ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याक : त्रिदेशीय सडक निर्माणमा ढिलाइ

Mar 7, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रिदेशीय सडक सञ्जाल निर्माणमा ढिलाइ भएकोमा सुर्खेतका स्थानीय बासिन्दाले गुनासो गरेका छन् । भारतको तिकुनिया–कतरनियाघाट हुँदै बर्दियाको राजापुर–कैलालीको चिसापानी–गुटु–मङ्गलसेन–बाजुरा–हुम्लाको हिल्साबाट तिब्बत जोड्ने त्रिदेशीय सडक सञ्जाल निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको उनीहरूको आरोप छ । ‘अब १५ किलोमिटर सडक निर्माण भए अछामको मङ्गलसेन जोडिन्छ,’ चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले भने, ‘मङ्गलसेन–बाजुरा–हुम्लाको हिल्सा हुँदै यो सडक चीनको तिब्बतसँग जोडिन्छ ।’ हालसम्मका त्रिदेशीय सडक सञ्जालमध्ये यो सडक सरल र छोटो दूरीको पर्ने उनले बताए । स्थानीयले ४ दशकदेखि कैलालीको चिसापानी–गुटुु–मङ्गलसेन–बाजुरा–हुँदै हुम्लाको हिल्सा सडक विस्तारको माग गर्दै आएको चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्मला राना मगर बताउँछिन् । ‘अछाम सडक सञ्जालले बाजुरासँग अहिले पनि जोडिएको छ,’ उनले भनिन्, ‘सुर्खेतबाट अछाम हुँदै बाजुरा र हुम्ला हुँदै यहाँको सडक तिब्बत जोडिन्छ ।’ यहाँको सडकलाई स्थानीय जनताले मात्रै नभई केन्द्रले पनि महŒवका साथ हेर्नुपर्ने उनको माग छ । ‘कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँ–गुटुमा सडक विस्तार भएको छ,’ गुटुका समाजसेवी काशीराम देवकोटाले भने, ‘सडकलाई त्रिदेशीय सडक सञ्जाल बनाए मध्यपहाडी लोकमार्गसँग यो सडक जोडिन्छ ।’ हाल निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी लोकमार्गले सुर्खेतलाई नछुने भन्दै जिल्लाका सरोकारवालाहरू त्रिदेशीय सडक सञ्जाल विस्तार भए मध्यपहाडी लोकमार्गमा सुर्खेत हुँदै तराईका जिल्लामा समेत जोड्न सकिने बताउँछन् । ‘कैलाली–सुर्खेत–अछाम–बाजुरा–हुम्ला सडकले ३ देशसँगै धार्मिक आस्थालाई पनि जोड्छ,’ कर्णाली प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले भने, ‘मानसरोवर आएका पर्यटकलाई भेरी–कर्णालीको ¥याफ्टिङसँगै प्यूठानको स्वर्गद्वारी, मुक्तिनाथसम्मको यात्रा गराउन सकिन्छ ।’ राजनीतिक दलको एजेण्डामा परेन सडक सामरिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण मानिएको त्रिदेशीय चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याकबारेको महत्त्व कुनै पनि राजनीतिक दलले बुझ्न नसकेको गुटुका समाजसेवी देवबहादुर थापा बताउँछन् । सरकारले २ वर्षदेखि सडक निर्माणमा तीव्रता दिए पनि सुर्खेत खण्डमा अझै ट्र्याक खोल्न बाँकी छ । सरकारले चालू आर्थिक वर्षमा घाटगाउँ–गुटु–साल्म–जङ्गलाघाट सडक निर्माणका लागि १० करोड रकम विनियोजन गरेको छ । त्यस्तै, कैलालीको सुँगरखाल र घाटगाउँको चिप्लेमा कर्णाली नदीमाथि साढे ४ सय मिटर लामो मोटरेबल पुल निर्माणका लागि २२ करोड रुपैयाँ छुट्याइएको पूर्वसांसद नरबहादुर विष्टले जानकारी दिए । भारतीय सीमासँग जोडिएको बर्दियाको कतरनिय र कैलालीको सतीको बीच भागमा पर्ने कतरनिय नाकामा ‘सुक्खा बन्दरगाह’ बनाउनुपर्ने यसका क्षेत्रका स्थानीयको माग छ । सो फाष्ट ट्र्याकलाई बहुवर्षीय योजनामा राखिएको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेल बताउँछन् । उनले कर्णाली कोरिडोरलाई समेत समेट्ने गरी उक्त फाष्ट ट्र्याक निर्माण गर्दा त्रि–देशीय सडक सञ्जालको सपना छिट्टै साकार हुने बताए । घुमाउरो, जोखीमपूर्ण र बढी समयबाट बच्नका लागि सुरुङ मार्गलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । यस क्षेत्रका प्रतिनिधिसभा सांसद नवराज रावतले फाष्ट ट्र्याक निर्माणका लागि संसद्मा आवाज उठाउने बताए । फाष्ट ट्र्याक निर्माणपछि सुर्खेत, अछाम, कैलाली बाजुरा, डोटी र कर्णाली अञ्चलका ४ जिल्लाका ३० लाखभन्दा बढी जनता लाभान्वित हुने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)