पछिल्लो समय मानिसको जीवनमा नभई नहुने एक अभिन्न अङ्ग भनेको छ बीमा । भविष्यको सुरक्षाको ग्यारेण्टी गर्ने हुँदा बीमालाई मानिसको जीवनमा अत्यावश्यक वस्तुको रूपमा लिइएको हो । पछिल्लो समय नेपाली नागरिकमा पनि बीमाप्रति सकारात्मक सोचको विकास हुँदै गएको छ । अन्य देशको तुलनामा नेपालमा सबै ठाउँमा बीमाको पहुँच र साक्षरता पुग्न सकेको छैन । अझै पनि देशका कतिपय ठाउँका जनता बीमाको पहुँचबाट वञ्चित छन् ।
नेपालमा बीमाबारे जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति भएको पाइँदैन । गाउँको तुलनामा शहरमा धनीहरूको बसाइ हुने भएकाले उनीहरूलाई बीमा गराउन सजिलो हुन्छ । तर, यो व्यवसायको सम्भावना गाउँमा न्यून रहेकोले सम्बन्धित कम्पनी र तिनका अभिकर्ता शहरकेन्द्रित छन् । यसले दूरदराजका नागरिक बीमाको पहुँचबाट टाढा छन् । उनीहरू बीमाबारे त्यति जानकार पनि छैनन् । त्यस कारण नेपालको बीमा व्यवसाय फस्टाउन नसकेको बताइन्छ । त्यसैले, यस्ता पक्षलाई दृष्टिगत गरी बीमा साक्षरता बढाउनुपर्ने देखिन्छ । यसै सन्दर्भमा विभिन्न हाते पुस्तिकाको सहयोगमा बीमासम्बन्धी तयार पारिएको एक साम्रगी :
बीमा के हो ? मानव जीवनमा विपत्ति र जोखीमको सम्भावना हुन्छ । व्यक्तिगत जीवन, व्यवसाय, रोजगार, चलअचल सम्पत्तिलगायत सबैमा धेरथोर जोखीम रहन्छ । उद्यम व्यवसायमा विभिन्न कारणले क्षति हुन सक्छ । यस्ता प्रकारका अनिश्चित जोखीमबाट बच्ने उपाय बीमा मात्र भएको अभिकर्ताहरू बताउँछन् । त्यसैले, भविष्यमा आउन सक्ने अनिश्चित प्रकारका जोखीम अन्यत्र हस्तान्तरण गरी सोबाट सम्भावित दुर्घटनाको क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो ।
समान प्रकृतिको अनिश्चित जोखीमले ग्रस्त व्यक्ति वा समुदायले आफ्नो जोखीमअनुरूप बीमा गराएमा सुरक्षित हुन सक्छन् । दुर्घटना सधैं अनिश्चित हुने भएकोले सबैका लागि क्षतिपूर्ति दिने नभई प्राप्त वा जम्मा भएको बीमा शुल्क कोषबाट क्षति भएबराबरको मात्र भुक्तानी दिने व्यवस्था हुन्छ ।
बीमाका प्रकार १. जीवन बीमा मानिसलाई भवितव्य घटनामा पैसाको अभावले समस्या नआओस् भनेर गरिने व्यक्तिगत बीमा जीवन बीमा हो । बीमा समितिले व्यक्तिको आयुका आधारमा किस्ताबन्दीमा कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अवस्थामा उसको हकवालाले खास रकम पाउनेगरी गरिने करारसम्बन्धीको कारोबारलाई जीवन बीमा भनेर परिभाषित गरेको छ ।
जीवन बीमाका वर्गहरू आजीवन जीवन बीमा आजीवन जीवन बीमामा निर्धारित अवधिसम्म बीमितले बीमा शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । यो योजनामा बीमितले बीमा अवधि सकिएपछि बीमा शुल्क तिर्नु पर्दैन । तर, बीमितको मृत्यु नभएसम्म निजले इच्छाएको व्यक्तिले बीमाङ्क रकम र बोनस फिर्ता पाउँदैन । यसमा बीमा अवधिअघि वा पछि कुनै पनि बेला बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमा रकम र बोनस फिर्ता पाउने व्यवस्था हुन्छ । बीमा अभिकर्ताका अनुसार यो योजनामा बीमा शुल्क सस्तो हुन्छ ।
