ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बस्न लायक उत्कृष्ट शहरमा यूरोप अगाडि

Mar 21, 2018  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
उपलब्ध स्वास्थ्य सेवा, यातायात, मनोरञ्जनलगायत सेवासुविधा, राजनीतिक स्थिरता, अपराधलगायत तत्त्वहरूलाई मापन गर्ने हो भने नेपालका ठूला शहरहरूले कतिकति अङ्क पाउँथे होलान् ? काठमाडौं, पोखरा, वीरगञ्ज, हेटौंडा, विराटनगरलगायत शहरका बासिन्दाको जीवनस्तर मापन गर्ने हो भने कुन शहर सबैभन्दा बढी बस्न लायक हुन्थ्यो होला अनि कुन चाहिँ कम लायक ? यी प्रश्नको उत्तर अहिले दिन सकिँदैन । यसका लागि सरकार वा निजी क्षेत्रबाटै यी शहरहरूमा सर्वेक्षण गरेर सूची तयार पार्नुपर्छ । यद्यपि, जीवनस्तरका दृष्टिले विश्वमै सबैभन्दा बढी बस्न लायक र बस्न लायक नभएका वा खराब शहरको सूची भने पाउन सकिन्छ । विश्वकै ठूलो मानव संसाधन परामर्शदाता कम्पनी मर्सरले २ सय ३१ शहरमा सर्वेक्षण गरेर भर्खरै वार्षिक सूची सार्वजनिक गरेको छ । सूची तयार पार्न सन् २०१७ को सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा ती शहरका तथ्याङ्कहरू केलाइएको थियो । सर्वेक्षणअनुसार अष्ट्रियाको राजधानी भियना विश्वमै सबैभन्दा उत्कृष्ट बस्न लायक शहर हो । योसँगै १८ लाख जनसङ्ख्या रहेको भियना लगातार ९औं वर्ष पनि सूचीको शीर्ष स्थानमा रहन सफल बनेको छ । सूचीको शीर्ष १० स्थानमा यूरोपेली शहरकै वर्चस्व रहेको छ । यसमा जर्मनी र स्वीट्जरल्याण्डका ३/३ शहर छन् भने न्यूजिल्याण्ड, क्यानडा र अष्ट्रेलियाका १/१ शहर छन् । भियनालाई पछ्याउने क्रममा स्वीट्जरल्याण्डको जुरिच, जर्मनीको म्युनिख, क्यानडाको भ्यानकुभर क्रमशः शीर्ष पाँच स्थानभित्र छन् । सूचीको शीर्ष २० स्थानमा रहेका शहरहरूको वरीयतामा यो वर्ष खासै उतारचढाव आएको छैन । यद्यपि, यो वर्ष शीर्ष २० को सूचीमा जर्मनीका ४ शहर रहेका छन् । बासिन्दाको जीवनस्तरका आधारमा एशियामा सिङ्गापुर सबैभन्दा बस्न लायक शहर हो । यो सूचीको २५औं स्थानमा रहेको छ । उता, सूचीको ७७औं स्थानमा रहेको मोण्टेभिडियो ल्याटिन अमेरिकाको सबैभन्दा बस्न लायक शहर हो । सूचीमा संलग्न सबैभन्दा उत्तम अफ्रिकी शहर दक्षिण अफ्रिकाको डर्बन हो । यो सूची ८९औं स्थानमा रहेको छ । यूरोपेली सङ्घ (ईयू)बाट बाहिरिन १ वर्षमात्रै बाँकी रहेको बेलायत सूचीमा शीर्ष स्थानमै छ । जीवनस्तरका दृष्टिले लण्डन विश्वको ४१औं बस्न लायक शहर हो । यद्यपि, गतवर्षको तुलनामा यो एक स्थान कम हो । अमेरिकी शहरमध्ये सन फ्रान्सिस्को सूचीको ३०औं स्थानमा रहेको छ । यद्यपि, बढ्दो आपराधिक गतिविधिका कारण लस एञ्जलस भने यस वर्ष ६ स्थान तल झरेर ६४औं स्थानमा आएको छ । यस वर्ष यूरोपबाहिर सबैभन्दा बढी वृद्धि हासिल गर्ने शहरमा चीनको साङ्हाई मोजाम्बिकको मापुटो, भारतको नयाँ दिल्लीलगायत शहर हुन् । पुछारमा परेको शहरलाई बसोबासको दृष्टिले सबैभन्दा कम योग्य शहर मान्ने हो भने इराकको राजधानी बग्दाद सबैभन्दा निकृष्ट शहर हो । यसलाई पछ्याउने क्रममा मध्य अफ्रिकी गणतन्त्रको राजधानी बाङ्गी, यमनको सना, हाइटी पोर्ट आ प्रिन्स, सुडानको राजधानी खार्तुम कम बस्न लायक शहरको सूचीमा शीर्ष पाँचभित्र परेका छन् । त्यसैगरी, चाडको राजधानी निजामिना, सिरियाको राजधानी दमास्कस, गणतन्त्र कङ्गोको ब्राजभिल्ल र किन्शासा, गिनीको राजधानी कोनाक्री क्रमशः छैटौंदेखि १०औं खराब शहर हुन् । यस सूचीमा नेपालको भने कुनै पनि शहर समाविष्ट छैन । कसरी भयो भियना विश्वकै राम्रो शहर ? मर्सरले जीवनस्तरका दृष्टिले सबैभन्दा बस्न लायक शहरको सूची सार्वजनिक गर्न लागेको ठ्याक्कै २० वर्ष भयो । विगत ९ वर्षको सूचीमा अष्ट्रियाको राजधानी भियना लगातार शीर्ष स्थानमा रहन सफल भएको छ । मर्सरले यस सूचीमा हरेक शहरको राजनीतिक, सामाजिक र आर्थिक वातावरण, स्वास्थ्य सेवा र शैक्षिक उपलब्धतामात्र नभई सार्वजनिक यातायातका साधनको उपलब्धता, बिजुली र पानीको आपूर्तिजस्ता पूर्वाधारको पनि तुलना गर्ने गरेको छ । बिजुली र पानीको आपूर्तिका मामिलामा भियना यूरोपका अन्य शहरभन्दा पछाडि होला । तर, अन्य मामिलामा भने यो अरू शहरभन्दा अगाडि नै छ, कम छैन । विश्वभरका पर्यटकहरूका लागि यो लोकप्रिय गन्तव्य हो । वर्षेनि करीब ९ लाख विदेशी पर्यटकहरू यहाँ आउने गरेको तथ्याङ्क छ । यो शहर कला र इतिहासका कारण पनि प्रसिद्ध छ । मनोरञ्जनात्मक गतिविधिका लागि यहाँ राम्रो व्यवस्था छ । प्रशस्त पार्क र बगैंचाहरू छन् । यहाँको करीब ५० प्रतिशत भागमा हरियाली छ । सार्वजनिक यातायातका साधनको उपलब्धता पनि निकै राम्रो छ । सानोदेखि लामो दूरीको यात्राका लागि घोडाले डोर्‍याउने बग्गीदेखि, ट्रली बससम्म पाउन सकिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)