ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा लघुउद्यम विकास कार्यक्रम शुरू

Feb 21, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतमा गरीब र विपन्न समुदायको जीवनस्तर उकास्न लघु उद्यम विकास कार्यक्रम शुरू भएको छ । जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकामा नयाँ उद्यमी तयार पार्ने र पहिले उद्यमी बनेकालाई प्राविधिक सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम शुरू गरिएको हो । यस वर्ष १ सय ९० जना नयाँ उद्यमी तयार गर्ने कार्यक्रमको लक्ष्य छ । लघु उद्यम विकास कार्यक्रम र ग्रामीण उद्यमशीलता केन्द्र बागलुङ तथा चौतर्फी स्रोत विकास मञ्चको साझेदारीमा घरेलु तथा साना उद्योग विकास समिति पर्वतको आर्थिक सहयोगमार्फत नयाँ उद्यमी तयार पार्ने सम्झौता भएको छ । ग्रामीण क्षेत्रमा सम्भाव्य लघु उद्यमको खोजी गरी निम्न आयस्तर भएका स्थानीयवासीलाई तालीममा प्राथमिकता दिइनेछ । जिल्लाका कुश्मा नगरपालिका, फलेवास नगरपालिकाका साथै मोदी, जलजला, विहादी, महाशिला र पैयुँ गाउँपालिकाका विभिन्न वडामा कार्यक्रम सञ्चालन गर्नेगरी स्थानीय सरकारसँग सम्झौता गरिएको छ । लघु उद्यम विकास कार्यक्रम (मेडेप)को मोडलअनुसार सामाजिक परिचालन, उद्यमशीलता विकास, स्थानीय उद्यमशीलताको अवस्था हेरेर सोहीअनुसारको शीप विकास तालीम, उत्पादित वस्तुको बजारीकरणलगायतमा सहयोग गरिने मञ्चका कार्यकारी निर्देशक गणेशबहादुर क्षेत्रीले बताए । ‘थोरै पूँजीमा गर्न सक्ने उद्यमको खोजी गरेर रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘लक्षित वर्गलाई यसले स्वरोजगार बनाउन सहयोग गर्दै आएको छ ।’ कार्यक्रमले स्थानीयस्तरको सम्भावना हेरेर बङ्गुरपालन, बाख्रापालन, कफीखेती, च्याउखेती, बाँसका सामान बनाउने, मुढा बुन्ने, होजियारी, बुटिक र विभिन्न खालका अचार बनाउने तालीम दिने गरेको छ । तालीमपश्चात् शीपअनुसारको उद्यम सञ्चालनका लागि कार्यक्रमले आर्थिक सहयोगसमेत गर्ने घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख विष्णुप्रसाद न्यौपानेले बताए । ‘गैरसरकारी संस्थासँगको सहकार्यमा विगतमा पनि यसरी नै उद्यमी सृजना गरेका थियौं,’ उनले भने, ‘गरीबी निवारणका लागि यो कार्यक्रम निकै उपयोगी देखिएको छ ।’ कार्यक्रमले प्रतिव्यक्ति आय वार्षिक २५ हजार ३ सय ८१ रुपैयाँभन्दा कम आम्दानी भएका घरपरिवारलाई समेट्ने बताइएको छ । स्थानीयस्तरमा पाइने स्रोत, बजारको माग र जनचाहनाअनुसार कार्यक्रम सञ्चालन गरिने ग्रामीण उद्यमशीलता विकास केन्द्र, बागलुङका अध्यक्ष दानमाया थापाले जानकारी दिइन् । कार्यक्रम अवधिभरका लागि रू. ७४ लाख ८ हजार २ सय ९४ रुपैयाँ खर्च गर्ने अख्तियारी छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)