सावधिक जीवन बीमा निश्चित समयावधि तोकेर गरिने बीमालाई सावधिक जीवन बीमा भनिन्छ । यस योजनामा बीमित आफैले एकमुष्ट रकम बुझ्न पाउने व्यवस्था हुन्छ । त्यसैले, यो योजना अन्य जीवन बीमाको तुलनामा बढी लोकप्रिय पनि छ । यस योजनामा तोकिएको अवधिसम्ममा बीमितले बीमा शुल्क बुझाउनुपर्ने हुन्छ । अवधि समाप्त भएपछि बीमित स्वयम्ले बीमाङ्क रकम र बोनस प्राप्त गर्न सक्नेछन् । तोकिएको समयावधिभित्र बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमाङ्क रकम र बोनस प्राप्त गर्न सक्नेछन् ।
म्यादी जीवन बीमा सीमित अवधिका लागि गरिने जीवन बीमालाई म्यादी जीवन बीमा भनिन्छ । यो योजनामा बीमितले बीमा अवधिभर बीमा शुल्क तिर्नुपर्ने हुन्छ । यदि बीमा अवधिभित्र बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बीमाङ्क रकम र बोनस रकम प्राप्त गर्न सक्छन् । यस बीमामा बीमा अवधिभित्र बीमितको मृत्यु भएन भने कुनै पनि रकम फिर्ता हुँदैन ।
२. निर्जीवन बीमा मानिसले आर्जन गरेको चल अचल सम्पत्तिको हानि नोक्सानी भएमा सोको क्षतिपूर्ति होस् भनेर गरिने बीमा नै निर्जीवन बीमा हो । यस किसिमको बीमामा दुर्घटना, औषधि उपचार खर्च, तेस्रो पक्षको दायित्व, विदेश यात्रामा पर्ने जोखीमलगायतको बीमा गरिन्छ । साथै, भूकम्पलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने हानि नोक्सानीको क्षतिपूर्ति र राहत पाउन यो बीमा गरिन्छ । पछिल्लो समय सरकारले कृषिबीमा पनि ल्याएको छ । यसअन्तर्गत व्यावसायिक कृषि र पशुपालनको बीमा गरिन्छ । यसरी बीमा गर्दा तोकिएअनुसार थोरै रकम भुक्तानी गर्दा सम्पूर्ण सम्पत्तिको सुरक्षा हुने बीमा अभिकर्ताहरू बताउँछन् ।
नेपालमा बीमा व्यवसायको शुरुआत नेपालमा बीमा व्यवसायको त्यति लामो इतिहास छैन । प्रारम्भिक चरणमा नेपालमा बीमा व्यवसायको शुरुआत भारतीय बीमा कम्पनीले गरेको पाइन्छ । उनीहरूले नेपालमा खुला रूपमै कार्यालय खोलेर अभिकर्ता र कम्पनी प्रतिनिधिमार्फत बीमा व्यवसाय सञ्चालन गरेका थिए । अभिलेखअनुसार स्वदेशी बीमा कम्पनीको स्थापना हुनुभन्दा अघि ६ ओटा भारतीय बीमा कम्पनीले नेपालमा व्यवसाय सञ्चालन गरेका थिए ।
नेपालमा बैङ्किङ कारोबारसँगै बीमाको महŒव र आवश्यकता पनि बढेको पाइन्छ । नेपाल बैङ्क लिमिटेडले २००४ साल असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रूपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको इतिहास छ । त्यसलाई नै नेपालको पहिलो बीमा कम्पनीको रूपमा मान्यता दिइएको थियो । उक्त माल चलानी कम्पनीलाई अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले चिनिन्छ ।
