वीरेन्द्रनगर । प्रदेश नम्बर ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर हुँदै तेलपानी–भुरिगाउँ बर्दिया जोड्ने सडकखण्डको निर्माणाधीन पक्की पुल ५ वर्ष बित्दा पनि अझै बन्न सकेको छैन । वराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमानामा पर्ने रानीघाटमा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीका कारण निर्माण हुन नसकेको हो ।
सो सडक खण्डको सर्वे आर्थिक वर्ष २०६४/६५ मा भएको थियो । आव २०६८/६९ मा भेरी नदीमा पक्की पुल निर्माणका लागि पप्पु मल्ल जेभी कन्ष्ट्रक्शन कम्पनी र डिभिजन सडक कार्यालय सुर्खेतबीच १४ करोड २९ लाख ७९ हजार रुपैयाँमा सम्झौता भएको हो । हालसम्म पुलको वारिपारि सपोर्ट र दुईओटा पिल्लर उठाइए पनि त्योभन्दा अन्य काम केही भएको छैन् । ३ वर्षमा निर्माण सम्पन्न गरेर पुल हस्तान्तरण गर्ने बताएको कम्पनीले आधा पनि काम नगरेको डिभिजन कार्यालयले जानकारी दिएको छ ।
२०७१ मा आएको बाढीले बीचको पिल्लर बगाएकाले पुल निर्माणमा ढिलाइ भएको डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेलले बताए । उनले २०६८ देखि पुल निर्माण जारी रहेको र निर्माण कम्पनीको म्याद थप गरिसकेकाले अबको केही दिनभित्र काम शुरू हुने जानकारी दिए । कम्पनीले काम गर्न यसअघि नै १ करोड ७६ लाख रकम पहिलो किस्तामा लगिसकेको कार्यालयको भनाइ छ । भुजेलका अनुसार अबको डेढ वर्षभित्र पुल निर्माण हुनेछ । करीब ५० किमी लामो रहेको यो सडक सुर्खेतदेखि ३२ किमी दूरीमा तेलपानीसम्म विस्तार गरिएको छ ।