पर्वत । कुश्मा–ज्ञाँदी झोलुङ्गे पुल बनेपछि कटुवाचौपारीका दया शर्मा लामिछानेले २०६६ सालदेखि गाई पाल्न थाले । उनको घरबाट सदरमुकाम आउन पहिले १ घण्टा लाग्थ्यो । पुल बनेपछि भने उनको घरबाट सदमुकाम आउन ७ मिनेट लाग्छ । पुल बनेपछि सदरमुकाममा दूध पु¥याउन उनलाई सहज भएपछि व्यवसाय फस्टाउन थाल्यो ।
उनले हाल ५ ओटा गाई पालेर दैनिक सदरमुकाम कुश्मामा दूध विक्री गर्छन् । पुल बनेपछि पशुपालन र तरकारी मात्रै नभएर अन्य व्यवसाय गरेर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि बढेको छ । साथै, ज्ञाँदी क्षेत्रबाट उच्च शिक्षाका लागि सदरमुकाम अध्ययन गर्न आउने विद्यार्थी उत्तिकै छन् । सदरमुकाममा डेरा लिएर बस्नुपर्ने बाध्यता हटेपछि विद्यार्थीका परिवारमा आर्थिक भार घटेको छ ।
पुल बनेपछि होटल व्यवसाय, कुखुरापालन, फर्निचर उद्योग, घरेलु हस्तकलाका सामग्री उत्पादन, सिलाइकटाइ, होजियारीलगायतमा लाग्ने युवाको सङ्ख्या उत्तिकै छ । पुलले प्रत्यक्ष प्रभाव पार्ने कुश्मा र फलेवास नगरपालिकाका दर्जन बढी गाउँमा यो पुल समृद्धिको संवाहक बनेको छ । पुल हेर्नकै लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण हुने व्यवसायले धेरै परिवारले रोजगारी र आम्दानी गरेका छन् । पुल आसपासमा ५० भन्दा बढी ससाना होटल फस्टाएका छन् ।
पछिल्लो समय बनेका कुश्मा–बलेवा र कुश्मा–मुडिकुवा पुल पर्यटकका लागि थप आकर्षण बनेका छन् । अहिलेसम्म पर्वतमा बनेका ३ ओटै पुल मुलुककै अग्ला र लामा हुन् । मोदीखोला र कालीगण्डकी किनार र माछापुच्छे«, अन्नपूर्ण, धवलागिरिलगायतका हिमालको रमणीय दृश्यावलोकन एकैसाथ गर्न पाइने यहाँको थप आकर्षण हो । अग्ला झोलुङ्गे पुल, कुश्मा–बलेवा केबलकार, कुश्मा आसपासका गुप्तेश्वर र अलपेश्वर गुफा, मोदीवेणीधामको दर्शन गर्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको होटल व्यवसायीहरूले बताएका छन् ।