आइतवारदेखि शुरू भएको यस वर्षको दशैंले नेपाली समाजमा उत्सवको माहोल सृजना गरेको छ । प्राचीनकालदेखि नै मनाइने दशैं र यसको महत्त्वबारे कोही अनभिज्ञ छैनन् । परापूर्वकालदेखि नै यसलाई धार्मिक, सांस्कृतिक र सामाजिक जीवनशैलीको अभिन्न पक्षको रूपमा मनाइँदै आएको छ ।
मूलत: हिन्दू धर्मावलम्बीहरूको भए पनि दशैंलाई नेपालका सबैजसो जातजाति, भाषाभाषी र समुदायले आआफ्नै तरीकाले मनाउँछन् । त्यसैले यो पर्वलाई बहुसांस्कृतिक तथा राष्ट्रिय पर्व समेत मानिन्छ । तर दशैंको धार्मिक तथा सांस्कृतिक मात्र होइन, आर्थिक महत्त्व समेत उत्तिकै छ ।
अन्य बेला समय निकाल्न नसकेका नेपालीले यही अवसरमा किनमेलदेखि घुमफिरसम्म गर्ने गर्दछन् । लत्ताकपडादेखि गरगहना, मोटरदेखि टीभी, फ्रिज र वासिङ मेसिन जस्ता विद्युतीय उपकरण, भाँडाकुँडा, मरमसला, माछामासु र फलफूलको किनबेच यही बेला बढ्ने गर्छ ।
संघीय राजधानी काठमाडौंमा दशैंंताका न्यूरोडका पसल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका बजार वा चमकधमक सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको भीड हुन्छ । छूट र उपहारका अनेकौं ‘अफर’ले खरीद गर्नेहरूमा उत्साह थपेका हुन्छन् ।
मौसम परिवर्तन हुने बेला अर्थात् जाडो शुरू हुन लागेको यो समयमा न्याना कपडाको विक्री हुने गर्दछ । व्यवसायीका अनुसार दशैंंमा करीब १० अर्ब रुपैयाँ बराबरको लत्ताकपडा मात्र किनबेच हुन्छ भने त्यसबाहेक पनि माछा मासु एवं पेयपदार्थमा ठूलो खर्च हुने गर्छ । दशैंंमा माछामासुको पनि करोडौंको कारोबार हुन्छ ।
दशैंमा काठमाडौं उपत्यकामा मात्रै ३५ देखि ४० हजार खसीबोका विक्री हुने गरेको छ । नयाँ लुगा किन्ने/सिलाउने, मीठो खाने, रमाइलो गर्ने चाड भएकाले पनि दशैं खर्चिलो हुन्छ । अर्थविद्हरूका अनुसार दशैंंले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ । करीब ५ लाख सरकारी कर्मचारीका लागि ५ अर्ब रुपैयाँभन्दा बढी रकम दशैंैं खर्चबापत दिइने गरेको छ ।
आम सर्वसाधारणदेखि कर्मचारीसम्मको मुहारमा खुशी ल्याउने दशैंमा निजीक्षेत्रका संघसंस्थाहरू, जस्तै– बैंक तथा वित्तीय संस्थाका कर्मचारी एवं अन्यले पनि दशैं खर्चमा राम्रै रकम पाउँछन् ।
अर्थविद्हरूका अनुसार अतिरिक्त आय र वर्षभरिको आयबाट सञ्चित धन उपभोगका लागि खर्च गरिने दशैंंअघिका दुई/तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशतजति हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंका लागि नयाँ तथा सफा नोट बाँड्दै आएको छ । यस्तै, पछिल्ला वर्षहरूमा बजारमा चहलपहल बढ्ने प्रमुख कारण दशैंको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको श्रम तथा रोजगारविज्ञ गणेश गुरुङ बताउँछन् । ‘दशैंंको बिदाको अवसर पारेर परिवारसहित घुम्न जाने प्रचलन बढेकाले अर्थतन्त्र चलायमान हुने गरेको छ,’ उनले भने । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने दशैंताका मात्रै १५–२० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिन्छ । यसबाहेक भारतमा काम गर्न गएका नेपालीहरू दशैं बिदामा खर्च बोकेर फर्कन्छन् । दशैंं यातायात व्यवसायीका लागि कमाइको प्रमुख समय पनि हो ।
अर्थविद्हरूका अनुसार अतिरिक्त आय र वर्षभरिको आयबाट सञ्चित धन उपभोगका लागि खर्च गरिने दशैंंअघिका दुई/तीन हप्ताको अवधिमा वर्षभरिको कुल राष्ट्रिय उपभोगको २० प्रतिशतजति हुने गरेको छ ।
२०४६ सालपछिको आर्थिक उदारीकरणले मध्यवर्गीय तथा उच्च मध्यमवर्गीय परिवारको संख्या बढाउँदै लगेको छ । यसकारण पनि दशैंंमा प्रत्येक वर्ष खर्च बढ्दै गएको पाइन्छ । त्यसमाथि रेमिट्यान्सका कारण पनि उपभोगको संस्कृति बढेको छ । दशैंं मनाउने शैलीमा मात्र होइन, प्राय: सबैजसो चाड मनाउने शैली र खर्चको प्रवृत्तिमा आमूल परिवर्तन आएको छ । यसरी खर्च गर्ने शैलीमा आएको परिवर्तनले बजार अर्थतन्त्र चलायमान बनाउन टेवा पुगेको छ । बजारमा करीब ५० अर्ब रुपैयाँको कारोबार हुने चाड भएकाले पनि दशैंं अर्थतन्त्रका लागि महत्त्वपूर्ण पर्व भएको बताइन्छ ।
छूट तथा विभिन्न, आकर्षक योजनाका कारण पनि यस बेला बजारमा रौनक बढ्ने व्यापारीको भनाइ छ । तर पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीका कारण अघिल्ला वर्षमा जस्तो व्यापार हुन नसकेको न्यूरोडमा विगत तीन दशकदेखि पसल गर्दै आएका सुरेन्द्र मानन्धरले बताए । उनका अनुसार बजारमा भीडभाड भए पनि व्यापार भने छैन । ‘मन्दीले बजारमा क्रय शक्ति घटेर होला, खासै ठूलो व्यापार छैन,’ उनले भने ।
मानिसले दशैंंमा इलेक्ट्रोनिक सामानदेखि सवारीसम्म जोड्ने गर्छन् । त्यसैले दशैं व्यापारको पर्व पनि हो । लामो बिदा, वस्तुहरूको किनबेच धेरै हुने, पारिवारिक मेलमिलापका लागि समय मिल्ने, घुमफिर बढ्ने लगायत दशैंका अन्य विशेषता हुन् । यद्यपि दशैंं मनाउँदै गर्दा त्यसले अल्पकाल तथा दीर्घकालमा आर्थिक क्षेत्रमा पुर्याउने प्रभावलाई समयमै विचार गर्नुपर्ने विज्ञहरू बताउँछन् ।