बीमा गर्नुका फाइदा
बीमा गर्दा ध्यान दिनुपर्ने विषय
बीमा अभिकर्तासम्बन्धी कानूनी व्यवस्था नेपालमा बीमा अभिकर्ता भनेर प्रचलित बीमा ऐन, २०४९ को दफा २ खण्ड (ठ) अनुरूप तलबी कर्मचारी नभई कमिशनका आधारमा बीमकको तर्फबाट काम गर्ने व्यक्ति हुन् । उनीहरूले ऐनको दफा ३० बमोजिम बीमा समितिबाट इजाजतपत्र प्राप्त गरेका हुन्छन् । नेपाल अधिराज्यमा बीमा व्यवसायअन्तर्गतको कुनै पनि कार्य गर्न बीमा ऐन, २०४९ बमोजिम गठित बीमा समितिबाट इजाजतपत्र प्राप्त गर्नुपर्दछ । ऐनअनुसार बीमा समितिलाई बीमक, बीमा अभिकर्ता, दर्ता, नवीकरण र खारेजी गर्ने अधिकार छ ।
बीमा अभिकर्तासम्बन्धमा कानूनी रूपमा गरिएको उपरोक्त परिभाषाअनुरुप तत्सम्बन्धमा विभिन्न कानूनी व्यवस्था गरिएका छन् । यसअन्तर्गत बीमा अभिकर्ताको योग्यता, इजाजतपत्र प्राप्त गर्न सक्ने अवस्था, इजाजतपत्र नवीकरणसम्बन्धी व्यवस्था तथा इजाजतपत्र खारेजी र दण्ड सजायसमेतको प्रावधान छ ।
बीमा नियमावली, २०४९ को दफा २१ अनुसार जीवन बीमाको हकमा शैक्षिक हिसाबमा एसएलसी उत्तीर्ण गरेका व्यक्ति अभिकर्ताका लागि योग्य हुनेछन् । अन्य बीमा व्यवसायको हकमा भने अभिकर्ता बन्न बीमा व्यवसायको किसमअन्तर्गत साधारण लेखपढ गर्न सक्ने भए पनि हुन्छ । साथै, सोही प्रावधानअन्तर्गत दुवै किसिमका बीमा व्यवसायसम्बन्धी कार्य गर्न इच्छुक व्यक्ति, बीमा समिति वा समितिबाट मान्यताप्राप्त कुनै पनि संस्थाले बीमा अभिकर्ताका लागि सञ्चालन गरेको तालीम पूरा गरेको हुनुपर्ने कानूनी व्यवस्था छ । ऐनको ३२ दफाअनुुसार कुनै व्यक्ति १६ वर्ष उमेर नपुगेको, मानसिक स्थिति ठीक नभएको र साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको व्यक्ति बीमा अभिकर्ता हुन पाउँदैन ।
बीमा अभिकर्ता हुन नियम २१ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले ऐनको दफा ३० र नियम १९ बमोजिम सम्बन्धित बीमकको सिफारिशसहित अनुसूची ७ को ढाँचामा समितिको कार्यालयसमक्ष दिवेदन पेश गर्नुपर्ने हुन्छ । बीमा अभिकर्ता दर्ता इजाजतपत्रको लागि रू. ५ सय दस्तुर लाग्ने कानूनी व्यवस्था छ ।
नेपालमा बीमा कम्पनीको नियामक निकाय बीमा समिति हो । समितिले कम्पनीहरूको क्षेत्र सुधारका लागि नीति निर्देशनसहित रेखदेख पनि गर्ने हुँदा बीमा कम्पनीहरू आफूखुशी चल्न सक्दैनन् । यसले गर्दा पैसा असुलेर फरार हुने डर हुँदैन । त्यसैले, मानव जीवनमा बीमाको महत्व र आवश्यकता मनन गरी आफ्नो, परिवार र सम्पत्तिको बीमा गरी भविष्यमा हुने भवितव्य घटनाबाट हुने नोक्सानीबाट बचौं ।