सुर्खेत विमानस्थलमा बुद्ध एयरले परीक्षण उडान गरेको छ । आगामी वैशाख १ गतेदेखि सुर्खेत–काठमाडौं सीधा हवार्ई उडान शुरू गर्न बुधवार सुर्खेत विमानस्थलमा परीक्षण उडान गरिएको हो ।
बुद्ध एयरको ४७ सिटे मध्यम हवाइजहाजले सफल परीक्षण उडान गरेपछि सुर्खेत–काठमाडौं नियमित सीधा हवार्ई उडान हुने पक्का भएको छ । यसअघि यति ठूलो विमान सुर्खेत विमानस्थलमा अवतरण भएको थिएन ।
बुधवार बुद्ध एयरको ४७ सिटे ९एन–एआईएन विमान प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको पाँच फन्का घुमेर अवलोकन गरेको थियो । सफल उडानसहित अवलोकन गरेपछि फ्लाइट इञ्जिनीयर उदयकृष्ण श्रेष्ठले ४७ सिटे हवाइजहाज अब सुर्खेतबाट सञ्चालन गर्न सकिने जानकारी दिए । बुद्धको परीक्षण उडानसँगै विमानस्थलको धावनमार्गलगायत अन्य प्राविधिक दृष्टिले ४७ सिटे विमानहरू अब सुर्खेत विमानस्थलमा सजिलै अवतरण हुने भएका छन् । क्याप्टेन रञ्जनकुमार शर्माले परीक्षण उडान सफल भएकाले नियमित उडान गर्न कुनै समस्या नभएको बताए । ४७ सिटेभन्दा ठूला विमानका लागि भने धावनमार्ग विस्तार गर्नुपर्ने भन्दै उनले मध्यमस्तरका हवाइजहाजका लागि कुनै कठिनाइ नरहेको बताए ।
बुद्ध एयरको परीक्षण उडान सफल भएपछि सुर्खेतका उद्योगी व्यवसायीले स्वागत गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले व्यवसायीले विगतदेखि नै सुर्खेत–काठमाडौं उडानको माग गरिरहेको भन्दै ढिलै भए पनि नियमित सेवा शुरू हुने भएकोमा खुशी प्रकट गरे ।