रुकुम । चौरजहारी नगरपालिकामा वडा कार्यालय र नगरपालिकाबीच विवाद बढेको छ । वडा कार्यालयमार्फत सिफारिश गरिएका निर्णय चौरजहारी नगरपालिकाको कार्यालयले नमान्दा विवाद बढेको हो । चौरजहारी नगरपालिकाका १, २, ३ र ४ नं वडामा खानेपानी आयोजना निर्माणका लागि वडा कार्यालयले गठन गरेको समितिलाई मान्यता नदिई नगरपालिकाले अर्कै समिति गठन गरेपछि विवाद शुरू भएको थियो ।
वडा कार्यालयले १, २, ३ र ४ नं वडाका उपभोक्ता भेलाबाट हिमप्रसाद शर्माको अध्यक्षतामा खानेपानी निर्माण समिति गठन गरेको थियो । तर, नगरपालिकाले उक्त समिति खारेज गरी तेजबहादुर बटालाको अध्यक्षतामा नयाँ समिति गठन गरेको थियो । यही विषयमा वडा कार्यालय र नगरपालिकाबीच विवाद भएको चौरजहारी नगरपालिका वडा नं १ का अध्यक्ष भद्रबहादुर विष्टले बताए । ‘चौरजहारी नगरपालिकाको कार्यालय वडा कार्यालयका निर्णय मिचेको छ,’ उनले भने, ‘यसले नगरपालिका र वडा कार्यालयबीच समन्वय हुन सकेको छैन ।’ तर, चौरजहारी नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत प्रदीप सुनारले भने वडा कार्यालयको निर्णयलाई हस्तक्षेप नगरिएको बताए ।
जिल्ला खानेपानी तथा डिभिजन कार्यालय रुकुमको रू. १९ करोड ५० लाख लगानीमा निर्माण हुन थालेको सुक्खाग्रस्त खानेपानी आयोजनाबाट चौरजहारी नगरपालिकाका १, २, ३ र ४ वडामा खानेपानी पुर्याउने लक्ष्य राखिएको छ । यस क्षेत्रमा भेरी नदीबाट लिफ्ट प्रविधिमार्फत खानोपानी पुर्याइने उल्लेख छ । चौरजहारी नगरपालिकाको कार्यालयलाई विकास निर्माणमा मनोमानी गरेको आरोपसमेत लागेको छ । टार खोला सिँचाइ आयोजनामा उक्त आयोजनाको विधिविधान मिचेर नगरपालिकाको कार्यालयले नयाँ कार्यसमिति निर्माण गर्दा खारेज भएको छ । नगरपालिकाले स्थानीय गणेश शर्मालाई टार खोला सिँचाइ आयोजनाको अध्यक्ष बनाएको थियो । तर, नगरपालिकाले बनाएको समिति खारेज भएर पुरानै समितिका अध्यक्ष पदमबहादुर विष्टको नेतृत्वमा रहेको समितिलाई सिँचाइ आयोजना कायम गरेको हो । टार खोला सिँचाइ आयोजनाबाट चौरजहारी नगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८ र १० नं वडामा सिँचाइ सुविधा पुग्नेछ । एशियाली विकास बैङ्कको करीब १५ करोड लगानीमा चौरजहारीमा टार खोला सिँचाइ आयोजना निर्माण भइरहेको छ ।