ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साञ्जेन र रसुवागढीको आइपीओ कर्मचारीका लागि मात्र

Feb 6, 2018  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

माघ २३, काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर लिमिटेडले एकै दिन फागुन ११ गतेदेखि आइपीओ जारी गर्नेे भएका छन् । दुवै कम्पनीका विक्री प्रबन्धकका अनुसार सो मितिमा आइपीओ आउने जानकारी सहितको आह्वान पत्र माघभित्र प्रकाशित गर्ने तयारी भएको छ ।

साञ्जेन र रसुवागढीले कर्मचारीहरुका लागि मात्र आइपीओ जारी गर्न लागेका हुन । यी दुवै कम्पनीले कर्मचारी सञ्चय कोषमा कोष कट्टी गर्दै आएका कर्मचारी, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्था, कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि आइपीओ जारी गर्ने भएका हुन । रसुवागढीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह विक्री प्रबन्धकहरुमा एनआइबीएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र एनसीएम मर्चेण्ट बैङ्किङ लिमिटेड रहेका छन् भने साञ्जेनको आइपीओ विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषले गर्नेछ ।

सिद्धार्थ क्यापिटलका मर्चेण्ट बैङ्किङ शाखाका प्रमुख सुजन बाबु अधिकारीले रसुवागढीले २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताको रुपमा रहेका कर्मचारीले न्यूनतम ५० देखि अधिकत ५ सय कित्तासम्म आवेदन दिन पाउने जानकारी दिए ।

त्यस्तै, साञ्जेनको आइपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ मङ्सिर २६ गतेसम्म सञ्चयकर्ताको रुपमा रहेका कर्मचारीहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको जानकारी विक्री प्रबन्धक नागरिक लगानी कोषले दिएको छ ।

जारी पूँजी रू. ६ अर्ब ८४ करोड २१ लाख रहेको रसुवागढीले पहिलो चरणमा २४ प्रतिशतका दरले १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ कर्मचारीका लागि जारी गर्न पुस २० गते सेवोनको स्वीकृति पाएको हो ।

यस्तै साञ्जेनले पनि पहिलो चरणमा हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ६५ करोडको २४ प्रतिशतका दरले ८७ लाख ६० हजार कित्ता आइपीओ कर्मचारीहरुका लागि मात्र जारी गर्न लागेको हो । यसका लागि साञ्जेनले मङ्सिर २६ गते सेवोनको स्वीकृति पाएको थियो ।

चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीको रुपमा रहेका यी दुवै कम्पनीले पहिलो चरणमा वितरण गर्ने उक्त शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक संगठित संस्था (चिलिमे हाइड्रो, नेपाल विद्युत प्राधिकरण, रसुवा जिल्लाका स्थानिय निकाय गाविस र जिविस) का कर्मचारीका लागि ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि १ प्रतिशत शेयर वितरण गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

यसपछि कम्पनीहरुले दोस्रो चरणमा आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियका लागि १० प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत जारी गरी सर्वसाधारण तर्फको स्वामित्व ४९ प्रतिशत कायम गर्ने जानकारी दिएको छ । रसुवागढी हाइड्रोले सन् २०१९ डिसेम्बरमा सम्पन्न गर्ने गरी १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले रसुवा जिल्लामै १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेना आयोजना निर्माण गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)