ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सी–आस्बा फागुन ११ देखि अनिवार्य लागू

Feb 18, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । लगानीको क्षेत्रलाई सहज बनाउन धितोपत्रको सार्वजनिक निष्कासनमा सी–आस्बा प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने म्याद नजीकिँदै छ । सीडीएस एण्ड क्लीयरिङ (सीडीएससी)ले फागुन ११ देखिदेखि अनिवार्य रूपमा यो प्रणाली लागू गर्न सम्पूर्ण बैङ्क तथा वित्तीय कम्पनीहरूलाई यसअघि नै निर्देशन दिइसकेको छ । आस्बा प्रणालीलाई थप व्यवस्थित, सर्वसुलभ र चुस्त बनाउन सीडीएससीले यो प्रणाली अनिवार्य गर्न लागेको हो । यसअघि सीडीएससीले माघ ९ गतेदेखि यो प्रणाली अनिवार्य लागू गर्ने सूचना जारी गरे पनि आस्बा सेवाको अनुमति पाएका ६० भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाहरूलाई सी–आस्बा प्रणालीमा आबद्ध हुन केही समय दिनुपर्ने नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम यो प्रणाली अनिवार्य लागू गर्ने समय १ महीना पछि सरेको हो । आस्बा र सी–आस्बाबीचको फरक नेपाल धितोपत्र बोर्डले चालू आवको साउनदेखि धितोपत्र सार्वजनिक निष्कासनमा आस्बा सेवालाई अनिवार्य लागू गर्‍यो । यो सेवा प्रयोग गर्दै पहिलोपटक हिमालयन पावर पार्टनरको आईपीओ विक्री तथा बाँडफाँट भयो । आस्बा लागू भएदेखि हालसम्म हिमालयन पावर पार्टनरको मात्र शेयर सबै आवेदकले हात पारे । यसपछिको सार्वजनिक निष्कासनका क्रममा बाँडिएको शेयर भने गोलाप्रथाद्वारा भाग्यमानी लगानीकर्ताले मात्र हात पारेका हुन् । यसरी धितोपत्र सार्वजनिक निष्कासनको क्रममा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैङ्क खातामा रोक्का हुने व्यवस्था आस्बा प्रणाली हो । यो प्रणालीमा लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त सङ्कलनको अनुमति प्राप्त र आफ्नो खाता रहेको बैङ्क तथा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागि अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले धितोपत्र बोर्डले तोकेबमोजिमको ढाँचामा आवेदन फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउँछन् । लगानीकर्ताले शेयर खरीदका लागि पेश गरेको आवेदन प्राप्त गरिसकेपछि आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरेबमोजिमको शेयरबापतको रकम बाँडफाँट नभएसम्मका लागि रोक्का गरिन्छ । बाँडफाँटका क्रममा शेयर परेमा उक्त शेयरबापतको रकम विक्री प्रबन्धकको खातामार्फत निष्कासनकर्ता कम्पनीको खातामा रकमान्तर गरी बाँकी रकम फुकुवा हुन्छ । सधैं सम्बन्धित कार्यालयमा लाइन बसेर शेयरको आवेदन दिइरहेका लगानीकर्ताले आस्बा लागू भएसँगै झन्झटबाट मुक्ति पाएको बताएका थिए । पछिल्लो समय आस्बा प्रणालीलाई पनि अझ सहज बनाउन सी–आस्बा प्रणाली लागू गर्ने तयारी भएको हो । सामान्य अर्थमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्दै आएका आस्बा सेवाको एकीकृत रूप नै सी–आस्बा हो । सीडीएससीले सार्वजनिक निष्कासन भएका धितोपत्रको खरीद आवेदन प्रक्रियालाई एकरूपता कायम गर्ने उद्देश्यले यो सफ्वेयर तयार पारेको हो । यो प्रणाली अनिवार्य लागू भएसँगै सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाले सार्वजनिक निष्कासनका क्रममा प्राप्त हुने आवेदन केन्द्रीकृत रूपमा प्रविष्टि गर्नेछन्, जसले गर्दा आवेदन प्रक्रियामा एकरूपता कायम हुने सीडीएससीको विश्वास छ । यो प्रणाली लागू भएपछि लगानीकर्ताले सेवा लिन आफ्नो खाता रहेको बैङ्कमार्फत सी–आस्बामा दर्ता भई रजिष्ट्रेशन नम्बर लिनुपर्दछ । यो नम्बर प्राप्त गरी लगानीकर्ताले घरमै बसेर पनि इण्टरनेटको माध्यमबाट धितोपत्र खरीदका लागि अनलाइन आवेदन दिन सक्नेछन् । इण्टरनेटको माध्यमबाट आवेदन दिन नसक्नेहरूले सी–आस्बा सेवा प्रदायक बैङ्क तथा वित्तीय संस्थामा गएर यसअघिको आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । सी–आस्बा प्रणालीबाट केन्द्रीकृत रूपमा आवेदन सङ्कलन हुने हुँदा बाँडफाँटको अवधि आस्बा प्रणालीको भन्दा छोटो हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)