सुर्खेत । निजीक्षेत्रले कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनमा अग्रगामी कदम चालेको छ । पहिलोपटक यस क्षेत्रका पर्यटन व्यवसायीले पर्यटकलाई आकर्षित गर्न हवाईजहाज भ्रमणदेखि र्याफ्टिङ, प्याराग्लाइडिङसम्मको प्याकेज अफर ल्याएका छन् । मानसरोवर जाने धार्मिक पर्यटकसँगै कर्णाली र प्रदेश–७ को बाजुरासम्मका हवाईयात्रुलाई लक्षित गरी यात्रा सहज बनाउन निजीक्षेत्र लागेको छ ।
कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनका लागि रारा एड्भेञ्चर, भेरी–कर्णाली र्याफ्टिङ एड्भेञ्चर, कर्णाली–भेरी र्यापिड एड्भेञ्चर र वेलकम प्याराग्लाइडिङ जुटेका छन् । ती निजी पर्यटन कम्पनीले गोमा एयरसँगको सहकार्यमा सुर्खेत तथा नेपालगञ्जदेखि प्याकेजमै मुगुको रारा भ्रमण, डोल्पाको से–फोक्सुण्डो, मानसरोवर जानेका लागि हुम्ला र जुम्लासम्मको भ्रमणका लागि चैत पहिलो सातादेखि टिकट बुकिङ खुला गरेका छन् ।
रारा एड्भेञ्चरसँगै भेरी–कर्णाली र्यापिड एड्भेञ्चरले संयुक्त रूपमा कर्णालीमा पर्यटन गतिविधि अगाडि बढाउन गोमा एयरको १८ सिटे हवाईजहाजबाट मुगुको रारा ताल भ्रमणको तीन दिने प्याकेजका लागि रारा १७ हजार ९ सय ९९ रुपैयाँ प्रतिव्यक्ति सार्वजनिक गरिएको छ ।
राराताल घुम्न ६ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क घोडाको व्यवस्था रहेको र्यापिड एड्भेञ्चरका सञ्चालक समुन्द्र गौतमले बताए । उनले सुर्खेत र नेपालगञ्जदेखि राराका लागि गोमा एयरको नियमित उडान गर्ने व्यवस्था मिलाइएकाले पर्यटकलाई कुनै समस्या नहुने दाबी गरे ।
भेरी नदी पुलदेखि कर्णाली चिसापानी पुलसम्मको तीन दिने र्याफ्टिङ प्याकेज प्रतिव्यक्ति १५ हजार रुपैयाँ तोकिएको छ । त्यसमा तीन दिने प्याकेजभित्र दुई रात नाइट क्याम्प, खाना, नास्ता, यातायात र बोटिङसमेतको व्यवस्था रहेको छ । मेहलकुनादेखि भेरी पुलसम्मको २१ किलोमिटरलाई पहिलो खण्ड र भेरी नदीदेखि रानीघाटसम्मको २४ किलोमिटरको दूरीलाई दोस्रो खण्डका रूपमा विभाजित गरिएको छ । मेहलकुना पुलदेखि भेरी पुल तथा भेरी पुलदेखि रानीघाटसम्मको ¥याफ्टिङका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तोकिएको गौतमले जानकारी दिए । गृहिणी तथा विद्यार्थीका लागि विशेष छूटसमेत व्यवस्था गरिएको उनले बताए । त्यस्तै, प्याराग्लाइडिङबाट गोठीकाँडादेखि वीरेन्द्रनगर भ्याली भ्रमणका लागि फोटो र भिडियोसहित ६ हजार ५ सय रुपैयाँ तोकिएको उनको भनाइ छ ।
प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदमबहादुर शाहीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि भेरी नदी महत्त्वपूर्ण गन्तव्य बन्दै गएको बताए । ‘भेरीमा र्याफ्टिङ शुरू भएको चार वर्षयता उल्लेख्य मात्रामा बाह्य पर्यटक सुर्खेतमा भित्रिएका छन्,’ अध्यक्ष शाहीले भने, ‘यसलाई अझै प्रचार–प्रसारमा ल्याउन जरुरी छ ।’ अध्यक्ष शाहीले भारतीय पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले र्याफ्टिङले कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण देन रहेको बताए ।