जनता आवास कार्यक्रम : घर छाउन ढिलाइले त्रिपालमुनि वास
Mar 7, 2018
 
प्रदेश समाचार
रौतहट । जनता आवास कार्यक्रमअन्तर्गत निर्माणाधीन घर छाउनै ढिलाइ भएपछि रौतहटको अति विपन्न वर्गका बासिन्दाको दिनचर्या कष्टकर बनेको छ । यसअघि बस्दै आएको झुपडी भत्काएर जनता आवासले थालेको पक्की घर निर्माण अधुरै छ । गौर नगरपालिका–८ ढाँगर बस्तीका प्रभावित कतिपय बासिन्दा प्लाष्टिक टाँगेर त कोही त्रिपालमुनि बसिरहेका छन् । नयाँ घर पाउने आशामा पुरानो भत्काइए पनि समयमा बन्न नसक्दा उनीहरू चिन्तित छन् ।
रौतहटमा २०७३ चैतमा सर्भे गरी २०७४ जेठबाट घर बनाउन थालिएको हो । तर, करीब ९ महीना बितिसक्दा पनि घर तयार नभएकोले त्रिपालमुनि बास बस्नुपरेको स्थानीय भुटियादेवी ढाँगरले बताइन् । साउन अन्तिममा आएको बाढी र त्यसपछिको शीतलहरमा पनि त्रिपालमुनि बसेका र अझै घर पूरा नहुँदा आफूहरू निराश भएको गुनासो उनले गरिन् । निर्माण हुँदै गरेको घर कसले किन अलपत्र छाडेको हो र घर कसले बनाउँदै छ भन्ने पनि धेरै दलित परिवारलाई जानकारी छैन ।
विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले जनता आवास कार्यक्रम सञ्चालन गरिएको हो । मुसहर समुदाय बसोवास गर्दै आएका झुपडीसमेत नभएकोले तत्काल निर्माण गर्नुपर्ने नेपाल राष्ट्रिय मुसहर सङ्घका केन्द्रीय उपाध्यक्ष नथुनी माझीले बताए ।
प्रतिघर २ लाख १४ हजार ७ सय रुपैयाँको लागतमा सरकारले तराई मधेशका जिल्लामा जनता आवास कार्यक्रममार्फत घर बनाइदिन लागेको हो । रौतहटमा विपन्न समुदायका लागि एक हजार घर स्वीकृत भएको जनता आवास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय गौरका सबइञ्जिनीयर अजयकुमार यादवले बताए । उनका अनुसार जिल्लामा ९ सय २१ घर छनोट गरिएको छ । तीमध्ये ८ सय १६ घरको जग खनिसकिएको छ भने ७ सय ३० घरको डीपीसी लेभल सम्पन्न भएको छ । त्यस्तै, ४ सय ४७ घरको गारोको काम सकिएको छ । स्थानीयस्तरमा उपलब्ध हुने निर्माण सामग्री र प्रविधि उपयोग गरी भूकम्प प्रतिरोधी आवास निर्माण भइरहेको जनता आवास कार्यक्रम, कार्यान्वयन एकाइ कार्यालय गौरले जानकारी दिएको छ ।