रौतहट । रौतहट जिल्लाका ग्रामीण क्षेत्रमा लाग्ने हाटबजार सडकको नजिक हुने गरेकाले आवतजावतमा समस्या हुने गरेको छ । स्थानीयको हाटबजारप्रति आकर्षण बढ्दै गए पनि सडकनजिकमा नै हटिया लाग्ने गरेकाले सवारीसाधन आवागमनमा समस्या पर्ने गरेको हो ।
चन्द्रनिगाहपुर–गौर राजमार्गको सडकखण्डनजिक अधिकांश हाटबजार लाग्ने गरेका छन् । सडकका दायाँबायाँ दुवैतिर व्यापारीले सामान राखेर बिक्री गर्ने गरेकाले सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको सवारीचालक राजन कार्कीको गुनासो छ । हाटबजारका दिन मानिसको भिडभाड हुने र सवारीको चाप पनि बढेका बेला सवारी चलाउन कठिनाइ हुने गरेको उनले बताए । प्रायः प्रत्येक दिन सो सडकखण्डमा पर्ने विभिन्न चोकमा हाटबजार लाग्ने गरेको उनको भनाइ छ । सो सडकखण्डमा पर्ने प्रत्येक चोकचोकमा साताको दुई दिन हाटबजार लाग्ने गर्छ । गाउँघरमा उत्पादित सामान विक्री–वितरण गर्न तथा दैनिक उपभोग्यसहित अन्य सामग्री खरिद गर्न हाटबजार सजिलो भएकाले स्थानीय आकर्षण भने बढ्दै गएको छ । हाटबजारले स्थानीयको जीवनयापनलाई सहज बनाए पनि बजार व्यवस्थित नहुँदा समस्या भएको स्थानीय मनोज चौधरीले बताए । दैनिक उपभोग्य सामानदेखि लत्ताकपडा, जुत्ता–चप्पलदेखि सिँगारका सामग्रीसहित आवश्यक सम्पूर्ण सामान गाउँमै लाग्ने हाटबजारमा पाइने गरेको उनको भनाइ छ । तर, सडक नै कब्जा गरी हाटबजार लाग्ने गरेकाले समस्या भने देखा परेको उनको गुनासो छ । गाउँमा उत्पादन भएका तरकारी तथा फलफूल अहिले हाटबजारमै खपत हुने गरेको व्यापारी बताउँछन् । तर, हाटबजार सडकमा लाग्ने गरेकाले सवारी आवागमनमा समस्या भएको यमुनामाई गाउँपालिका प्रमुख श्रीप्रसाद मुखियाले बताए ।
राजमार्गमा बजार नलगाउन पटकपटक अनुरोध गर्दासमेत बेवास्ता गरेको उनको भनाइ छ । प्रत्येक वडाका मुख्य सडकमा हाटबजार लाग्ने गरेको उनले बताए । यसलाई व्यवस्थित गर्न गाउँपालिका लागिपरेको उनको भनाइ छ । सडक बन्द गरी जिल्लाभर झन्डै २ सयभन्दा बढी स्थानमा बजार लाग्ने गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेकाले यस्ता समस्याको समाधान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा बताउँछन् । उनले अहिलेसम्म प्रशासनमा यस्ता गुनासा वा समस्या नआएको बताउँदै यस विषयमा सम्बन्धित नगरप्रमुखसँग छलफल गर्ने बताए ।