धनगढी । प्रदेश नम्बर ७ मा १० लाख ६० हजार ७ सय ४८ व्यक्ति गरीबीको रेखामुनि रहेको पाइएको छ । यो तथ्याङ्क नेपालमा गरीबीको रेखामुनि रहेको कुल जनसङ्ख्याको करीब आधा बराबर हो । नेपालको जनगणना २०६८ अनुसार २५ लाख ५२ हजार ५ सय १७ व्यक्ति गरीबीको रेखामुनि छन् ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८का अनुसार कैलालीमा सबैभन्दा बढी २ लाख ५६ हजार ८ सय ३१ तथा सबैभन्दा कम डडेल्धुरामा ६० हजार ९ सय व्यक्ति गरीबीको रेखामुनि छन् । राष्ट्रिय मान अधिकार आयोगका अनुसार अन्य प्रदेशभन्दा गरीबी र रोजगारीको सबैभन्दा कम अवसर यसै प्रदेशमा देखिएको छ । सोही कारण रोजगारीको खोजीमा वर्षेनि बाहिरिनेको सङ्ख्या बढ्दै गएको छ ।
श्रम कार्यालय सेतीका अनुसार १ वर्षको अवधिमा सेती अञ्चलमा मात्रै आफू बेरोजगार भएको भन्दै १२ हजारले नाम टिपाएको तथ्याङ्क छ । दक्ष, अर्धदक्ष र अदक्ष गरी उक्त सङ्ख्यामा बेरोजगारी लगत सङ्कलन भएको हो । प्रदेशमा प्रतिव्यक्ति आय ६ सय ८५ अमेरिकी डलर रहेको छ । उद्योग तथा कलकारखानाको विकास अपेक्षाकृत हुन नसक्दा प्रदेशमा गरीबीको आँकडा बढ्दै गएको अर्थविद् शिवहरि मुडभरी बताउँछन् । प्रदेश सरकारी यिनै आँकडाहरूको अध्ययन गरी आर्थिक विकासको खाका कोर्न सके मात्रै प्रदेशको गरीबी र रोजगारीमा वृद्धि ल्याउन सकिने निजी क्षेत्रको भनाइ छ ।