ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काम र निजी जीवनमा तालमेल : सन्तुष्टिपूर्ण करियरबारे स्टेफन हकिङको सुझाव

Mar 19, 2018  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
स्टेफन हकिङलाई अल्बर्ट आइन्स्टाइन र आइज्याक न्यूटनपछिका ठूला वैज्ञानिकका रूपमा लिने गरिन्छ । गत बुधवार ७६ वर्षको उमेरमा यी महान् वैज्ञानिकको निधन भयो । २२ वर्षको कलिलो उमेरमै अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट ग्रसित भएर आजीवन ह्विलचेयरमै बस्न बाध्य भए पनि हकिङले ह्विलचेयरबाटै ब्रह्माण्ड जितेका थिए । शारीरिक रूपले असक्त भएर बोल्न, हिँड्न नसकेर जीवित लाश जस्तो जीवन बिताए पनि हकिङले जीवनमा कहिल्यै हार मानेनन् । बरु, अपाङ्गता आफ्नो लागि वरदान हो भन्थे उनी । ह्विलचेयरमा बाँधिएर पनि विज्ञानको क्षेत्रमा उनले दिएको योगदानले अपाङ्गमात्र होइन जीवनदेखि नै निराश र शारीरिक रूपमा मात्रै जीवित सबलाङ्गहरूलाई पनि जिउने प्रेरणा दिन्छ । उनले ‘ए ब्रिफ हिष्ट्री अफ टाइम’, ‘द ग्य्राण्ड डिजाइन’, युनिभर्स इन नटशेल’, ‘द थ्योरी अफ एभ्रीथिङ’लगायत कैयौं पुस्तक पनि लेखेका छन् । उनको जीवनमा आधारित कैयौं चलचित्र र टिभी शोहरू पनि बनेका छन् । हकिङ एक कुशल वैज्ञानिकका साथै प्रेरक वक्ता पनि थिए । आफ्नो ह्विलचेयरमा जडित उपकरण ‘भ्वाइस सिन्थेसाइजर’का सहयोगले समयसमयमा उनले प्रेरणादायी वक्तव्य दिए । उनले ब्रह्माण्ड र भगवान्, विज्ञान र शिक्षा, मानवको सार्थकता र भविष्यलगायत विविध विषयमा आफ्ना विचार राखेका थिए । उनको जीवन र व्यक्तित्वमात्रै होइन अभिव्यक्तिहरू पनि साह्रै उपयोगी छन् । विज्ञानप्रतिको उनको लगाव र ब्रह्माण्डका रहस्यबारे उनले बताएका कुरा तथा ज्ञानले विश्वभरका करोडौं मानिसलाई ब्रह्माण्डबारे थप उत्सुक बन्न प्रेरित गर्छन् । सन् २०१० मा एबीसी वल्र्ड न्यूजमा अमेरिकी पत्रकार डायन शयरलाई उनले एक अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्ताका क्रममा शयरले हकिङलाई एउटा प्रश्न सोधेका थिए, ‘तपार्इं आफ्ना छोराछोरीलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ? सो प्रश्नको उत्तरमा उनले विभिन्न कुरा भनेका थिए । यसमध्ये एक थियो, ‘कामले नै जीवनमा अर्थ र उद्देश्य दिन्छ, योविना जीवन रित्तो हुन्छ ।’ कामप्रति उनको दर्शनलाई हामी सबैको जीवनमा लागू गर्न सकिएला त ? काम अर्थात् रोजगारी भएन भने हाम्रो जीवन साँच्चै रित्तो, खाली हुन्छ त ? हो कामले नै हामीलाई खाना दिन्छ, गाँस बास र कपासको जोहो गर्ने साधन जुटाइदिन्छ । तर, यस्तो काम आत्मनिर्भर व्यक्तित्वपूर्तिको साधन बन्न सक्ला त ? ‘यदि कसैले आपूmले गरिरहेको कामलाई माया गर्छ भने काम गर्ने क्रममा आइपर्ने ससाना समस्याहरूले उसलाई छुन सक्दैन र कामै छोडिदिऊँ भन्ने भावना आउँन दिँदैन, यस्तो भावना व्यक्ति र सङ्गठन दुवैका लागि राम्रो हुन्छ,’ युनिभर्सिटी अफ अक्सफोर्डका संस्थागत व्यवहार र नेतृत्व विषयका प्राध्यापक सल्ले मेटलिस भन्छिन् । तर, कामलाई आफ्नो सबै थोक ठान्ने र व्यक्तित्व एवम् संसारलाई हामीले गर्न सक्ने योगदानको बिल्कुल केन्द्रमा राख्ने हदसम्म माया गर्न थालेपछि यो विनाशकारी हुने मेटलिस बताउँछिन् । युनिभर्सिटी अफ वाशिङ्टनमा व्यवस्थापनकी प्राध्यापक किरा शब्रामसँग मिलेर उत्तर अमेरिकाका केही पशुपालन केन्द्रका ५० मजदुरको अध्ययन गरेर मेटलिसले गतवर्ष मात्रै यस्तो तथ्य