ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शो २०२३ विशेष: अटो शोले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ

२०८० भदौ, २८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौंको भृकुटीमण्डपमा सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो शो २०२३’ शुरू भएको छ । यसले सुस्ताएको अटो व्यवसायलाई गति दिन र अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्न सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा आर्थिक अभियानले अटो सोका बारेमा अर्थमन्त्रीलगायत विभिन्न व्यवसायीको विचार संकलन गरेको छ ।

डा. प्रकाशशरण महत 

अर्थमन्त्री

नेपाल सरकार निजीक्षेत्र आर्थिक रूपान्तरणको वाहक हो भन्ने कुरामा विश्वास राख्दछ । हरेक नागरिकको क्षमता, सृजना, सम्भावना र उद्यमशीलताको पूर्ण उपयोगबाट मात्रै आर्थिक समृद्धि सम्भव छ । अर्थतन्त्रमा भएको समस्या अहिले कम हुँदै गएको छ । त्यसैले अब आर्थिक गतिविधि विस्तारै अघि बढ्छ । विदेशी मुद्रा सञ्चिति यथेष्ट छ, पर्यटन क्षेत्र पनि अघि बढेको छ, घरजग्गा कारोबार बढेका कारण आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ । त्यसैले अटोमोबाइल्स क्षेत्रमा पनि सुधार आउने देखिन्छ । अटोमोबाइल्स क्षेत्र हाम्रोमा राजस्व संकलनको मुख्य स्रोत बन्न पुगेको छ । अहिले ग्रीन इकोनमीतर्फ जाँदै गर्दा विद्युतीय सवारीसाधनतर्फ जान आवश्यक छ । पेट्रोलियम पदार्थको आयात घटाउनका साथै देशमै उत्पादन भएको विद्युत् खपत गरी आत्मनिर्भरताका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक छ । विद्युतीय सवारीसाधनको प्रयोग बढाउन अहिले सरकारले चार्जिङ स्टेशन बनाउनुका साथै करमा पनि छूट दिँदै आएको छ । नाडा अब डिलरको संघभन्दा पनि उत्पादकको संघ बन्नुपर्छ । एसेम्बलिङ शुरू गर्नेलाई सरकारले सहुलियत दिन्छ । अब कम्पनीहरूले नेपालमा मोटरसाइकलको एसेम्बलिङ शुरू भइसकेकाले गाडीको पनि एसेम्बलिङ शुरू गर्नुपर्छ ।

चन्द्रप्रसाद ढकाल

अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा सबैभन्दा धेरै राजस्व अटोमोबाइल्स क्षेत्रबाटै संकलन हुने गरेको छ । अहिले यो क्षेत्रको व्यवसाय खुम्चिँदा करीब ५० प्रतिशत राजस्व घटेको देखिन्छ । सरकारी निकाय वा नियामक निकायहरूले निजीक्षेत्रले दिने सुझाव उसका लागि मात्र नभएर समग्र मुलुकको लागि हुन्छ भनेर बुझ्न आवश्यक छ । अहिले नेपाल सरकार अन्तर्गतका मन्त्रालय र नियमनकारी निकायबीच समन्वयन भएको देखिन्छ । उनीहरूले आफूले नियमन गर्ने संस्थाको लागि मात्र काम गरेको सर्वासाधारणले पनि अनुभूत गरेका छन् । चालूपूँजी कर्जा मार्गदर्शन, श्रीलंकाको त्रास देखाएर आएका नीतिहरूदेखि आयात प्रतिबन्धको नीति बनाउँदासम्म निजीक्षेत्रका सुझावलाई बेवास्ता गरियो । निजीक्षेत्रले माग्ने काम मात्र गर्छ भन्ने भान भएको पाइन्छ । आयात प्रतिबन्ध, जोखिम भारलगायतका नीतिले अहिले मुलुक मन्दीमा पुगेको अवस्था छ । त्यसको असर सीमित व्यवसायलाई मात्र नभएर समग्र अर्थतन्त्रमा परेको छ । त्यसैले निजीक्षेत्रले दिने सुझाव व्यापारीको लागि मात्र नभएर आम सर्वसाधारण र समग्र मुलुकको लागि हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । निजीक्षेत्रले दिएको सुझावका सन्दर्भमा व्यवसायीले आफ्नो मात्र कुरा गर्छन्, मागमात्र राख्छन् भन्ने नियामकीय निकायहरूको सोचले गर्दा अहिलेको अवस्था सृजना भएको हो । 

