्यापार व्यवसाय शिथिल भएको बेला एक्स्पो आयोजना गरिएको हो । मौसमले पनि साथ दियो । टिमवर्क राम्रो भयो । अध्यक्षज्यूको काम गर्ने दृढ शैलीले हामीलाई पनि उत्साहित बनायो । यसले स्थानीय अर्थतन्त्रलाई पक्कै पनि चलायमान बनाएको छ । व्यापारी तथा उत्पादकलाई राम्रो प्रतिक्रिया आएको छ । उनीहरूले अवसर पाएका छन् । विक्री मूल्य पनि सस्तो राखेको कारण उपभोक्ताले निकै रुचाएका छन् । 

जहाँसम्म सांगीतिक कार्यक्रमलाई बढी प्राथमिकता दिइयो भन्ने कुरा छ, यो मिक्स नै हुन्छ । ट्रेड एक्स्पोको सँगसँगै सांगीतिक कार्यक्रम गर्नु भनेको पर्यटनलाई बढावा दिनु हो । धेरैको आकर्षण सांगीतिक कार्यक्रममा हुन्छ । 

मेला तथा एक्स्पोहरूमा भिजिटर आकर्षित गर्ने प्रभावकारी उपाय सांगीतिक तथा मनोञ्जनमूलक कार्यक्रम पनि हो । त्यसकारण यसलाई बेवास्ता गर्न सकिँदैन । उत्पादन, सेवामूलक उद्योग, पर्यटन क्षेत्रका स्टल पनि उत्तिकै प्राथमिकतामा छन् । 

हामीले गतवर्षभन्दा यो वर्ष ठाउँ बढायौं 

अघिल्लो एक्स्पोमा भन्दा हामीले यो एक्स्पोमा ठाउँलाई बढी महत्त्व दिएर तीनओटा डोमको साटो एउटै डोमभित्र २४० ओटा स्टल अटाएका छौं । सांगीतिक कार्यक्रमको आकर्षणलाई ध्यानमा राखेर २० प्रतिशत स्पेस गतवर्षभन्दा बढाएका थियौं । एक्स्पो छिर्नासाथ जमीनमा टेक्नै नपर्ने गरी कार्पेटिङ गरेका छौं । शौचालय, सरसफाइमा पनि यो पटक निकै प्राथमिकताका साथ काम गरिएको छ ।

जोगवनीमा पाउने सामान यहीँ पाउँछ 

अरूबेलाको भन्दा यो पटकको एक्स्पो अलिक फरक छ । यसमा विविधता थप्ने हाम्रो प्रयत्न रह्यो । कृषि र उद्योग क्षेत्रका उत्पादनसँगै सेवा व्यापारलाई पनि प्राथमिकतामा राख्यौं । यो पटक धेरै उपभोक्ताको आकर्षण प्लाष्टिकका सामानमा देखियो । पहिला नेपालमा नै उत्पादन हुन्छ भनेर थाहा नपाउँदा उपभोक्ताले जोगवनी पुगेर सामान ल्याउनुहुन्थ्यो । यो पटक धेरै स्टलहरू नेपाली उत्पादनका भएकाले उपभोक्ताले नेपालमा के के उत्पादन हुन्छ भनेर जानकारी पाए । 

सुरक्षामा संवेदनशील छौंं 

यो पटक हामीले सुरक्षा निगरानी बढाएका छौं । ससाना कुराहरू पनि हामीले ५२ ओटा सीसी क्यामेरा र ड्रोन क्यामेराबाट हेरिरहेका हुन्छौं । हाम्रो मेलाको सीसी क्यामेराको कनेक्सन जिल्ला प्रहरी कार्यालयमा पनि भएकाले त्यहाँबाट पनि प्रत्यक्ष निगरानी भइरहेको छ । यसका साथै नेपाल प्रहरी सशस्त्र प्रहरी, निजी सुरक्षाकर्मी गरेर दैनिक ६० जना परिचालन गरिएको छ । सुरक्षाको दृष्टिले कुनै समस्या छैन । 

अन्तरराष्ट्रियस्तरको गुणस्तर 

हामीले एक्स्पोलाई यो पटक जर्मनी प्रविधिको डोम ल्याएर अन्तरराष्ट्रियस्तरको बनाएका छौं । विदेशतिर पनि आउटडोर एक्स्पो यस्तै डोममा आयोजना हुन्छ । हामीले आर्थिक मन्दीमा पनि एक्स्पो गरेर हिम्मत देखायौं । यसले सबैलाई हिम्मत दिएको छ । अरू बेलाको भन्दा व्यवस्थित गरिएको छ । पाकिस्तान, बंगलादेश र भारतका स्टल राखिएका छन् ।

