ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तह : बजेट आयो, औषधि आएन

Mar 22, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतका स्थानीय तहलाई औषधि खरीदको जिम्मा दिए पनि उपलब्ध हुन सकेको छैन । विगत वर्षमा जिल्ला स्वास्थ्य कार्यालयले नै औषधि खरीद गरेर मातहतका स्वास्थ्य संस्थालाई उपलब्ध गराउँथ्यो । तर, यस वर्षदेखि स्थानीय तहलाई खरीदको जिम्मा लगाइए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । चालू वर्ष औषधि खरीदलगायत विषयगत शीर्षकको बजेट जिल्लाका सातओटै स्थानीय तहमा आएको थियो । जिल्ला अस्पतालले वर्षको तीनपटक औषधि खरीद गर्ने गरेको थियो । तर, चालू आर्थिक वर्ष सीमित बजेटको मात्र खरीद गरेको छ । प्रत्येक स्थानीय तहलाई ३ देखि ५ लाख रुपैयाँ बजेट औषधि खरीदमा छुट्ट्याउनुपर्ने स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् । गाउँपालिकाले औषधि नदिँदा सिटामोल, एमोक्सिसिलिन, मेट्रोनिडाजोल, एम्पिसिलिन जस्ता औषधि र सर्जिकल सामग्रीको अभाव भएको छ । ‘केही दिनअघि जिल्ला अस्पतालबाट आएको औषधि हालसम्म मुश्किलले पु¥याइएको छ,’ मल्लाज स्वास्थ्यचौकीका अनमी अञ्जली बैरागीले भनिन् । बिहादीका स्वास्थ्य संयोजक हरि भुसालका अनुसार १ लाख ९० हजार रुपैयाँ बजेटबाट खरीद गरेको औषधि सबै स्वास्थ्यचौकीमा पुर्‍याउन सकिएको छैन । ‘स्वास्थ्यमा निकै कम बजेट आयो । पर्याप्त औषधि किन्न सकिएन,’ उनले भने । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४२ किसिमका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । माथिल्लो निकायले पठाउन र स्थानीय तहले खरीद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिएको गाउँका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले बताएका छन् । जिल्लाभर औषधिको अभाव भएपछि बुधवार जिल्ला स्वास्थ्य कार्यालयले औषधिको अभाव समाधानबारे सरोकारवालाको बैठक डाकेको थियो । सरोकारवालाको बैठकमा समन्वयको अभावमा औषधि खरीद हुन नसकेको गुनासो गरेका छन् । ‘विगतमा हामीले कात्तिकमै औषधि खरीद गरिसक्थ्यौं,’ जिल्ला स्वास्थ्य कार्यालयका स्टोर शाखा प्रमुख रघुनाथ रेग्मीले भने, ‘अहिलेसम्म औषधि पठाउन परिरहेको छ ।’ स्थानीय तहले औषधि खरीद गर्नेबारे जिल्लासँग कुनै समन्वय नगरेको उनले बताए । जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिण्टेण्डेण्ट बुद्धिबहादुर थापाका अनुसार जिल्लाभर औषधिभन्दा बढी सर्जिकल सामग्रीको अभाव छ । अघिल्ला वर्षमा ५० लाख रुपैयाँसम्मको औषधि खरीद गरेर गाउँ पठाएको जिल्ला अस्पतालसँग यो वर्ष ४ लाख मात्रै बजेट थियो । स्वास्थ्य संस्थाले औषधि सकिए जिल्लामै माग गर्ने पुरानो बानी छाडेका छैनन् । स्टक रहने बेलासम्म मिति नसकिएका औषधि भने गाउँ पठाउने गरिएको दाबी थापाले गरे । पर्वतमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ र शहरी स्वास्थ्य केन्द्र गरी ६० स्वास्थ्य संस्था छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)