पर्वत । चैते धानखेतीमा विगतका वर्षमा पाउँदै आएको अनुदान कार्यक्रम रोकिँदा यहाँका कृषक चिन्तित छन् । स्थानीय तहमा कृषिको अधिकार गएपछि चैतेधानको अनुदान रोकिएको हो । जिल्लाको पैयुँ, जलजला, फलेवास र मोदीमा चैतेधान लगाउने गरिन्छ ।
पैयुँका भोर्ले, सरौंखोला, हुवास, त्रिवेणी, बेउलीवास र टकलाकका किसानले गतवर्ष पाएको अनुदान अहिले नपाएको बताए । गत वर्षदेखि जिल्ला कृषि विकास कार्यालयले चैते धानलाई प्रोत्साहन गर्न प्रतिरोपनी २ सय ५० रुपैयाँका दरले ‘बीउ–मलमा राहत’ अनुदान वितरण गरेको थियो । अनुदान कार्यक्रममार्फत अघिल्लो वर्ष जिल्लाभर ५ लाख रुपैयाँ रकम वितरण गरिएको कृषि कार्यालयले बताएको छ ।
तर, चालू आर्थिक वर्षमा वित्तीय समानीकरण शीर्षकमार्फत कृषिमा विनियोजित बजेट स्थानीय तहले अन्यत्रै खर्च गरेपछि किसानहरू अनुदान पाउनबाट वञ्चित भएका हुन् । केन्द्रीय कार्यक्रमको बजेट स्थानीय तहमा पठाए पनि स्थानीय तहले बजेट नदिँदा अनुदानको कार्यक्रममा असर पुगेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।
विषयगत कार्यालयसँगको समन्वय अभावले बजेट भएर पनि किसान वञ्चित भएको उनको तर्क छ । जिल्लामा सबैभन्दा बढी चैतेधानको खेती पैयुँमा हुन्छ । पैयुँबाहेक फलेवास, कुश्मा र जलजलाको केही क्षेत्रमा चैते धान फल्छ । जिल्लाभरका किसानले सीएच–४५ जातको चैते धान लगाउँछन् ।
कृषि कार्यालयका अनुसार पर्वतको २८ हजार ६ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९ हजार ७० हेक्टरमा वर्षे र ७ सय हेक्टरमा चैते धानको खेती हुन्छ । बाह्रै महीना सिँचाइ हुने सबै खेतमा चैते धानको खेती विस्तार गर्ने योजनास्वरूप ल्याइएको अनुदान कार्यक्रम स्थगित भएपछि कार्यक्रम नै प्रभावित भएको कृषि कार्यालयको भनाइ छ ।
विषयविज्ञ नभई हचुवाको भरमा बजेट बाँडफाँट गर्दा कृषिमा अनुदानका कार्यक्रम रोकिएको स्थानीय तहका जनप्रतिनिधिहरू बताउँछन् । पैयुँका अध्यक्ष खगेन्द्र तिवारी, जलजलाका अध्यक्ष यामबहादुर मल्ल र मोदीका अध्यक्ष प्रेम पौडेलले कृषिको बजेट फिर्ता भए पनि कतिपय अनुदानका कार्यक्रमहरू भने यस वर्ष नतोकिएको बताए । फलेवासले भने चैतेधानको अनुदानलाई रकमान्तर गरी अन्य शीर्षकमा अनुदानको व्यवस्था गरेको नगरप्रमुख पदमपाणी शर्माले बताए ।