पर्वत । पवर्तको मोदी गाउँपालिका–१, भुकताङ्ले र कास्कीको अन्नप्ूर्ण गाउँपालिका–८ जोड्न स्थानीय भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ । रू. ६ करोड १३ लाखमा निर्माणाधीन पुल कास्कीका निर्माण व्यवसायी राजेन्द्र भण्डारीले बनाउने जिम्मा लिएका थिए । तर, अहिले पुलको जग मात्रै बनाएर ठेकेदार सम्पर्कविहीन भएका हुन् । स्थानीय खोलामा पुल नहुँदा जोखीम मोलेर यात्रा गर्दै आएका छन् ।
पुलको निर्माण आर्थिक वर्ष २०७२/७३ मा शुरू भएको थियो । आगामी २०७५ असारसम्म काम सक्ने लक्ष्य थियो । हालसम्म पुलको काम २० प्रतिशत मात्रै सकिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । पुल निर्माण अलपत्र परेपछि स्थानीयले सम्बन्धित निकायमा गुहार मागेको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए ।
‘हामीले अब कारबाहीस्वरूप सूचना निकाल्दै छौं,’ सडक डिभिजन कार्यालयका प्रमुख डिभिजन इञ्जिनीयर थानेश्वर खत्रीले भने । कार्यालयले मङ्गलवारभित्र सूचना निकाल्ने तयारी गरेको उनले बताए । सडक डिभिजन कार्यालयका अनुसार व्यवसायीले डेढ करोड रकम भुक्तानी लिएका छन् । व्यवसायी भण्डारीले विद्युतीय समस्याले काम रोकिएको बताए । उनले बाहिर हल्ला आएजस्तो गलत नियतले काम नरोकेको दाबी गरे । उनले सोमवारदेखि काम शुरू गरी सम्झौता मितिमा नसकिए समय थपको प्रक्रियामा जाने बताए ।