राजेन्द्र मल्ल

अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

नाडा अटो शो २०२३ ले खस्किएको अर्थतन्त्रमा पनि गति सृजना गर्ने अपेक्षा रहेको छ । शोले गर्दा तिज, दशैं, तिहारलगायत चाडपर्वमा उद्योग, व्यवसायलाई केही सहज हुने र मुलुकको आर्थिक वृद्धि पनि हुने अपेक्षा छ । अहिले बजारमा नकारात्मक कुराहरू बढी आइरहेको पाइन्छ । तर, अहिले उद्योग व्यवसायका साथै पर्यटन क्षेत्रमा पनि सुधार आएको देखिन्छ । यस्तै आईटी क्षेत्रमा पनि निर्यात बढेसँगै केही सुधार भएको देखिन्छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुने परिस्थिति छ । तर, हाम्रोमा नियामकले पटकपटक निर्देशिका ल्याएर उद्योग व्यवसाय खल्बल्याउने काम गरिरहेको पाइन्छ । त्यसैले सरकारले यसलाई सही ट्र्याकमा ल्याउन पहल गर्नुपर्छ ।

राजेशकुमार अग्रवाल

अध्यक्ष, नेपाल उद्योग परिसंघ

अटोमोबाइल्स क्षेत्रले राजस्वमा ठूलो योगदान गर्दै आएको छ । त्यसैले यो क्षेत्र चलायमान भएमा अर्थतन्त्र नै चलायमान हुने देखिन्छ । अर्थतन्त्रलाई चलायमान बनाउन नाडा अटो शोले बल पुर्‍याउने विश्वास लिएको छु । उच्च ब्याजदर, नगद प्रवाहमा समस्या, उत्पादनमा कमी, समग्र मागमा आएको कमीलगायत कारण निजीक्षेत्रको मनोबल घट्नुका साथै अर्थतन्त्र पनि मन्दीमा छ । त्यसैले अर्थतन्त्रको प्रमुख चुनौतीको सामना गर्दै मन्दीमा रहेको अर्थतन्त्र उकास्न आवश्यक छ । त्यसका लागि निजीक्षेत्रको घटेको मनोबल बढाउन आवश्यक छ । निजीक्षेत्रको मनोबल बढाउन समग्र मागमा वृद्धि ल्याउन आवश्यक छ ।

अनुप बराल 

सभापति, नाडा अटो शो २०२३

नेपालमा अहिले अटो व्यवसाय धराशयी बनेको छ । हामीले चार वर्षपछि अटो शो गर्ने प्रयास गरेका हौं । यो चार वर्षको समयमा अटो व्यवसायी हँसिलो अनुहार लिएर हिँड्न पाएका छैनन् । समग्र अटो क्षेत्र समस्यामा परेपछि हामीले अटो शो आयोजना गरेका छौं । यति गर्न हामीले निकै मेहनत गर्नु परेको छ । हामीकहाँ शो गर्नको लागि हामीलाई राम्रो प्रदर्शनी हलको पनि समस्या छ । त्यसैले काठमाडौंमा एउटा राम्रो प्रदर्शनी हलको पनि आवश्यकता देखिन्छ । हामीले प्रदर्शनीमा अन्तरराष्ट्रिय ब्रान्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री पनि राखेका छौं । नाडा अटो शोले अहिलेको मन्दीमा अर्थतन्त्रलाई केही चलायमान बनाउन अवश्य नै मद्दत गर्छ भन्ने विश्वास लिएको छु ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)