ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साधारणसभाको बाटो खुलाउने तयारीमा चार बीमा कम्पनी

Mar 28, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । चालू आर्थिक वर्षको ८ महीना बितिसक्दा पनि कतिपय बीमा कम्पनीले साधारणसभा गर्न सकेका छैनन् । बीमा समितिबाट वित्तीय विवरण स्वीकृत भएपछि कम्पनीहरूलाई साधारणसभा गर्ने बाटो खुला हुने गर्छ । हाल चार बीमा कम्पनीले वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरेका छन् । वित्तीय विवरण पेश गर्नेहरूमा एशियन लाइफ, मेट लाइफ, युनाइटेड इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स रहेका छन् । १७ निर्जीवन बीमा कम्पनीमध्ये १४ कम्पनीले भने वित्तीय विवरण स्वीकृत गराइसकेको समितिले जानकारी दिएको छ । तीनमध्ये राष्ट्रिय बीमा कम्पनीले भने लामो समयदेखिको वित्तीय विवरणले स्वीकृति पाउन बाँकी रहेको छ । आर्थिक वर्ष २०६५/६६ सम्मको मात्र विवरण स्वीकृत गराएको राष्ट्रिय बीमा कम्पनीले हाल २०६८÷६९ सम्मको विवरण पेश गरेको समितिले बताएको छ । यसै वर्षदेखि सञ्चालनमा आएको नयाँ जीवन बीमा कम्पनीबाहेक पुराना ९ कम्पनीमध्ये प्राइम लाइफ र नेपाल लाइफ इन्स्योरेन्सले वित्तीय विवरण स्वीकृत गराई साधारणसभाको मितिसमेत तय गरिसकेका छन् । प्राइमले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६२ प्रतिशत नगद लाभांशको प्रस्तावसहित चैत १४ गते साधारणसभा बोलाएको छ । त्यस्तै, ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांशको प्रस्ताव लिएर नेपाल लाइफले चैत २८ गते साधारणसभा गर्दै छ । हाल बीमा समितिमा एशियन लाइफ इन्स्योरेन्स र मेट लाइफको वित्तीय विवरण स्वीकृतिको प्रक्रियामा रहेको छ । बीमाङ्कीय मूल्याङ्कन गर्ने काम नेपालमा नभई भारतबाट गराउनुपर्ने र त्यसपछि समितिको स्वीकृति लिनुपर्ने कारण पनि वित्तीय विवरण पेश गर्न समय लाग्ने गरेको जीवन बीमा कम्पनीहरूको भनाइ छ । गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले बीमाङ्कीय मूल्याङ्कन गर्नुपर्ने कारण विवरण स्वीकृतिमा ढिलाइ भएको बताए । उनले बीमा समितिमा बीमाङ्कीय मूल्याङ्कनको प्रतिवेदन स्वीकृतिका लागि पेश गरेको जानकारी गराए । भट्टराईको भनाइमा सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डको पनि सहमति देखिन्छ । पाण्डेले कम्पनीले कात्तिकमै वार्षिक लेखापरीक्षण सम्पन्न गरे पनि बीमाङ्कीय मूल्याङ्कनको प्रक्रियाले ढिलाइ भएको बताए । सूर्या लाइफले पनि बीमाङ्कीय मूल्याङ्कनको प्रतिवेदन समितिमा स्वीकृतिको लागि पेश गरिसकेको उनले जानकारी दिए । बीमा समितिका निर्देशक राजुरमण पौडेलले पनि बीमाङ्कीय मूल्याङ्कनकै प्रक्रियाले कम्पनीहरूलाई समयमै साधारणसभा सम्पन्न गर्न कठिन भएको औंल्याए । कम्पनीहरूले प्रतिवेदन पेश गरेपछि समितिको तर्फबाट समयमै छानविन गरी स्वीकृति दिने गरे पनि बीमाङ्कीय मूल्याङ्कनको प्रक्रियामा ढिलाइ भएकै कारण समस्या भएको उनको तर्क छ । बीमा समितिले बीमा कम्पनीहरूले लेखापरीक्षणसहितको प्रतिवेदन आर्थिक वर्ष शुरू भएको ६ महीनाभित्र अर्थात् पुस मसान्तभित्र स्वीकृति गराई सोही समयभित्र साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ । तर, हालसम्म पनि धेरैजसो कम्पनीले वित्तीय विवरण नै पेश नगरेको अवस्था छ । यस वर्ष पूँजी वृद्धिका लागि पनि समय तोकेकाले कम्पनीहरूले तोकिएको समयमै साधारणसभा सम्पन्न गरी पूँजी वृद्वि गर्नुपर्ने अवस्थामा प्रक्रियागत रूपमा बढेको ढिलाइले समस्या पर्ने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)