खुटिया–दिपायल फाष्ट ट्र्याक : २७ किमी ट्र्याक खोल्न बाँकी
Mar 25, 2018
 
प्रदेश समाचार
धनगढी । २०६५ देखि निर्माण शुरू भएको खुटिया–दिपायल फाष्ट ट्र्याक सडकको २७ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको हसनपुर, खुटिया—बीपीनगर—दिपायल आयोजना कार्यालयले बताएको छ । कैलालीको खुटियादेखि डोटीको दिपायलसम्म कुल ८२ किमी सडकमध्ये डोटी—गडसेरा ३० किमी, बीपीनगरदेखि काफलतडीसम्म ८ किमी र अन्य विभिन्न स्थानसहित १७ किमी गरी कुल ५५ किमी सडकको मात्रै ट्र्याक खुलेको आयोजना प्रमुख राजेन्द्र शाहले जानकारी दिए ।
सडक निर्माणका लागि चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । कार्यालयका अनुसार कैलालीमा १२ र डोटीमा १५ किमी सडकको ट्र्याक खोल्न बाँकी छ । आगामी २ वर्षभित्रै बाँकी सडकको ट्र्याक खोल्ने शाहले दाबी गरे । अहिले सडक निर्माण भइरहेका क्षेत्रभित्र पर्ने विभिन्न खोलानालामा कल्भर्ट र पुल निर्माणका लागि डिजाइनको काम भइरहेको कार्यालयले बताएको छ ।
कृषि सडक मानिएको आयोजना सुस्त गतिमा निर्माण भइरहेकोप्रति स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । सडक निर्माणले पूर्णता पाए पहाडी जिल्लाको उत्पादनले सहजै तराईमा बजार पाउने अपेक्षा छ ।
सडक निर्माण गुणस्तरहीन भएको आरोप
आयोजनाअन्तर्गत हसनपुर–खुटिया सडकखण्ड निर्माण गुणस्तरहीन भएको भन्दै स्थानीयले आपत्ति व्यक्त गरेका छन् । ठेकेदार कम्पनीले बजेट सिध्याउने काम मात्र गरेको उनीहरूको भनाइ छ । सो सडकखण्डमा खाल्डाखुल्डी पुर्न र ग्राभेल हालेर सम्याउन १ करोड ५७ लाख बजेट विनियोजन गरेकोमा बीएस कन्ष्ट्रक्शन चौमालाले ५८ प्रतिशत बिलोमा ठेक्का पाएको थियो ।
कम्पनीले ५९ लाखमा काम गर्ने भनी बिलोमा ठेक्का पाएको शाहले बताए । तर, कम्पनीको काम गुणस्तरयुक्त नभएको धनगढी उपमहानगरपालिका–११, घुडसुवाका स्थानीय हेमबहादुर विष्टले गुनासो गरे । स्थानीयले गुनासो गरेपछि आयोजना प्रमुख शाहले स्थलगत अध्ययनका लागि इञ्जिनीयर पठाएको जानकारी दिए ।