पर्या–पर्यटन प्रवर्द्धन गर्दै पर्सा राष्ट्रिय निकुञ्ज
Mar 27, 2018
 
बजार
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई समानान्तर रूपमा अघि बढाउन तल्लीन देखिएको छ । पर्सा, बारा र मकवानपुर जिल्लाको वनक्षेत्रलाई समेटेर निकुञ्ज घोषणा भएपछि यो क्षेत्रमा पर्या–पर्यटनको प्रवद्र्धनलाई रणनीतिक योजनाअन्तर्गत अघि बढाइएको हो ।
सरकारले पर्सा आरक्षलाई गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकबाट निकुञ्जमा परिणत गरेको थियो । यसपछि पर्यटक भित्र्याउने रणनीतिक योजना अघि बढाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘पर्यावरणीय पक्षको जगेर्ना गर्दै निकुञ्जलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यो क्षेत्र २ नम्बर प्रदेशकै लागि पर्यटकीय आकर्षणको थलो र आम्दानीको बलियो स्रोत बन्न सक्छ,’ प्रमुख संरक्षण अधिकृत आचार्यले आर्थिक अभियानसित भने ।
निकुञ्जमा वन्यजन्तुको सङ्ख्या वृद्धिका लागि वासस्थान सुधार, लोपोन्मुख वन्यजन्तुको संरक्षण र घाँसेमैदान व्यवस्थापनलाई योजनाबद्ध तरिकाले अघि बढाएको पर्सा निकुञ्जले बताएको छ । जङ्गली हात्तीको मुख्य वासस्थान निकुञ्जमा पछिल्ला वर्ष पाटेबाघ र गैंडाको सङ्ख्या पनि बढ्दै गएको तथ्याङ्क निकुञ्जसित छ । निकुञ्जले प्रकाशित गरेको प्रतिवेदनमा संरक्षित वन्यजन्तुको सूचीमा रहेको हात्तीको सङ्ख्या ६५ छ । सन् २०१३ को गणनामा सातओटा रहेको बाघको सङ्ख्या आउँदो गणनामा तीन गुणाले वृद्धि हुने विश्वास गरिएको छ । ६ सय २७ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको पर्सा निकुञ्जमा १ सय ५ ओटा गौरीगाई र ३ देखि ५ ओटासम्म एकसिङ्गे गैंडा रहेको प्रतिवेदनमा उल्लेख छ ।
निकुञ्ज घोषणा भएपछि पर्यटकको आगमन बढेको छ । गतवर्ष ३ सय पर्यटक आएकोमा चालू आवको ८ महीनामै ३ सय सात पुगिसकेको तथ्याङ्क निकुञ्जसित छ । ‘यो सङ्ख्या अपेक्षित होइन, तर पर्यटकीय आकर्षणको प्रचारप्रसार र आसपासका क्षेत्रलाई समेटेर प्याकेज बनाउने हो भने सम्भावनाको पनि कमी छैन,’ आचार्यले भने ।
निकुञ्जमा ३२ प्रजातिका स्तनधारी जनावर, ३ सय ७१ प्रजातिका चाराचुरुङ्गी, ३१ प्रजातिका पुतली र १० प्रजातिका सरीसृप पर्यटकीय आकर्षणका रूपमा रहेका छन् । ३ सय ३४ प्रजातिका वनस्पति समेटिएको निकुञ्जको ९० प्रतिशत क्षेत्र सालको वनले ढाकेको छ ।
पर्यटकलाई आवागमन र दृश्यावलोकनमा सहजताका लागि वनपथको स्तरोन्नति र मचान निर्माणलाई तीव्र तुल्याएको बताइएको छ । निकुञ्जमा ११ ओटा काठे र एउटा पक्की मचान निर्माण गरिएको रेञ्जर विनयकुमार झाले बताए ।
निकुञ्जभित्रका भाटा र रामभौरी बस्ती स्थानान्तरणपछि व्यवस्थित गरिएको १ सय ६० हेक्टरको घाँसेमैदान विस्तार भएको छ ।
निकुञ्जमा ३१ ओटा प्राकृतिक सिमसार क्षेत्र र पाँचओटा कृत्रिम पोखरीले वन्यजन्तुका लागि पानीको आवश्यकता पूर्ति गरिरहेको आचार्यले बताए । निकुञ्जभित्र १२ स्थानमा सेना र त्यति नै सङ्ख्यामा निकुञ्ज कर्मचारीको पोष्टमार्फत निगरानी बढाइएको छ । उच्च प्रविधिमा आधारित द्रुत सूचना विश्लेषण कक्ष (आरआरटी)मार्फत पनि चोरीशिकार र तस्करी नियन्त्रण भइरहेको तारादल गणका प्रमुख सेनानी सरोज अधिकारीले बताए ।