वीरेन्द्रनगर । प्रदेश नम्बर ६को आर्थिक समृद्धिका लागि सुर्खेतमा प्रदेशस्तरीय महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव उद्घाटनको दिन नजिकिँदै गर्दा वीरेन्द्रनगरमा मञ्च व्यवस्थापन र भौतिक पूर्वाधारको तयारीको काम धमाधम चलिरहेको छ । माघ २६ गतेदेखि शुरू हुने महोत्सवका लागि वीरेन्द्रनगरमा रहेको खुलामञ्चमा स्टल निर्माण, मञ्च व्यवस्थापन र तारबारको काम अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।
उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ६ को आयोजनामा हुने महोत्सव १२ दिनसम्म सञ्चालन हुने र करीब १५ करोडको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् । प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि आयोजना गरिएको महोत्सवमा प्रदेशका १०ओटै उद्योग वाणिज्य सङ्घका जिल्ला शाखाको सहभागिता रहनेछ । सङ्घका जिल्ला शाखाको नेतृत्वमा १० जिल्लाबाट औद्योगिक, व्यापार, पर्यटन तथा कृषिका सामग्रीको स्टल निःशुल्क प्रदर्शनीमा राखिने उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ६ ले बताएको छ । महोत्सवमा घरेलु, लघु, कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिने उद्योग वाणिज्य सङ्घ प्रदेश नम्बर ६का अध्यक्ष पदमबहादुर शाहीले बताए ।
यस्तै यो प्रदेशमा लोपोन्मुख अवस्थामा रहेका कला र संस्कृतिको संरक्षणका लागि पनि स्थानीय कला संस्कृतिलाई पनि प्रदर्शनी गरिनेछ । ‘यो प्रदेश कला र संस्कृतिमा पनि धनी छ,’ शाहीले भने, ‘महोत्सवमा कर्णालीको संस्कृति झल्कने कला प्रदर्शन हुनेछन् ।’ आयोजकका अनुसार महोत्सवका लागि धमाधम स्टल बुकिङ भइरहेका छन् । हालसम्म सबैभन्दा बढी होटलका स्टल बुकिङ भएको बताइएको छ । महोत्सवमा ५ सय स्टल राख्ने लक्ष्य भए पनि स्थानीय व्यवसायीको सहभागिता बढेका कारण स्टलको सङ्ख्या बढ्न सक्ने अध्यक्ष शाहीले बताए । ‘महोत्सवले व्यवसाय र व्यापारीबीचको सम्बन्ध स्थापित हुने विश्वास लिएका छौं,’ शाहीले भने, ‘स्थानीय व्यापारीबाट उत्साहका साथ स्टल बुकिङ भइरहेको छ ।’
महोत्सवमा व्यवसायीको आकर्षण बढेसँगै आम्दानीमा पनि वृद्धि हुने भएकाले स्थानीय उत्पादनको खपत बढ्ने उनको भनाइ छ । प्रदेश तहका उत्पादनलाई आम उपभोक्तासम्म पुर्याउने तथा विक्रेता र क्रेताबीचको सम्बन्ध स्थापित गर्नु महोत्सवको मुख्य ध्येय रहेको उनले बताए । महोत्सवका दर्शकका लागि विगतका वर्ष झै यसवर्ष पनि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । महोत्सव सचिवालयका अनुसार स्टल बुकिङका लागि न्यूनतम १२ हजारदेखि ३० हजारसम्म शुल्क निर्धारण गरिएको छ । अटोमोबाइल, होटल तथा रेष्टुराँको स्टलका लागि ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । दैनिक उपभोग्य खाद्यान्न, तयारी कपडा, जुत्ता, चप्पल र कस्मेटिक सामग्रीको स्टलका लागि २० हजार शुल्क तोकिएको छ । महोत्सवमा मुख्य आकर्षणका रूपमा उँट र अष्ट्रिज चरा रहने बताइएको छ ।