रुकुम । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रमा ‘लिफ्ट प्रविधि’मार्फत सिँचाइ गर्ने भएको छ । सौर्य ऊर्जाको सहयोगमा लिफ्ट प्रविधिमार्फत भेरी नदीको पानी तानी गाउँमा पु¥याइनेछ । त्यसका लागि सिँचाइ कुलो निर्माण गर्न थालिएको छ ।
नगरपालिकाको रू. ६३ लाख लगानीमा सिँचाइ कुलो निर्माण हुन थालेको हो । वर्षौंदेखि सिँचाइ कुलो नहुँदा चौरजहारी नगरपालिका–३, अम्बाचौरको सयौं बिगाघा खेतीयोग्य जमीन बाँझो हुने गरेको छ । सिँचाइ सुविधा नहुँदा चौरजहारी नगरपालिकाका २ सय घर प्रत्यक्ष प्रभावित भएका थिए । नगरपालिकाका प्रमुख विशाल शर्माले अब सो क्षेत्रमा बाह्रै महीना सिँचाइ सुविधा पुग्ने दाबी गरे ।
सिँचाई कुलो निर्माण कायक्रमअन्तर्गत हाल ट्याङकी निर्माण, पाइप जडान भइरहेको छ । फागुन पहिलो साताभित्र कुलो निर्माण हुने कार्यालयले जानकारी दिएको छ । कुलो निर्माण भएपछि खाद्यान्न बाली उत्पादनमा वृद्धि हुने स्थानीय यशोदा परियारको अपेक्षा छ । गाउँ वरिपरि पानीका मुहान नभएका कारण लिफ्ट प्रविधि प्रयोग गरिएको ३ नम्बर वडाध्यक्ष केशव बिसीले बताए ।
उनका अनुसार सिँचाइ कुलोको १ सय ५० मिटर भर्टिकल हाइट र ८ सय मिटर लम्बाइ रहेको छ । गाउँमाथि रहेको ट्याङ्कीमा पानी जम्मा गर्ने र त्यसपछि गाउँमा सिँचाइ सुविधा पुग्छ । वर्षमा मुस्किलले एक बाली मात्र खाद्यान्न बाली लगाउन बाध्य स्थानीयले सिँचाइ कुलो निर्माणसँगै बाह्रै महीना खेती लाग्ने र खाद्यान्न उत्पादनमा समेत वृद्धि हुने अपेक्षा गरेका छन् ।