ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिस्पर्धाबाट उद्यमशीलतामा जोड दिँदै युनिग्लोब कलेज

Mar 2, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । गेटबाट पस्नासाथ ग्राउण्डमा होलीका सामग्रीको स्टलदेखि कस्मेटिक, अग्र्यानिक तरकारी, रेष्टुराँलगायत स्टलहरूमा सामान खरीद गर्न झुम्मिएका ग्राहक देख्दा कुनै हाटबजारझैं देखिन्थ्यो । स्टलबाट ‘यता आउनुस्’ भन्दै ग्राहकलाई बोलाउँदै थिए । ती व्यवसायीले बैङ्कबाट ऋण लिएर होइन ३० दिनमा फर्काउने शर्तमा कलेजबाट १० हजार रुपैयाँ निर्ब्याजी रकम लिएर व्यवसाय शुरू गरेका थिए । यो सर्वसाधारणले राखेको हाटबजार नभई युनिग्लोब कलेजले स्नातक तहका व्यवस्थापन सङ्कायका विद्यार्थीका लागि कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउन आठओटा उद्यमशील समूहबीच गरिएको ‘उद्यमशीलता प्रतिस्पर्धा’ हो, जसमा ‘ह्याप्पी पराठा’ समूहले पराठा, अचार, तरकारी चिया, चटपटेलगायत परिकार विक्री गरिरहेका छन् । ‘फूडी युनिग्लोब’ समूहले चिकेन र बफ मःमःलगायत परिकार, ‘हाम्रो राम्रो स्टल’ समूहले चिकेन ससेस, जेरी, पुरीलगायत प्रत्येक दिन फरकफरक परिकार र ‘स्टिक हाउस प्लान’ले स्टिकमा चिकेन बफ ससेस, च्याउलगायत परिकार विक्री गरेका छन् । ‘यम्मी युनिग्लोब चाट’ समूहले चाट, ‘द अर्गानिक’ समूहले काभ्रेबाट ल्याइएको अर्गानिक तरकारी, ‘होली टीसर्ट’ समूहले होलीका सामग्री, ‘ग्ल्याम लष्ट’ समूहले कस्मेटिक प्रोडक्ट प्रदर्शनीमा राखेका छन् । उक्त समूहमध्ये केहीले कलेजबाट लिएको कर्जामा बजेट थपेर व्यापार विस्तार गरेका छन् । कलेजपरिसरमा सञ्चालित यो व्यापारमा प्रायः कलेजकै शिक्षक, विद्यार्थी, कर्मचारी ग्राहक रहेका छन् । प्रत्येक समूहले कलेजपरिसरमा यस्तो प्रतियोगिता गर्दा पनि व्यापार धेरथोर नाफामै गइरहेकाले उनीहरू देखिन्छन् । उनीहरूले यसबाट आफूले व्यवसायको कला सिद्धान्तसँगै व्यवहारमा सिक्ने अवसर मिलेको बताए । विद्यार्थीले यो प्रतिस्पर्धामा सहभागी हुँदा बिजनेश प्लान प्रस्तुत गरेअनुसारको रिपोर्ट बुझाउनुपर्नेछ । उत्कृष्ट समूहलाई निर्णायकले विजेता घोषणा गर्ने बताइएको छ । विद्यार्थीलाई व्यवहारमा अभ्यस्त र सक्रिय बनाउन कलेजले प्रत्येक वर्ष यस्ता कार्यक्रमको अवसर जुटाउने गरेको कलेजका कार्यक्रम निर्देशक आशिषकुमार मिश्रको भनाइ छ । फागुन १३ गतेदेखि शुरू भएको उक्त कार्यक्रम १९ गते शनिवारसम्म चल्नेछ । कलेजले उद्यमशीलता प्रतिस्पर्धाको साथमा साताव्यापी ‘म्यानेजमेण्ट फेष्ट’ कार्यक्रमअन्तर्गत १० ओटा फरक विधाका प्रतिस्पर्धाको आयोजना गरेको छ । व्यवस्थापन सङ्कायको बीबीए, बीबीए–बीआईका सबै विद्यार्थीलाई समेट्ने र उनीहरूलाई अध्ययनपछि बजारमा जागीर तथा उद्यमशीलताबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले प्रिजेण्टेशन, क्विज, ट्याग