सुर्खेत । सिम्ता गाउँपालिका–५, आलीमा १ वर्षभित्र विद्युत् पु¥याउने भन्दै पोल गाडेको ३ वर्ष भयो । सदरमुकामदेखि झण्डै ८० किमी पूर्वीउत्तरमा पर्ने यो गाउँमा अझै बिजुली बल्ने सुरसार छैन । केही पोल त ढल्ने तरखरमा छन् । नेपाल विद्युत् प्राधिकरण कार्यालयले ट्रान्सफर्मर जडान गर्न रकम अभाव देखाउँदै बिजुली वितरण नगरेको हो । छिमेकी गाउँमा बिजुली झलमल छ । जङ्गलबीचको समथर बस्ती आलीमा भने अन्धकार छ । पैसा हुनेले घरमा सोलार बत्ती जोडेका छन् । गरीब परिवारले टुकीमै गुजारा चलाउँछन् ।
‘करीब ३ सय घरधूरी बसोबास रहेको यो गाउँमा बिजुली बल्ने कुनै टुङ्गो छैन,’ स्थानीय चित्रबहादुर चन्दले भने, ‘बेकारमा लाखौं रकम खर्च मात्रै भएको छ ।’ जति पनि श्रमदान गर्न तयार स्थानीयले बिजुली ल्याउन भनेर रकम पनि उठाएका छन् । केन्द्रीय विद्युत् प्रसारण लाइनले सिम्ता गाउँपालिकामा विद्युत् विस्तार नगर्दा गाउँ अँध्यारो बनेको हो । विशेषगरी सिम्ता गाउँपालिकाका वडा नं. २, ३, ४, ५, ७, ८ र ९ का काफलकोट, आग्रीगाउँ, बजेडीचौर, आली, काप्रिचौर, डाँडाखाली र खानी खोलालगायतका गाउँहरू अझै अँध्यारोमा छन् ।
सिम्ता गाउँपालिकाले यस वर्ष ३ करोड रुपैयाँ छुट्याएर गाउँमा विद्युतीकरण गर्ने कार्य अन्तिम चरणमा पु¥याएको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । ट्रान्सफर्मर जडान हुनेबित्तिकै गाउँपालिकाका सबै वडामा विद्युतीकरण गरिने उनी बताउँछन् ।
विद्युत् प्राधिकरण शाखा सुर्खेतका प्रमुख सुरज भण्डारीका अनुसार सिम्ता गाउँपालिका–५मा विद्युत् पोल र तार सबै लागिसकेको भए पनि बजेट अभावले ट्रान्सफर्मर खरीद गर्न नसक्दा बत्ती बाल्न नकिएको हो । उनले भने, ‘ट्रान्सफर्मरका लागि बजेट आउनेबित्तिकै छिट्टै सिम्ता गाउँपालिका सबै वडामा विद्युतीकरण हुनेछ ।’ ३ वर्ष पहिले सिम्ताको आलीमा विद्युत् प्राधिकरणको लाइन पुगेको थियो ।