वीरेन्द्रनगर । वीरेन्द्रनगर–१० सिटी बसपार्कमा ३ करोडको लगानीमा सुुविधा सम्पन्न होटल ‘चाइनागेट’ सञ्चालनमा आएको छ । सुर्खेतका होटल व्यवसायी कर्णहादुर बस्नेतको लगानीमा सो होटल सञ्चालनमा आएको हो । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेत भएसँगै सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेको छ ।
कर्णाली प्रदेशको पर्यटन विकासका लागि तथा सुर्खेतमा स्तरीय होटलको माग बढेकाले स्तरीय सेवा दिने उद्देश्यले होटल सञ्चालनमा ल्याएको सञ्चालक बस्नेतले भनाइ छ । वीरेन्द्रनगर–६ गोदाम लाइनमा रेष्टुराँ चलाउँदै आएका बस्नेतले राजधानीमा सुविधा सम्पन्न होटल कम हुँदा बाहिरबाट आउने ग्राहकलाई सुविधाका लागि होटल सञ्चालन गरिएको बताए ।
होटलमा स्थानीय परिकारका साथै कर्णालीको विशेषता झल्किने खानाका परिकार राखिएका छन् । कर्णाली नदीको सुकेको माछा, चाउमिन, नेपाली खानाका साथै अर्डरअनुसार खाना र नास्ता तयार गरिने सञ्चालक बस्नेतले जानकारी दिए । होटलमा ग्राहकको चाहनाअनुसार परिकार तथा इण्डियन, चाइनिज, कण्टिनेण्टल खानाको स्वाद लिन सकिने व्यवस्था छ । होटलमा प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ जनाले रोजगारी पाएका छन् । होटलमा सुविधा सम्पन्न १८ ओटा कोठा रहेका छन् । एकै पटकमा ६० जनासम्मलाई खाना तथा नास्ता खुवाउन सकिने व्यवस्था रहेको छ । होटलमा सुविधा सम्पन्न हल तथा कटेजको समेत व्यवस्था गरिएको छ । होटलमा २ सय जनाभन्दा बढीलाई पार्टी दिन सकिने सुविधा सम्पन्न हलको व्यवस्थासमेत रहेको बस्नेतले जानकारी दिए ।