माइक्रो इण्डष्ट्रिज भिलेज छिटो निर्माण गर्न महासङ्घको आग्रह
Feb 1, 2018
 
बजार
सुर्खेत । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य चन्द्रबहादुर बीसीले तत्काल माइक्रो इण्डष्ट्रिज भिलेज निर्माणको कार्य अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका छन् । उनले मङ्गलवार वीरेन्द्रनगरमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुर्खेतको पाँचौं वार्षिक साधारणसभामा यस्तो बताएका हुन् ।
सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुर्खेतले लघु औद्योगिक ग्राम ‘माइक्रो इण्डष्ट्रिज भिलेज’ छिटो सञ्चालनमा ल्याउन माग गरेको छ । नेपालमै पहिलो पटक सरकारले सुर्खेतबाट ‘माइक्रो इण्डष्ट्रिज भिलेज’ निर्माणको काम शुरू गरे पनि विभिन्न वहानामा निर्माण कार्यमा ढिलाइ भएपछि महासङ्घले यस्तो माग गरेको हो । नेपाल घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतलाई सरकारले पहिलो किस्तामा १० करोड २२ लाख रुपैयाँ निकासा गरे पनि ३ वर्षदेखि भौतिक निर्माणको काम शुरू हुन सकेको छैन ।
सो अवसरमा केन्द्रीय सदस्य बीसीले सरकारी तथा निजी साझेदारी (पब्लिक–प्राइभेट पार्टनरशीप) मा निर्माण गर्न लागिएको ‘माइक्रो इण्डष्ट्रिज भिलेज’ नेपालमै पहिलो भएको जानकारी दिए । जिल्लाका लघु उद्यमीले उत्पादन गरेका घरेलु वस्तुको उत्पादन तथा सहज विक्रीवितरणका लागि जिल्लामा साना उद्योग गाउँ (माइक्रो इण्डष्ट्रियल भिलेज) निर्माण गरेर स्वदेशी वस्तुको पहिचान दिन आवश्यक रहेको उनले औंल्याए ।
नेपाल घरेलु तथा साना उद्योग विकास समिति सुर्खेतका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेले माइक्रो इण्डष्ट्रिज भिलेज निर्माणका लागि टेण्डर खुलाइसकेर सम्झौताको प्रक्रियामा रहेको बताए । उनले माइक्रो इण्डष्ट्रिज भिलेज निर्माण यसै वर्षदेखि शुरू हुने जानकारीसमेत दिए ।
साधारणसभाले रामकृष्ण लामिछानेको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष भीमराज शर्मा खनाल, उपाध्यक्ष मायाराम न्यौपाने, सचिव सुमननाथ योगी र कोषाध्यक्षमा गगनसिंह एलजी निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरुमा नगेन्द्रबहादुर सिंह, शरदकुमार चलाउने, रगवीर मिजार, राधा श्रेष्ठ, ललिता आचार्य, हिमकुमारी उपाध्याय, श्यामबहादुर नेपाली, खगेन्द्र सुनार, कृष्णबहादुर खड्का रहेका छन् ।
सो अवसरमा रूपा भण्डारीको सभापतित्वमा सुर्खेत जिल्ला महिला उद्यमी समितिसमेत चयन गरिएको छ , समितिको वरिष्ठ उपसभापति भगवती दमाईं, उपसभापति वसन्तीकुमारी अधिकारी, सचिव भूमिसरा टमट्टा, कोषाध्यक्ष पार्वती लामिछाने, सहसचिव देवी रोकाय तथा सदस्यहरुमा बालकुमारी सुनार, रत्ना केसी र मेनुका कोइराला रहेका छन् ।