पर्वत । चित्रेका नरजङ गुरुङ बसाइँ सरी पोखरा गएपछि उनको घर खण्डहर जस्तै बनेको छ । २०५२ सालमा उनको परिवार पोखरा सरेको हो । यसै गाउँका लक्ष्मणबहादुर गुरुङले पनि घर छाडेका छन् । उनीहरू जस्तै यहाँबाट सुविधा खोज्दै बसाइँ सर्ने क्रम बढेकाले गाउँ नै रित्तिएको छ ।
२०४० सालयता चित्रेका करीब साढे २ सय गुरुङ परिवार बसाइँ सरेका छन् । ‘कुनै समय गाउँमा भेला भएर समाजघरमा रोदी गाउँदा गाइन्थ्यो भने कसैलाई दुःखबिमार पर्दा सयौं भेला भएर समाधान गरिन्थ्यो, अहिले मलामी जाने मान्छे छैन,’ मोदी–८ की बालिका पौडेलले भनिन्, ‘अहिले गाउँ खाली भएकाले न्यास्रो लाग्ने गरेको छ ।’
चित्रे पर्यटकीय क्षेत्र पञ्चासेको काखमा रहेको क्षेत्र हो । होम ष्टे (घरबास) र बालमैत्री गाउँका कारण पछिल्लो समय चर्चामा रहे पनि आधाजसो परिवारले गाउँ छाडेका छन् । गाउँबाट बसाइँ सर्दै गए पनि रोक्ने प्रयास अहिलेसम्म भएको देखिँदैन । २०४० सालमा २ सय कुरिया परिवार रहेको गाउँमा अहिले ५५ परिवार मात्रै रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ । ‘सुविधा खोज्दै बसाइँसराइ गर्ने बढेको बढ्यै छन्,’ वडासचिव गोकुल शर्माले भने, ‘बसाइँसराइ रोक्न सकेका छैनौं ।’
दलित र जनजाति बाहुल्य क्षेत्र चित्रेबाट बसाइँ सर्नेमा गुरुङ समुदाय अग्रस्थानमा छ । भारतीय तथा ब्रिटिस सेनामा कार्यरत गुरुङ समुदायका युवाले नोकरीसँगै शिक्षा, स्वास्थ्य र अवसरको खोजीमा गाउँ छाड्ने गरेका छन् । गाउँमा सम्भावनाका थुप्रै अवसर भए पनि पूर्वाधार विकास हुन नसकेकाले गाउँ छाड्ने क्रम रोकिएको छैन ।
यहाँका अधिकांश परिवार कृषिबाट जीविका चलाउँछन् । जनजाति समुदायका घरमा होमष्टे छ । आँखैमा माछापुच्छ«े, अन्नपूर्ण र धौलागिरि हिमाल देखिने चित्रे प्रकृतिको उपहार जस्तो सुन्दर छ । तर, गाउँमा अहिलेसम्म उच्च शिक्षाका लागि क्याम्पस छैन । सुविधासम्पन्न अस्पतालको पनि अभाव छ । शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीलगायतको खोजीमा गाउँ छोड्नेहरूको सङ्ख्या भने रोकिएको छैन । ‘हिजोआज जग्गा विक्री रोकिएको छ । वडासचिव शर्माले भने, ‘पछिल्लो समय गाउँमा खुलेका होमष्टेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढेको छ । तर, गाउँबाटै बसाइँ सरेकाहरू भने आउन मान्दैनन् ।’