धनगढी । प्रदेश नम्बर ७ मा पर्यटकलाई लक्षित गरी होटल खुल्ने क्रम बढ्दै गएको छ । यस प्रदेशका बाजुरा र बझाङबाहेक सातओटा जिल्लामा पर्यटकलाई लक्षित गरी होटल खुल्ने क्रम बढ्दै गएको हो ।
आर्थिक वर्ष २०७१/७२ मा सातओटा जिल्लामा २८ ओटा होटल सञ्चालनमा आएका थिए । २०७२/७३ मा होटलको सङ्ख्या वृद्धि भएर ३४ पुगेको थियो । ती होटलमा ९ सय ७५ पर्यटक बस्न सक्ने गरी क्षमता वृद्धि गरिएको छ । १ हजार १ सय १६ पर्यटकले बास बस्न सक्ने गरी प्रदेशका ७ ओटा जिल्लामा होटल खुल्ने क्रम बढ्दै गएको हो ।
सबैभन्दा बढी पर्यटकलाई लक्षित गरी कैलालीमा होटल सञ्चालनमा आएका छन् भने दोस्रो नम्बरमा कञ्चनपुर छ । कैलालीमा होटल रुवस, डीभोटी, दिनेश, जलसा, जगदम्बा, साथी, फ्लोरा, विद्या, रेडसन, होटल सेण्टर प्वाइण्ट, सिद्धार्थलगायत छन् भने कञ्चनपुरमा ओपेरा, गङ्गोत्री, शुक्लाफाँटा जङ्गल कटेज, न्यू आनन्द, वेष्ट साइनलगायत सञ्चालनमा छन् ।
कैलालीमा २१ करोड रुपैयाँ तथा कञ्चनपुरमा १५ करोड रुपैयाँसम्म लगानी भएका होटल सञ्चालनमा छन् । कैलालीमा साना–ठूला होटलमा गरी झण्डै ३ अर्ब लगानी पुगेको छ भने कञ्चनपुरमा २ अर्बको हाराहारीमा होटलमा लगानी भइसकेको छ । डोटीमा १ अर्ब तथा अन्य पहाडी जिल्लामा झण्डै २ अर्बको हाराहारीमा लगानी भइसकेको निजी क्षेत्रको भनाइ छ । थ्रीस्टार सुविधासरहका होटल ७ नम्बर प्रदेशमा खुलिसकेको व्यवसायी बताउँछन् ।