पत्ता लगाएकी हुन् । अध्ययनका क्रममा अधिकांश मजदूरहरू बाल्यावस्थामा जनावरप्रतिको प्रेमका कारण वा सो काम अरूले भन्दा राम्रोसँग गर्न सक्ने शीप आफूमा मात्र छ भन्ने धारणाका कारण यो कामप्रति आकर्षित भएको पाइयो । परिणामस्वरूप तिनीहरूले नियमितभन्दा धेरै समय काममा बिताउन थाले । गर्नै गाह्रो भएको अवस्थामा अर्को सिफ्टमा पनि काम गरे । तर, अन्ततः अधिकांश मजदूर थाके र निराश बने । काम गर्ने क्रममा तिनीहरूले कैयौंपटक पशुपालन केन्द्रमा जनावरहरू मरेको पनि देखे । न्यून स्रोत र खराब व्यवस्थापनलगायत समस्याको सामना पनि गरे । अन्ततः केहीले काम नै छाडे । तर, पनि मेटलिस र अन्य कैयौं विज्ञहरूले के मानेका छन् भने अन्तर्मनलाई सन्तुष्टि दिने खालको करियर छान्दा जीवनमा सकारात्मक प्रभाव पर्दछ । सन् १९९३ यताका विभिन्न अनुसन्धानहरूले यही तर्कलाई समर्थन गरेका छन् । क्यान्सर लागेका बिरामीहरूको उपचार होस् वा कुनै सहकर्मीलाई ससाना काममा मद्दत, काम जतिसुकै ठूलो र सानो भए पनि सो कामको सार्थकता छ र आफूले गरिरहेको काममा प्रगति भइरहेको छ भन्ने भावना भयो भने त्यसले कार्यस्थलमा खुसी फैलाउन सक्ने हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक टेरेसा एमाबिलेको अनुसन्धानले देखाएको छ । तर, उद्देश्यमूलक काम भेट्टाउन त्यति सजिलो भने छैन । यो त आफूलाई के गर्न मन पर्छ भन्ने भावनाप्रतिको सचेतता मात्रै हो भन्छिन् न्यूयोर्क युनिभर्सिटीमा व्यवस्थापन विषयकी प्राध्यापक एनट लेश्नर । कुनै काम गर्दा रोमाञ्चित महसूस हुन्छ भने वास्तविक कामबाट रुचिलाई अलग गर्न गाह्रो हुने उनको धारणा छ । अमेरिकी विद्युतीय कम्पनी टेस्लाका सीईओ एलन मस्कले अहिले हात हालेका सबै क्षेत्रबाट उनलाई अलग्याउन सकिँदैन भन्छिन् लेश्नर । कैयौं मानिसहरूले चाहिँ आफ्नो लगाव के हो भनेर खुट्याउन सके पनि यसमा करियर बनाउन चाहँदैनन् । जोखीम मोल्न नचाहेकाले उनीहरूले जे काम गरेर नियमित रूपमा गाँस, बास र कपासको जोहो गर्न सकिन्छ, त्यही गर्छन् । केहीले आफ्नो ‘ड्रिमजब’लाई त पछ्याउँछन्, तर आपूmले सोचेको जस्तो नपाएपछि यसलाई छोडेर अरू नै काम गर्छन् । शब्राम र मेटलिसले अध्ययन गरेका मजदुरहरूमा यो कुरा लागू हुन्छ । ‘परिभाषित गरिएको निश्चित भूमिका निर्वाह गर्नुको सट्टा कुनै क्षेत्रमा संलग्न भइरहने अरू तरीका पनि छन् त जसले व्यक्तिलाई उसले गरिरहेको कामको सबैभन्दा अर्थपूर्ण तत्त्वसँग जोडिरहन मौका देओस्,’ येल युनिभर्सिटीमा संस्थागत व्यवहार विषयकी प्राध्यापक एमी बर्जेस्निवस्कीले सोध्छिन् । शब्राम र मेटलिसले अध्ययन गरेका पशुपालन केन्द्रका केही मजदुरहरूले भने आफूलाई केन्द्रबाट टाढै राखेर यस्तो गरे । उनीहरू जनावरसँगै सम्बन्धित, जस्तै ‘ग्रूमिङ’ गर्ने र तालीम दिने आदि कामपट्टि लागे । यो गल्ती गरेर सिक्ने अर्थात् ट्रायल एण्ड इररको प्रक्रिया जस्तै हो । यस क्रममा चिन्ताको खातैखात त लाग्छ । तैपनि, आफूलाई मन परेको काम गर्दा व्यक्तिलाई उत्साह र ऊर्जा मिल्छ । यो ऊर्जा उसको करियर र पहिचानसँग मिसिन्छ । यसले पदोन्नति र दैनिक खर्च जुटाउने उद्देश्यका पछाडि भागदौडमात्रै सृजना गर्दैन । कामकै माध्यमबाट आफ्नो पहिचान बनाउने र जीवनको उद्देश्य पहिल्याउने अवसर पनि दिन्छ । हकिङमा पनि यस्तै खुबी थियो । उनले आफूलाई जे मन पर्‍यो त्यही गरे, त्यसमै आफ्नो पहिचान बनाए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)