धनगढी । कैलालीको गोदावरी नगरपालिकाले महिला विकास शाखामार्फत लोकसेवा तयारी कक्षा सञ्चालनका लागि विनियोजन गरेको बजेटमा अनियमितता भएको पाइएको छ । नगरपालिकाले निःशुल्क तालीम, स्टेशनरी सामग्री तथा दैनिक खाजासहित ४ लाख रुपैयाँ विनियोजन गरे पनि कक्षामा सहभागी महिलामध्ये थोरैले मात्रै स्टेशनरी सामग्री पाएका हुन् ।
१ महीने लोकसेवा तयारी कक्षामा कुल ७२ जनाको निवेदन परेको थियो । तर, ६६ जनामात्रै नियमित कक्षामा सहभागी भएको नगरपालिकाले बताएको छ । दैनिक खाजा र स्टेशनरी सामग्री नपाएका सहभागीको गुनासो छ । निःशुल्क तालीमबाहेक कुनै सुविधा नपाएको एक सहभागीले बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले तयारी कक्षाका लागि ४ लाख रुपैयाँ छुट्याएको स्वीकारे ।
माघ २३ देखि फागुन २३ गतेसम्म सञ्चालित तयारी कक्षा सकिएको २ साता पुगिसक्दा पनि नगरपालिकाले स्टेशनरी सामग्री र दैनिक खाजा खर्चबापतको रकम उपलब्ध गराएको छैन । उनीहरूको नाममा आएको रकम नगरपालिकाले भागबण्डा गर्न नहुने गोदावरी नगरपालिका–५ की रमा फुलाराले बताइन् । निःशुल्क फर्म भने पनि फर्म शुल्कबापत पनि सय रुपैयाँ लिएको पाइएको छ । लोकसेवा तयारी कक्षा दैनिक १ घण्टा प्रशासकीय अधिकृतसहित नगरपालिकाका कर्मचारीले दिएका थिए ।