द ब्राण्ड, आइडिया पिचिङ, बिजनेश वादविवाद, केस एनालाइसिस, म्याड याड, बिजनेश प्लान, पब्लिक स्पिकिङ आदि विषयमा प्रतिस्पर्धा गराइएको कलेजका सहायक कार्यक्रम संयोजक दिवाकर विष्टले बताए । उनका अनुसार कुनै एक विषयमा विद्यार्थीले स्लाइड तयार गरी प्रस्तुत गरेको प्रिजेण्टेशन प्रतिस्पर्धामा प्रत्येक समूहमा पाँच जना विभाजित भई १९ ओटा समूहबाट बीबीए सातौं सेमेष्टरका खुस्बु थापा पुल्मी, योगेश्वरी पन्त, सुजाता खनाल, रुची चटौत र रक्षा कोइराला प्रथम भएका छन् । प्रत्येक समूहमा तीन जना रहेको क्विज प्रतिस्पर्धामा १२ ओटा समूह सहभागी थिए । यो प्रतिस्पर्धामा अनुपमा भट्टराई, शिखा गौतम र डेबिड घिमिरे विजेता भए । यसैगरी, विश्वभरका व्यावसायिक कम्पनीबारे विद्यार्थी कत्तिको जानकार रहेछन् भनेर गरिएको ‘ट्याग द ब्राण्ड’ प्रतिस्पर्धामा तीन जना रहेको २७ ओटा समूहमा बीबीए–बीआई पहिलो सेमेष्टरका रेखा कार्की, ऋषि रञ्जन मल्लिक र स्वेच्छा चौधरीको समूह प्रथम भयो । २२ जना विद्यार्थीले व्यवसायसम्बन्धी आइडिया प्रस्तुत गर्ने आइडिया पिचिङ प्रतिस्पर्धामा वैजु शाह उत्कृष्ट भएकी छिन् । यसैगरी बिजनेश डिबेट प्रतियोगितामा तीन जनाको नौओटा समूहमध्ये बीबीए तेस्रो सेमेष्टरका सुस्मीता कोइराला, अमृता पन्त र लिजा शाक्यको समूह विजयी भएको छ । यस्तै, केस एनालाइसिस प्रतियोगितामा प्रत्येक समूहमा पाँच जनाको १७ ओटा समूहमध्ये बीबीए तेस्रो सेमेष्टरका सिनिन नकर्मी, अमृता पन्त, लिसा शाक्य, समीक्षा कँडरियाको समूह प्रथम भएको छ । प्रत्येक तीन जना रहेको १५ ओटा समूहमध्ये म्याडयाड प्रतिस्पर्धामा सुस्मिता कोइराला, प्रियङ्का घिमिरे र रतिकला चौधरीको समूह विजयी भयो । उक्त प्रतियोगितामा सहभागीले कुनै एक प्रडक्टको विज्ञापनको प्रदर्शन गरेका थिए । यस्तै, उद्यमशीलतामा जोड दिने बिजनेश योजना प्रतिस्पर्धामा सहभागी प्रत्येकमा तीन जना रहेको नौओटा समूहकोे निर्णय भने हुन बाँकी रहेको आयोजकले बताए । विद्यार्थीलाई उद्यमशीलतामा प्रोत्साहन गर्न कलेजले आयोजना गरेको यस्तो प्रतियोगिता प्रभावकारी बन्दै गएको दाबी गरिएको छ । कलेजका कार्यक्रम निर्देशक मिश्रका अनुसार गतवर्ष आयोजित यस्तै कार्यक्रमबाट आकर्षित भएर एक विद्यार्थीले अहिले पाँच जना कर्मचारी राखेर आफ्नै उद्यम थालेको उदाहरणसमेत छ । यसैले विद्यार्थीलाई प्राक्टिकल गर्ने थलो यसरी बनाउँदै आएको उनको भनाइ छ । उद्यमशीलता प्रतियोगितामा प्रायः स्टक कलेजपरिसरमा सीमित नभई आसपास र अनलाइनमार्फत योजनाबद्ध रूपमा विद्यार्थीले व्यापार विस्तार गरिरहेको उनले बताए । यसले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै कला तथा दक्षतालाई जीवनमा कार्यान्वयन गर्न प्रोत्साहन गर्ने उनको तर्क छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)