ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चमेलिया जलविद्युत् आयोजना : दोस्रो युनिट पनि परीक्षण प्रसारणमा

Jan 31, 2018  
Uncategorized
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । चमेलिया जलविद्युत् आयोजना (३० मेगावाट/मेवा)को दोस्रो युनिट बुधवार रातिदेखि परीक्षण प्रसारणमा जोडिने भएको छ । परीक्षण सम्पन्न भएपछि (१५ मेवा) विद्युत् उत्पादन क्षमता भएकोे उक्त युनिट पनि राष्ट्रिय प्रसारणमा जोडिनेछ । फागुन ३ गते (फेब्रुअरी १५)मा दोस्रो युनिटको परीक्षण सम्पन्न गर्नुपर्ने तालिका रहेको थियो । तर, भारप्रेषण केन्द्रबाट माग आएका कारण कण्ट्र्याक्टरसँगको विभिन्न चरणको छलफलपछि माघ २७ (फेब्रुअरी १०)मै परीक्षण सक्ने तयारी रहेको आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ‘१० तारीखमा दोस्रो युनिटको रिलायबिलिटी टेष्ट सकिनेछ,’ उनले भने, ‘त्यसपछि दुईओटै युनिटबाट उत्पादित ३० मेवा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।’ यसअघि पुस २८ गतेबाट पहिलो युनिट राष्ट्रिय प्रसारणमा परीक्षणका लागि जोडिएको थियो । चमेलिया पिकिङ रन अफ रिभर (दिन र रातको पानी जम्मा गरी साँझ र बिहान मात्र सञ्चालन गर्ने) आयोजना हो । यसअनुसार आयोजनाले बिहान र बेलुका दुवै समयमा ६ देखि ९ बजेको बीचमा पहिलो युनिटको सञ्चालन गर्दै आएको छ । यसबाट बेलुका १० देखि १४ मेवा र बिहान १५ मेवा विद्युत् उत्पादन हुँदै आएको आयोजना प्रमुख दाहालले जानकारी दिए । दोस्रो युनिटको परीक्षण सकिएपछि पुनः दुवै युनिटको ‘लोड क्यारेक्टरिष्टिक टेष्ट’ गरिनेछ । यसबाट केही गरी एउटा युनिटमा खराबी आएर अचानक बन्द भए अर्को युनिटमा पर्ने असर (ब्याक वाटर ह्यामर)लगायत सम्बन्धमा जाँच गरिन्छ । दार्चुलाको बलाँचस्थित आयोजनाको सबस्टेशनमा अत्तरियाबाट ल्याइएको प्रसारण लाइनमा (१३२ केभी) जोडिएको छ । आयोजना गत दशैंअघि नै सम्पन्न भई विद्युत् उत्पादन थालिने भनिएको थियो । तर, बीचमा आएका प्राविधिक समस्याका कारण ढिलो भएको थियो । प्राधिकरणले अघि बढाएको उक्त आयोजनाको ठेकेदार कम्पनी चाइना गेजुवा ग्रूप अफ कम्पनिज (सीजीजीसी) रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)