फिल्ड व्यवस्थापनमा ध्यान दिएका छौं 

एक्स्पोमा हामीले फिल्डको व्यवस्थापन र सरसफाइमा ध्यान दिएका छौं । अवलोकनकर्ताको भीडभाडमा हामीले बीचबीचमा आफ्नै मानिसलाई त्यहाँको गतिविधि बुझ्न गोप्य रूपमा परिचालन गरेका छौं । एक्स्पो सफल बनाउन सबैको सामूहिक योगदान भएकाले हामीले पनि विशेष गरेर ध्यान पुर्‍याएर काम गरेका छौं ।

सामाजिक सञ्जालको प्रयोग बढाएका छौं

एक्स्पोमा हामीले अवलोकनकर्तालाई आकर्षित गर्न फेसबुक, इन्स्टाग्राम, ट्वीटरलाई बढी प्रयोग गरेका छौं । टिकटमा पनि क्यूआर सिस्टम गरेका छौं । इन्स्टाग्राम तथा फेसबुक पेज दैनिक १५ हजारभन्दा बढीले भिजिट गर्ने गरेका छन् । हामीले सीसी क्यामेराबाट निगरानी, ड्रोनबाट पनि सुरक्षा निगरानी गरिहेका हुन्छौं ।

प्रचारप्रसारमाध्यान दियौं 

हामीले यो पटक प्रचार प्रसारलाई अलिक फरक शैलीमा लिएर गयौं । शहरी क्षेत्रमा त फोकस छँदै थियो । ग्रामीण भेगमा पनि हामीले प्रचारप्रसार राम्रोसँग गरेका छौं । हामीले विभिन्न जिल्लाका ग्रामीण भेगमा अभियान चलायौं । सामाजिक सञ्जालमा पोष्ट गर्ने, पत्रकार सम्मेलन गर्ने विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार पनि गरिरहेका छौं । माइकिङ पनि गरिरहेका छौं । पहिले स्कुलका विद्यार्थीलाई मात्रै नि:शुल्क भिजिट गराएका थियौं अहिले हामीले कलेजलाई पनि नि:शुल्क अवलोकन गराएका छौं ।

एउटै डोममा सबै स्टल

महोत्सवको तयारी गर्दा सामान्यतया पहिलादेखि नै काम गर्नुपर्छ । गतवर्ष हामीले तीनओटा डोम जोडेर बनाएका थियौं तर यो पटक हामीले जर्मनी प्रविधिको एउटै डोममा सबै स्टल अटायौं । कुनै संस्थाले यसलाई किनेर राखेर भाडामा लगाउने हो भने भारतबाट ल्याउने र लाने भाडा जोगिन्छ । अर्बाैं लगाएर स्थायी संरचना बनाए पनि बुटवलमा त्यसभित्र पनि बाँस गाडेर नै स्टल बनाउनु पर्‍यो । चितवनमा पनि ३७ करोडको लागतमा प्रदर्शनीस्थल बन्यो तर त्यसको सञ्चालन खर्च बढी भएर समस्या आएको मैले सुनेको छु । त्यसैले कम खर्चमा कसरी सजिलो तरिकाले एक्स्पो लगाउन सकिन्छ भनेर काम गर्‍यौं ।

स्टलको माग बढ्यो 

हाम्रो सोचभन्दा पनि राम्ररी सबै स्टल बुक भए । २५० ओटा स्टल हामीले वितरण गर्न सक्यौं । डोमभित्रको आवतजावत र खरीदविक्रीले बढी उत्साह दिएको छ । थप २०/३० ओटा स्टलको माग थियो तर थप्न सकेनौं । ग्रामीण क्षेत्र र कृषि क्षेत्रलाई हामीले नि:शुल्क स्टल दिएका छौं । कुनै कुनै स्टलवालाको क्षमताको आधारमा छूट पनि दिएका छौं । गतवर्षभन्दा यो वर्ष स्टलको भाडा २० हजार रुपैयाँ कम छ ।

दैनिक सरसफाइमा ध्यान दिएका छौं

हामीले दिनमा तीन पटक फिल्ड सफा गर्छौं । भित्र डोमदेखि बाहिर फिल्ड र रेष्टुरेण्टसम्मको सफाइमा ध्यान दिएका छौं । मेलाबाट दैनिक दुई ट्याक्टर फोहोर निस्कन्छ । हामीले फोहोर लैजानका लागि नेपाल फूलबारी संस्थालाई परिचालन गरेका छौं । ६० ओटा डस्टबिनको व्यवस्था मिलाएका छौं । अघिल्लो वर्षभन्दा यो वर्ष सरसफाइमा बढी नै सजगता अपनाइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)