ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशकित्ते नीति : कतिको आवेदन गर्ने

Jan 28, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । धितोपत्र प्राथमिक बजारमा आईपीओ, एफपीओ र म्युचुअल फण्डको एकाइका कारण अहिले चहलपहल बढेको छ । न्यूनतम मूल्यमै खरीद गर्न सकिने आईपीओ, म्युचुअल फण्डको एकाइ र दोस्रो बजार मूल्यभन्दा कममै खरीद गर्न पाउने एफपीओका कारण पनि दोस्रो बजारमा चहलपहल बढेको हो । राम्रो चीज कम मूल्यमा पाउँदा खरीद गर्न मानिसको चाप हुनु स्वाभाविक हो । तर, त्यो चीजमा कतिसम्मको लगानी उपयुक्त हुन्छ भन्ने विषयमा ध्यान दिन आवश्यक देखिन्छ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारमा निष्कासन हुने आईपीओ तथा एफपीओमा प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ता शेयर वितरण गर्नुपर्ने नीतिका कारण धेरै लगानीकर्ता प्राथमिक बजारबाट शेयर बजारमा प्रवेश गरेका छन् । नियामक निकायको १० कित्ता प्रावधानको उद्देश्य पनि साना लगानीकर्तालाई बजारमा प्रवेश गराउने हो । तर, न्यूनतम १० कित्तादेखि ५० कित्तासम्म आवेदन गर्न पाउने भनी गरिएको आह्वानमा लगानीकर्ताले लाखौं रुपैयाँ लगानी गरेको पाइएको छ । लगानीकर्ताले अझै पनि नयाँ प्रावधान र प्रक्रियालाई ध्यान नदिएको पछिल्लो आईपीओ निष्कासनको क्रममा परेको आवेदनका आधारमा पुष्टि हुन्छ । माघ ३ गते राधी जलविद्युत् कम्पनीले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले ७ लाख ६४ हजार ५ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । यस आईपीओमा कुल १ लाख ६६ हजार ३ सय १७ जनाको आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । आह्वानभन्दा बढी आवेदकका कारण नयाँ धितोपत्र बाँडफाँट प्रक्रियाअनुसार गोलाप्रथाबाट आईपीओको बाँडफाँट गरिएको हो । उक्त आईपीओमा बढी पाउनेले ११ कित्ता हात पारेका छन् । तर, विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडका अनुसार एउटै आवेदकबाट धेरै रकमको आवेदन परेको थियो । ११ कित्ता पाउने आवेदकको लगानी रू. १ हजार १ सय हो । यसका लागि उसले न्यूनतम रू. १ हजारदेखि रू. ५ हजारसम्मको आवेदन दिन सकिने व्यवस्था हुन्छ । तर, लगानीकर्ताले अधिकतम सम्पूर्ण कित्ताकै लागि आवेदन दिएको अवस्था छ । लगानीकर्ताले यो बुझ्न जरुरी देखिन्छ, न्यूनतम रू. ५ हजारबराबरको लगानी गर्दा पनि सम्पूर्ण रकमबराबरको शेयर पर्ने सम्भावना कम छ भने अधिकतम कित्ताका लागि लगानी किन ? धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ ले आईपीओ बाँडफाँटका लागि गरेको व्यवस्था : धितोपत्र बाँडफाँट प्रक्रिया : धितोपत्र बाँडफाँट गर्दा सर्वप्रथम सबै आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गर्नुपर्नेछ । पहिलो चरणमा १० कित्ता बाँडफाँट गरेपछि बाँकी रहेको निष्कासित धितोपत्र २० वा सोभन्दा बढी कित्ता आवेदन गर्ने आवेदकलाई पुनः १० कित्ताका दरले बाँडफाँट गर्नुपर्नेछ । दोस्रो चरणको धितोपत्र बाँडफाँटको प्रक्रिया सम्पन्न भएपछि धितोपत्र बाँकी भएमा सोही प्रक्रिया अपनाई बाँडफाँट गर्नुपर्नेछ । यस प्रक्रियाबाट धितोपत्र बाँडफाँट गर्दा १० कित्ताका दरले सबै आवेदकलाई बाँडफाँट गर्न अपुग हुने अवस्थामा न्यूनतम १० कित्ता पाउनेगरी गोलाप्रथाबाट आवेदक छनोट गर्नुपर्नेछ । धितोपत्रको बाँडफाँट गर्नुपर्ने अवधि : सार्वजनिक निष्कासनका लागि खुला गरिएको धितोपत्र विक्री बन्द भएपछि २ लाखसम्मको आवेदनका लागि ३० दिन, २ लाखदेखि ३ लाखसम्मको आवेदनका लागि ४० दिन र ३ लाखदेखि माथिको आवेदनका लागि ५० दिनभित्र सार्वजनिक निष्कासनका लागि खुला गरिएको धितोपत्र विक्री बन्द भएपछि तोकिएको प्रक्रियाबमोजिम बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । कतिसम्मको लगानी उचित ? सबैभन्दा पहिला लगानीकर्ताले अहिले भइरहेको धितोपत्र बाँडफाँट प्रक्रिया बुझ्न जरुरी छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ लगानीकर्तालाई पनि बजारमा प्रवेश गराउने उद्देश्यले जुन अनिवार्य १० कित्ताको व्यवस्था जारी गर्‍यो, त्यसमा पुराना लगानीकर्ताले नै नयाँ लगानीकर्ताको नाम प्रयोग गरी आफ्नो भागमा शेयर पारेको स्पष्ट देखिन्छ । हाल परिवारका एक जनाले सबै सदस्यको नाममा आवेदन दिने गरेको पाइन्छ । पछिल्लो समय प्राथमिक बजारमा भएको धितोपत्र बाँडफाँटको प्रक्रिया हेर्ने हो भने अधिकतम २० कित्तासम्म मात्र परेको अवस्था छ । यो पनि यससम्बन्धी निर्देशिका जारी भएपछि पहिलोपटक सोही निर्देशिकाबमोजिम वितरण गरिएको हिमालयन पावर पार्टनरको आईपीओमा । कम्पनीले त्यस बेला नयाँ वितरण प्रक्रियाअनुसार पहिलो चरणमा सबै आवेदकलाई १० कित्ता र बाँकी शेयर गोलाप्रथाद्वारा वितरण गर्दा केही आवेदकले २० कित्तासम्म हात पारेका थिए । सो समयमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनेहरूले २० कित्ता मात्र शेयर पाएका थिए । त्यसैले, अहिलेसम्मको अवस्थालाई ध्यानमा राख्दा लगानीकर्ताले निष्कासन कम्पनीले आवेदनका लागि न्यूनतम जति कित्ता आह्वान गरे पनि अनिवार्य १० कित्ताको व्यवस्थालाई ध्यानमा राख्नु जरुरी छ । कम्पनीहरूले आफ्नो प्रबन्धपत्रमा भएको व्यवस्थाअनुसार नै न्यूनतम र अधिकतम कित्ता तोक्ने हुँदा यसको जानकारी लगानीकर्ताले राख्नुपर्छ । बोर्डका प्रवक्ता निरज गिरीले आईपीओ र एफपीओमा आवेदन गर्दा कम्पनीले निष्कासन गर्ने सङ्ख्यालाई ध्यान दिएर लगानी गर्न लगानीकर्तालाई सुझाव दिए । उनले प्रत्येक लगानीकर्तालाई पहिलो चरणमा १० कित्ता वितरण गर्नुपर्ने नीतिलाई आधार मान्दा रू. १ हजार लगानी गर्दा उचित देखिए पनि निष्कासित सङ्ख्या र त्यसमा पर्न सक्ने आवेदनलाई ध्यान दिएर १० कित्ताभन्दा बढी पर्न सक्ने सम्भावना भए मात्र बढी लगानी गर्न सकिने उल्लेख गरे । १० कित्ता मात्रै दिने भए कम्पनीले न्यूनतम ५० को माग किन गर्ने भन्ने प्रश्नमा उनले निष्कासित धितोपत्रमा पूर्ण आवेदन पर्न नसक्ने आशङ्कामा यस्तो उपाय अपनाएको हुन सक्ने उनले बताए । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल सिद्धार्थ क्यापिटलका मर्चेण्ट बैङ्किङ शाखाका प्रमुख सुजनबाबु अधिकारीले कम्पनीहरूको प्रबन्धपत्रमा उल्लेख भएअनुसार न्यूनतम र अधिकतम कित्ताको आह्वान गरिने जानकारी दिए । उन्नति माइक्रोफाइनान्सको आईपीओ विक्री प्रबन्धकको काम गरिरहेको यस कम्पनीले उन्नतिको प्रबन्धपत्रमा न्यूनतम १० कित्ता भएकाले सोहीबमोजिमको आह्वान गरेको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)