पर्वत । पर्वतमा लामो समय वर्षा नहुँदा धेरैजसो किसानले हिउँदे खेती लगाउन पाएका छैनन् । मौसमी सिँचाइको भरमा खेती हुने जिल्लाको उपल्लो र सुक्खा टारक्षेत्रका बारीमा खेती लगाउन नपाएपछि वर्षभरि खाने अन्नको जोहो गर्न मुस्किल पर्ने किसानहरूले
बताएका छन् ।
जलजला–६, शलिजाका बेलबहादुर पुनले तोरी लगाउन जोतेको बारी बेकामे भएको बताए । ‘कोदो पाकेपछि मङ्सिरमा बारी जोतखन गरेर पुसे झरीपछि गहुँ–तोरी लगाइन्थ्यो,’ पुनले भने, ‘अहिले एक थोपा पानी परेन । जोतेको बारी खरानी भइसक्यो ।’ गहुँ, जौ, आलुलगायत बालीले खाद्यान्नको आधा भार थाम्ने उनको परिवार अहिले समस्यामा छ ।
हिउँदे खेतीका लागि आकाशे पानीको भर पर्नु पर्ने जिल्लाको करीब ६० प्रतिशत खेतीयोग्य क्षेत्रका किसानले हिउँदे खेती लगाउन पाएका छैनन् । गत असोजको पहिलो सातादेखि आकाशे वर्षा भएको छैन । खेतीयोग्य जमीनको दुई तिहाइभन्दा बढीमा खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने कारण यो वर्ष हिउँदे खेती उत्पादन घट्ने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा खाद्यान्नको ५० प्रतिशत बढी माग हिउँदे उत्पादनले धानेको छ । २८ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये ९ हजार हेक्टरमा मात्रै वर्षे धान फल्छ । १५ हजार हेक्टर पाखोबारी छ । सबै सिजनमा सिँचाइ हुने जमीन ३ हजार हेक्टर छ । तर, सिँचाइ पुगेर पनि बाँझिएको जमीन धेरै छ ।
‘सिँचाइयोग्य जमीन बाँझो राख्नेलाई कारबाही गर्ने नियम ल्याइयो । तर, कारबाही हुनै सकेन,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘सहज सिँचाइ हुने धेरैजसो जमीन बाँझिएको छ । सिँचाइ नहुने ठाउँका किसानले खेती गर्न पाएका छैनन् ।’ सबै सिजनमा सिँचाइ हुने जमीन बाँझो राख्नेलाई कारबाहीस्वरूप २०७२/७३ को जिल्ला परिषद्ले कारबाही स्वरूप प्रतिरोपनी ५० रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको थियो । तर, हालसम्म १ रुपैयाँ पनि राजस्व सङ्कलन गर्न सकेको छैन ।