१२ करोडको कारोबार गर्दै सकियो प्रदेशस्तरीय महोत्सव
Feb 21, 2018
 
बजार
वीरेन्द्रनगर । सुर्खेतमा जारी प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४ मङ्गलवार सम्पन्न भएको छ । नेपाल वाणिज्य महासङ्घ प्रदेश–६ को आयोजनामा २६ माघदेखि शुरू भएको महोत्सव १२ करोड ६८ लाख रुपैयाँबराबरको कारोबारसहित समापन भएको हो ।
उद्योग वाणिज्य महासङ्घ प्रदेश–६ का अध्यक्ष पदमबहादुर शाहीले मेलामा भएको कारोबारको १५ दिनभित्र सार्वजनिक गरिने बताए । उनले प्रदेश समृद्धिको बलियो आधारका रूपमा जलस्रोत, उच्च मूल्य भएका कृषि उत्पादन, पर्यटन, खानीखनिज तथा जडीबुटी, स्थानीय कला संस्कृति, स्थानीय हस्तकलाका उत्पादन र व्यापार व्यवसाय प्रवद्र्धनका लागि अस्थायी राजधानीमै महोत्सव आयोजना गरिएको बताए ।
प्रदेशमा भएका सम्भावनाको खोजी गर्न तथा यस क्षेत्रमा भएका पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पु¥याउन महोत्सव आयोजना गरिएको उनले बताए । निजीक्षेत्र सरकारको सहयोगी निकाय भएकाले स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर काम गर्न उद्योगी व्यवसायी तयार रहेको उनको भनाइ थियो ।
सङ्घीय संरचना कार्यान्वयनमा आएसँगै पहिलोपटक भएको यो महोत्सवमा ६ नम्बर प्रदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीको बजारीकरणका लागि मद्दत पुगेको आयोजकले बताएको छ । प्रदेश–६ को विकास र समृद्धिका लागि पहिलोपटक सञ्चालन भएको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएको र बाहिरी जिल्लाका स्टल निःशुल्क राखिएका थिए ।
महोत्सवमा घरेलु, लघु, कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ । प्रदेश तहका उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र विक्रेता र क्रेताबीचको सम्बन्ध स्थापित गर्नु महोत्सवको मुख्य ध्येय रहेको शाहीले बताए । स्थानीय उत्पादनबाहेक बाहिरी सामग्रीको विक्रीवितरणका लागि समूहगत रूपमा शुल्क निर्धारण गरिएको थियो । महोत्सवमा दर्शकका लागि यस वर्ष पनि ५० रुपैयाँ प्रवेशशुल्क तोकिएको थियो । प्रदेशभित्रका उद्योगीबीच भावनात्मक सम्बन्ध बढाउन र उच्च मूल्य भएका निकासीयोग्य वस्तुको किनबेच हुने भएकाले पनि महोत्सव फलदायी भएको शाहीको भनाइ छ ।