पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बेरोजगार ६ सय युवालाई रोजगार दिने योजना बनाएको छ । ‘एक घर, एक रोजगार’ अभियानमार्फत गाउँपालिकाले सो सङ्ख्याका बेरोजगार युवालाई रोजगारी दिन लागेको हो । त्यसका लागि गाउँपालिकाले आवेदन माग गरेको छ । गाउँपालिकाभित्रका १८ देखि ३५ वर्ष उमेर समूहका युवालाई स्वयम्सेवकको रूपमा नियुक्ति दिइने बताइएको छ । सरकारी जागीरे युवालाई कार्यक्रममा समावेश गरिनेछैन । बेरोजगार युवालाई मासिक ६ हजार र दैनिक २५ रुपैयाँको खाजा खर्च दिनेगरी स्वयम्सेवीको रूपमा नियुक्त गरिने गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
स्वयम्सेवकलाई २ महीना शीपमूलक र व्यावसायिक तालीम दिइने गाउँपालिकाले बताएको छ । उनीहरूलाई सिकर्मी, डकर्मी, मिस्त्री, प्लम्बर, बाटो मर्मत, स्वास्थ्य, खेलकुद, नाच, गायन, नाटक, होटल व्यवस्थापन, शिक्षा, कृषि, बाँस तथा काठका सामग्री बनाउने लगायत शीर्षकमा तालीम दिइनेछ । छनोट भएका युवालाई १ महीनासम्म प्रयोगात्मक शिक्षा दिएर दक्षता निक्र्याेल गरी परिचालन गरिनेछ । ‘एक घर एक रोजगारी भन्ने नारा नै बनाएर स्थानीयस्तरमा रोजगारी सृजना गर्न लागेका हौं,’ अध्यक्ष पौडेलले भने, ‘अब श्रमका लागि बाहिरबाट कामदार मगाउँदैनौं ।’ अध्यक्ष पौडेलले कृषि, शिक्षा, पर्यटन र रोजगारीको क्षेत्रमा गर्ने कामको १० पृष्ठ लामो कार्ययोजना सार्वजनिक गरेका छन् । कृषि, शिक्षा, पर्यटनका माध्यमबाट घरघरमा आर्थिक समृद्धि र रोजगारी सृजना गर्न सकिने भएकाले यी चार क्षेत्रलाई एकअर्कासँग सम्बन्धित बनाएर योजना तय गरिएको जानकारी उनले दिए । कृषिअन्तर्गत तरकारी ढुवानीमा अनुदानको व्यवस्था भइसकेको बताइएको छ । त्यस्तै, गाउँपालिकाले टनेल, साना सिँचाइ र निःशुल्क बीउको व्यवस्था गर्नेछ । अलैंची, लप्सी, मौरीपालन, च्याउखेती, बाख्रापालन, भैंसीपालन, पाडापाडी संरक्षण जस्ता कृषिसँग सम्बन्धित कार्यक्रमलाई अनुदानको व्यवस्था गरिएको छ ।