ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बलेवा विमानस्थल २६ वर्षपछि पुनः सञ्चालनमा : नेपाल वायुसेवा निगम र तारा एयरको सातामा दुई उडान

Mar 20, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । बागलुङको बलेवा विमानस्थल २६ वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र बागलुङ नगरपालिकाको पहलमा गौचरणमा परिणत उक्त विमानस्थल सञ्चालनमा ल्याइएको हो । आगामी चैत ९ गतेदेखि सञ्चालनमा आउने विमानस्थलमा तारा एयरको विमानले सोमवार नै पोखराबाट परीक्षण उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । उक्त विमानस्थलको प्राविधिक परीक्षण गरी प्राधिकरणको तर्फबाट आवश्यक जनशक्ति पठाइएको प्राधिकरण महानिर्देशक सञ्जीव गौतमले बताए । उनका अनुसार हाललाई नेपाल वायुसेवा निगम र तारा एयरले सातामा दुईओटा उडान गर्नेछन् । बन्द विमानस्थल सञ्चालनमा ल्याउन प्राधिकरण तथा विमान कम्पनीहरूसँग पहल गरी धावनमार्ग मर्मत, पुरानो टावरको जाँच तथा मर्मत र विमानस्थलवरपरका अग्ला संरचना हटाइएको बागलुङ नगरप्रमुख जनक पौडेलले जानकारी दिए । यो उडानले बागलुङसहित गुल्मी, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका बासिन्दा लाभान्वित हुने उनले बताए । पछिल्लो पटक पोखरा विमानस्थलमा चाप बढेको अवस्थामा यो विमानस्थल सञ्चालनले पोखराबाट गरिने माउण्टेन फ्लाइट र अल्ट्रा लाइटको उडान पनि बलेवाबाटै गर्न सकिने बताइएको छ । नगरपालिकाद्वारा २० लाख रुपैयाँ धरौटी नियमित उडानको ग्यारेण्टी गर्न बागलुङ नगरपालिकाले प्रतिविमान १० लाखका दरले २० लाख रुपैयाँ धरौटी राखेको प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार नियमित उडानमा यात्रुको अभाव भए बागलुङ नगरपालिकाले रकम उपलब्ध गराउने सहमति भएपछि नेपाल वायुसेवा निगम र तारा एयरले सातामा दुईओटा उडान गर्ने सहमति गरेका छन् । उनले भने, ‘व्यावसायिक उडानका लागि ६० प्रतिशत अकुपेन्सी हुने रहेछ । त्यो नपुगेमा नपुगेको हामीले तिर्ने हो ।’ सम्झौताअनुसार आउने शुक्रवार ताराले पहिलो उडान गर्नेछ भने त्यसपछि ताराले हरेक आइतवार र नेपाल वायुसेवा निगमले बुधवार उडान गर्ने प्रमुख पौडेलले बताए । पोखरादेखि बलेवा विमानस्थलसम्म परीक्षण उडान गरेको तारा एयरले नियमित सञ्चालनका लागि कुनै कठिनाइ नभएको र आउने आइतवारदेखि नियमित उडान गर्ने एयरलाइन्सका प्रवक्ता भीमराज राईले जानकारी दिए । पोखरादेखि बलेवासम्म १२ मिनेटको उडानको हवाईभाडा भने तय भइनसकेको तारा एयरले जानकारी दिएको छ । यो विमानस्थल बागलुङका नारायणस्थान, पैयूँपाटा, अमलाचौर, कुश्मिशेरा, भकुण्डे, रायडाँडालगायत करीब १४ गाविसका जनताले श्रमदान गरी २०१८ सालमा निर्माण गरेका थिए । यो विमानस्थल बन्द हुनुपूर्व २०४८ सालभन्दा अघि बलेवाबाट टुइनअटर विमानले काठमाडौं, पोखरा र भैरहवा उडान भर्ने गरेका थिए । विमानस्थलमा नियमित उडान सुचारु भएपछि आउने आर्थिक वर्षमा स्तरोन्नतिका लागि बजेटको व्यवस्था गर्ने प्राधिकरणका महानिर्देशकले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)