ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तहमा विषयगत बजेट कम

Mar 30, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । पर्वतका विषयगत कार्यालयका प्रमुखहरूले स्थानीय तहबाट विषयगत क्षेत्रमा कम बजेट विनियोजन भएको बताएका छन् । सदरमुकाम कुश्मा बजारमा प्रतिनिधिसभा सदस्य पदम गिरीसँग हालै भएको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुखहरूले विषयगत क्षेत्रमा बजेट विनियोजन गर्न स्थानीय तहहरूले आनाकानी गरेको गुनासो गरेका हुन् । विषयगत कार्यालयका प्रगति, समस्या र चुनौतीका विषयमा भएको अन्तरक्रियामा सङ्घीयताका कारण स्थानीय तहमा अधिकार जाँदा कर्मचारीको समस्याका कारण पनि सोचेबमोजिमको उपलब्धि स्थानीय तहमा हासिल नभएको कार्यालय प्रमुखको भनाइ छ । वरिष्ठ कृषि विकास अधिकृत वासुदेव शर्माले भने, ‘बीउ बाँड्ने र सामग्री बाँड्ने कामले कृषकलाई राहत मिल्दैन ।’ स्थानीय तहमा दक्ष जनशक्ति नभएकाले शीपमूलक र प्राविधिक सहयोग उपलब्ध नभएको उनको गुनासो छ । जिल्लागत कार्यालयबाट सञ्चालन हुने कार्यक्रममा कृषकको सन्तुष्टि भए पनि स्थानीय तहले त्यो सन्तुष्टि पूरा नगरेको उनको आरोप छ । महिला विकास अधिकृत सीता थापाले महिला तथा बालबालिका कार्यालयका कर्मचारी स्थानीय तहमा दर्ता चलानीमा खटिएको बताइन् । उनले महिलाको सशक्तीकरण र क्षमता विकासमा बजेट विनियोजन गरी कर्मचारी परिचालन गर्नुपर्नेमा स्थानीय तहहरूले कार्यालयको काममा आफ्ना कर्मचारी खटाएको आक्रोश व्यक्त गरिन् । ‘२४ लाखको बजेट प्रस्ताव गर्दा कुश्मा नगरपालिकाले ७ लाखको बजेट पास ग¥यो,’ थापाले भने । सशक्तीकरण र चेतनामूलक कार्यक्रममा भन्दा सडक बनाउन मात्र स्थानीय तहहरू केन्द्रित भएको कार्यालय प्रमुखहरूको आरोप छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बी पौडेलले पाइप र जालीसमेत स्थानीयले अझै समितिमा माग्न आएको गुनासो गरे । स्थानीय तहहरूमा सबै अधिकार गएको भए पनि उनीहरूले जनताका सबै आवश्यकता पूरा गर्न नसकेको उनको भनाइ छ । कार्यक्रममा अधिकांश कार्यालयका प्रमुखले अधिकार विकेन्द्रीकृत भए पनि त्यसबाट स्थानीयले प्रत्यक्ष फाइदा तत्काल लिन नसकेको बताएका छन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गिरीले सङ्घीय कानून बनाउँदा स्थानीयले कसरी सहज विकास योजना प्राप्त गर्न सक्छन् भन्ने विषयमा आफूले संसद्मा विषय उठाउने प्रतिबद्धता व्यक्त गरे । चालू आर्थिक वर्षका लागि प्राप्त बजेटलाई पारदर्शी र जवाफदेही ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिँदै गिरीले स्थानीय तहहरूबाट विषयगत क्षेत्रमा बजेट विनियोजन गरी जनताका सबै माग पूरा गर्ने वातावरण सृजना गराउन आफूले पहल गर्ने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)